गृहपृष्ठ यसरी बल्झीयो सिद्धार्थनगरमा करको विवाद
यसरी बल्झीयो सिद्धार्थनगरमा करको विवाद

भैरहवा ,रुपन्देही : नगरपालिकाको चालु आर्थिक बर्षको करको दरको विषयमा शुरु भएको विवाद अझै साम्य भएको छैन। व्यवसायीक संघसंस्थाको प्रतिनिधित्व गर्दै सिद्धार्थ उद्योग बाणिज्य संघ र उद्योग ब्यापार संगठनले नगरपालिकाका मेयर ईस्तियाक अहमद खानलाई लिखित रुपमा ज्ञापनपत्र बुझाएका छन्।
व्यवसायीक संस्थाको प्रतिनिधीत्व गर्दै सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ र उद्योग व्यापार संगठनका अध्यक्ष अनिल ज्ञवालीको संयुक्त हस्ताक्षर रहेको ज्ञापनपत्रमा नगरपालिकाले आर्थिक बर्ष २०८०।८१ को व्यवसाय करको दर रेट प्रकाशन गरेकोमा त्यसप्रति असहमति जनाउदै नगरपालिकामा कर नबुझाउने चेतावनि समेत दिएका छन्।
यसरी व्यवसायीहरुले कर बुझाएनन भने के होला त भनि प्रश्न धेरैले गरिरहेका छन्।नगरपालिकाले एडिबीको बजेट करिब ३ अर्ब नगरपालिकामा ल्याउनकोलागि बाध्यतावश: करको दर साउन १ गते देखि लागु हुनेगरी हवात्तै बढाएको थियो।
तर सबै राजनैतिक दल र संघसंस्थाले विरोध गरेपछि सिद्धार्थनगर नगरपालिकाको आर्थिक ऐन २०८० लाई संशोधन गर्नकोलागि साउन २५ गते विशेष नगरसभा बोलाईयो। सोहि नगरसभाले ७ सय देखि १२ सय प्रतिशत सम्म बढेको एकिकृत सम्पति कर घटाएर गत बर्षको भन्दा २० प्रतिशत मात्रै पुराईयो।
साउन २५ गतेको नगरसभामा सबै नगरसभा सदस्यहरुले करको दर घटाउने प्रस्तावको समर्थन गरे । १२ सय सम्म पुगेको करको दर २० प्रतिशतमा झर्दा सबैले समर्थन गर्नु स्वभाविक पनि थियो। तर एमालेको तर्फबाट निर्वाचित नगर सभा सदस्यहरुले उक्त प्रस्तावको विरोध गरिरहे।
उनीहरुले एकिकृत सम्पति कर मात्रै होइन , व्यवसायीक करको दर पनि घटाउनु पर्ने होइन भने आफुहरुले सभा बहिस्कार गर्ने चेतावनि समेत दिए । तर मेयर ईस्तियाक अहमद खान र कांग्रेस, राप्रपा, जसपाका जनप्रतिनिधीहरुले अहिले सम्पति कर मात्रै घटाऔ अरु पछि हेरौला भनेर बहुमतको आधारमा सम्पति करको दर मात्रै घटाए।
त्यसपछि एमालेको तर्फबाट निर्वाचित नगर सभा सदस्यहरुले बहिस्कार गरे। नगर सभा सदस्य समेत रहेका एमालेका युवा नेता थानेश्वर पान्डेले भने,‘हामीले विशेष नगरसभामा जोडदार रुपमा करको दर एकिकृत सम्पति कर र व्यवसायीक करमा घटाउनुपर्ने माग राख्यौ।
एमालेका सबै नगरसभा सदस्यहरुले पालैपालो तर्क सहित कुरा राख्यौ । यस्तो बेला व्यवसायीहरुको करको दर बढाउन हुदैन , सबै व्यवसायीक प्रतिष्ठान संकटमा छन भनेर बारम्बार भनिरहयौ । सकिन्छ एक प्रतिशत पनि नबढाऔं होइन भने एकिकृत सम्पति कर सरह २० प्रतिशत मात्रै बनाऔ भनेर भनेका थियौ तर कसैले सुनेन । त्यसपछि हामी त्यो सभा बहिस्कार गरेर हिडेका हौ। ’
एमाले नेता पान्डेले मेयरले भन्दैमा कांग्रेस, राप्रपा र जसपाका वडाध्यक्ष तथा सदस्यहरु चुपचाप बस्नुको कारण आज करको समस्या बल्झीएको बताए। उनले भने, ‘हामीले भनेका हौ, घटाउनु घटाउनु सबै अध्ययन गरेर एकैपटक घटाऔ भनेर तर कसैले सुनेन , अहिले विरोध आएपछि बल्ल होश खुलेको छ। ’