२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ यसपटकको मनसुन निकै संकटपूर्ण हुने

यसपटकको मनसुन निकै संकटपूर्ण हुने

मनसुन भित्रिनै लागेको नेपालमा यसपालि मनसुनजन्य विपद् (मुख्यगरी बाढी पहिरो) बाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ।

गत वर्ष औषत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति बेहोरेको मुलुकसामु सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको यसपालिको मनसुनमा झन् चुनौतीपूर्ण रहने अनुमान मौसमविद्ले गरेका छन्।

जल तथा मौसम विज्ञान विभागले यसअघि नै मुलुकमा मनसुनमा सरदरभन्दा बढी पानी पर्ने आंकलन सार्वजनिक गरिसकेको छ। उक्त चेतावनीसँगै आम नागरिक र सरोकार राख्ने निकाय थप सावधानी र सचेत हुनुपर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउँछन्।

‘मुख्यतः एक त बढी नै वर्षा हुने आँकलन छ, कोभिडको महामारीले विगतको भन्दा जोखिम छ, डढेलोले पहाड नाङ्गो पारिसकेकाले जोखिम क्षेत्रबाहेकमा पनि थप पहिरो खस्ने सम्भावना छ, गरिबी पनि बढेकाले मुलुक थप चुनौतीपूर्ण अवस्थामा गुज्रिएको छ,’ पोखरेलले भने, ‘त्यसलाई केन्द्रित गरेर नै पूर्व तयारी र प्रतिकार्य याजना अघि बढाएका छौँ।’

विगतको तथ्याङ्क विश्लेषणको आधारमा प्राधिकरणले यसपालि मनसुनमा १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरेको छ। प्राधिकरणका सिनियर डिभिजनल हाइड्रोलोजिष्ट राजेन्द्र शर्माले बाढीबाट १७ लाख र पहिरोबाट एक लाख २० हजार प्रभावित हुने अनुमान गरिएको जानकारी दिए। गत वर्ष १५ लाख प्रभावित हुने अनुमान गरिएको थियो।

सरदर मात्रै पानी पर्ने अनुमान गरिएको गत वर्ष मनसुनजन्य विपद्बाट झण्डै ४०० मानिसको मृत्यु भएको थियो। एक हजार १०० बढी परिवार प्रत्यक्ष प्रभावित भएका थिए। यसपालि बढी पानी पर्ने पूर्वानुमानसँगै मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ तयार गरी स्थानीय तह, प्रदेश सरकार तथा सम्बद्ध सङ्घसंस्थासँगको समन्वयमा विगतको अनुभवबाट सिकेर आवश्यक पूर्व तयारी थालिसकिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु