गृहपृष्ठ यस्तो छ पोर्तुगलका रोबर्ट लिम्बुले युरोप उप-संयोजकमा जीत्ने आधार
यस्तो छ पोर्तुगलका रोबर्ट लिम्बुले युरोप उप-संयोजकमा जीत्ने आधार

ग़ैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन नजिकिदै जाँदा उम्मेदवारहरु प्रचार प्रसारमा सक्रिय हुदै गएका छन्। आफ्ना योजना सुनाउँदै आफ्नो पक्षमा मत माग्नमा उम्मेदवारहरुलाई भ्याई नभ्याई छ।
१७ अक्टुवरबाट शुरु हुने एनआरएनएको ११ महाधिवेशनमा पोर्तुगलका रोबट लिम्बुले युरोप क्षेत्रको उप-संयोजक पदमा उम्मेदवारी घोषणा गरेर प्रचारमा व्यस्त छन्।
युरोपको नेपाली समाजमा बौद्धिक र सफल व्यवसायीको परिचय बनाएका लिम्बु उम्मेदवारी घोषणा गरेर युरोपका केही देशका मतदाता भेटेर फर्केका छन्।
‘डेनमार्क, फ़्रान्स, चेक रिपब्लिक, जर्मनी, स्पेन, नेदरल्याण्ड, बेल्जियम, लक्जमवर्ग लगायतका देशका मतदातालाई भेटेर आएपछि उत्साहित छु’, लिम्बुले भने, ‘युरोप उप संयोजकमा उठ्दै गर्दा मैले योजना सुनाए, उहाँहरुले साथ र सहयोग गर्ने विश्वास दिनु भएको छ।’
अबको महाधिवेशन पछि एनआरएनएका क्षेत्रीय समितिहरुको संरचना परिवर्तन गरि कार्यकारी भूमिकाबाटै काम गर्ने बनाउनु पर्ने आवश्यकता लिम्बुले औंल्याएका छन्।
‘अहिलेसम्म एनआरएनएको क्षेत्रीय समितिको भूमिका ख़ास छैन, अब महाधिवेशनबाटै संरचना बदलेर कार्यकारी रुपमा काम गर्ने, विभिन्न आपत्कालिन कोष खड़ा गर्ने, युवा, महिला समिति अझै सक्रिय बनाउने तथा राम्रा कामहरु गर्ने गरि अघि बढ्नुको विकल्प छैन। अब यसरी नै जानु पर्छ भनेर भन्दै आएका छौं। र मैले उम्मेदवारी दिदै गर्दा यी कुरा जोडेको छु।’ लिम्बुले भने।
एनआरएनए युरोप क्षेत्रको युवा उप-संयोजकको रूपमा जिम्मेवारी निर्वाह गरिरहेका उनले यसअघि गैर आवासीय नेपाली संघको विभिन्न पदमा बसेर काम गरेको अनुभव संगालिसकेका छन्। एनआरएनए सहित अन्य सामाजिक क्षेत्रमा पनि उनी सक्रिय छन्।
निर्वाचन जिते ‘एकपटकको नेपाली सधैंको नेपाली’ भन्ने संघको उद्देश्यलाई सार्थकता दिनका लागि लागि पर्ने प्रतिबद्धता जनाएका छन्।
पोर्चुगलमा रहेको युनिभर्सिटी अफ लिस्बनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरिरहेका लिम्बू अध्ययनशिल मानिन्छन्।
विगत एक दशकदेखि पोर्चुगलमा रेस्टुरेन्ट व्यवसाय गरिरहेका लिम्बूले युरोपमा रहेका नेपाली समुदायको सुख-दु:खमा साथ दिँदै आइरहेका छन्।
‘म आफैं पनि अन्तर्राष्ट्रिय सम्बन्धमा अध्ययन गरिरहेको छु, यसकारण विश्वभरी छरिएर रहेका नेपालीहरूको हकहितका लागि काम गर्न चाहन्छु,’ उनले भने, ‘अब नेतृत्वमा योग्यता, विज्ञतासहितको क्षमता भएको मान्छेहरूको आवश्यक छ।’