गृहपृष्ठ मानव तस्करीको आरोपमा एनआरएनए माल्टा विघटित
मानव तस्करीको आरोपमा एनआरएनए माल्टा विघटित

माल्टा । गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका सबै पदाधिकारीहरु बर्खास्तमा परेका छन् । गैरआवासीय नेपाली संघ युरोप संयोजक नारायण आचार्यका अनुसार शनिवार सम्पन्न पदाधिकारी बैठकले अध्यक्ष सहित सबै पदाधिकारी माथि कार्यवाही स्वरुप उनीहरुको राजीनामा स्वीकृत गरेको हो ।
एनआरएनए माल्टाका सबै पदाधिकारीहरु श्रमिक ल्याउने काममा मानव तस्करी गरेको आरोप लागे पछि विवादमा आएका थिए । संघको ऐतिहासमा पहिलो पटक यस्तो निर्णय भएको हो । यसअघि विभिन्न व्यक्तिहरु संलग्न भएका आरोप लागे पनि त्यसै हराउने गरेको थियो ।
उनीहरु माथि लागेको आरोप छनबिन गर्न गैरआवासीय नेपाली संघले एक उच्चस्तरीय समिति गठन गरेको थियो ।
युरोप संयोजक नारायण आचार्यको संयोजकत्वमा गठित छानबिन समितिले गत हप्ता आफ्नो प्रतिवेदन संघ समक्ष पेश गरेको थियो ।
संघका अनुसार एनआरएनए माल्टाका पदाधिकारीहरुले छानबिन समिति समक्ष अवैधानिक रूपमा श्रमिक ल्याउने काममा संलग्न रहेको स्वीकार गरेका थिए ।
उनीहरुले आफूहरुमाथि गम्भिर आरोप लागेकाले नैतिकताको आधारमा छानविनलाई सहयोग गर्न भन्दै सामूहिक राजीनामा गरेका थिए ।
छानविन समितिले आफ्नो प्रतिवेदन सहित उनीहरुको राजीनामा केन्द्रमा बुझाएको थियो ।
संघका केन्द्रिय सदस्य तथा छानविन समितिका सदस्य रामशरण सिमखडाले संघको पछिल्लो निर्णयलाई स्वागत योग्य भएको बताए ।
उनले श्रमिक ल्याउने कार्यमा संलग्नलाई तत्काल संस्थागत कार्यवाही गर्न र संलग्न नभएकालाई सफाई दिन आग्रह गरे ।
एनआरएनए केन्द्रले गठन गरेको छानबिन समितिमा संयोजक आचार्यसहित उपसंयोजकहरू मुक्त बहादुर गुरुङ, कृष्ण तिमिल्सिना, शुक्रराज न्यौपाने र आईसीसी सदस्य रामशरण सिंखडा रहेका थिए ।