Covid-19
City Express

मौसममा आएको परिवर्तनले नेपालमा सलह किरा एकाएक भित्रीयो

मौसममा आएको परिवर्तननै सलह किरा नेपालमा ठूलो मात्रामा देखा परेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रारम्भिक अनुमान गरेको छ।

भारतको पश्चिम बंगालबाट मनसुन नेपालको पुर्वी तराईभाग हुँदै नेपालमा प्रवेश गरेको जल तथा मौसम पुर्वअनुमान शाखाले जनाएको छ।

मौसममा आएको परिवर्तन सँगै हावाको गति पनि तिब्ररुपमा फैलिएको कारण सलह किरा एकाएक छरिएको मन्त्रालयले उल्लेख गरेको छ।

शनिबार बिहानबाट सलह किरा नेपाल प्रवेश गरी बारा, पर्सा, सिन्धुली, सर्लाही, रुपन्देहीलगायत जिल्लामा यसको उपस्थिति देखिएको छ।

सलह लामो समयदेखि भारतको विभिन्न स्थानमा देखिएको थियो । नेपालमा पनि सम्भावित प्रवेशलाई दृष्टिगत गर्दै त्यसको अध्ययन गरी आवश्यक तयारी कार्य गर्न कृषि मन्त्रालयले जेठ १३ गते प्राविधिक कार्यदल गठन गरेको थियो।

कार्यदलले अध्ययन गरी आवश्यक कार्ययोजनासहित प्रतिवेदन तयार पारिसकेको छ।मन्त्रालयले उक्त प्रतिवेदनका आधारमा सबै सम्बद्ध निकाय तथा प्रदेश, स्थानीय तहमा पर्याप्त संवाद र सहकार्यको काम भइरहेको जनाएको छ।

यस बीचमा विश्व खाद्य तथा कृषि सङ्गठनका विज्ञसँगको परामर्श गरी सलहका सम्बन्धमा प्राविधिक जानकारी तयार पारी प्रकाशन गरिएको र विभिन्न सञ्चारमाध्यामबाट प्रचारप्रसार गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले सलह किराको संख्या ,अवस्था, फैलावट, क्षतिको आँकलन लगायतको विषयमा जानकारी लिन सङ्घीय निकाय र प्रदेशअन्तर्गतका प्राविधिकहरु परिचालित भइसकेको जनाएको छ।

सङ्घमा रहेको प्राविधिक कार्यदल र सम्बन्धित निकाय पनि सक्रिय भएका छन् । मन्त्रालयले प्राविधिकको सम्पर्क र समन्वयमा यस कीराको व्यवस्थापनमा सक्रिय रहन तीनै तहका सरकारका सम्बन्धित निकायलाई अनुरोध गरेको छ।

हरेक जिल्लाका नागरिकलाई चनाखो रहन र देखा पर्ने बित्तिकै स्थानीय सरकार वा प्रशासनलाई खबर गरि सहयोग पुर्याउन मन्त्रालयले आग्रह समेत गरेको छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु