गृहपृष्ठ युरोकप फुटबल :जर्मनीका खेलाडी हावी हुँदा पोर्चुगल भयो निराश ,जर्मनीले निकाल्यो शानदार जीत
युरोकप फुटबल :जर्मनीका खेलाडी हावी हुँदा पोर्चुगल भयो निराश ,जर्मनीले निकाल्यो शानदार जीत

युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह डीको दोस्रो खेलमा जर्मनीले पोर्चुगलमाथि फराकिलो जित दर्ता गरेको छ। खेलमा सुरुवाती अग्रता लिएपनि पोर्चुगलले डिफेन्समा बिर्सनलायक प्रदर्शन गरेपछि जर्मनी ४-२ को जित दर्ता गर्न सफल रहयो।
खेलको पाँचौ मिनेटमा रोबिन गोसेन्सले गोल गरेपनि उक्त गोलले मान्यता पाएन । गोलअघि क्रस आउने क्रममा नै फरवार्ड सर्ज गनाब्री अफसाइड पोजिसनमा रहेकाले गोलले मान्यता पाएको थिएन।
दशौं मिनेटमा गोलरक्षक रुइ प्याट्रीसिओले काइ हाभर्ट्जले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई विफल पारे। त्यसैको रिबाउन्डमा उनले गनाब्रीलाई पनि सट प्रहार गर्ने अवसर दिएनन्।
१४ औं मिनेटमा पोर्चुगलले कप्तान क्रिस्टियानो रोनाल्डोको गोलमा अग्रता लियो। काउन्टर अट्याकमा सुन्दर मुभ बनाएको पोर्चुगलका लागि डिओगो जोटाले पेनाल्टी क्षेत्र भित्रबाट अनमार्क रहेका रोनाल्डोलाई पास दिएपछि रोनाल्डोले खाली पोस्टमा गोल गरेका थिए। त्यसअघि बर्नार्डो सिल्भाले जोटालाई भेट्न सुन्दर क्रस फिल्ड पास दिएका थिए।
२२ औं मिनेटमा पोर्चुगलले अग्रता दोब्बर पार्ने अवसर पाएको थियो। छोटो कर्नरपछि राफेल गुरेरोले दिएको क्रसलाई रुबेन डियासले ६ यार्ड बक्सभित्र हेडर पास दिएपनि पेपे उक्त बलसम्म पुग्न सकेनन्। त्यसअघि गोसेन्सको प्रहारलाई गोलरक्षक प्याट्रीसिओले रोकेका थिए।
खेलको ३५ औं मिनेटमा जर्मनी खेल बराबर गर्न सफल भयो। रोबिन गोसेन्सले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको क्रस डियासलाई लाग्दै गोल भएको थियो। हाभर्ट्जलाई रोक्ने प्रयासमा डियासको क्लिअरेन्स गोल भएको थियो।
त्यसको ३ मिनेटपछि नै जर्मनीले आत्मघाती गोलमा अग्रता लियो। जोशुवा किम्मिखको क्रसमा राफेल गुरेरोको क्लिअरेन्स गर्ने प्रयास आफ्नै पोस्टमा छिरेपछि पोर्चुगल पछि परेको थियो।
४४ औं मिनेटमा गोसेन्सले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहार प्याट्रीसिओले विफल पारे। त्यसको रिबाउन्डमा किम्मिखको प्रयासलाई डिफेन्डरले छेक्दै सफल हुन दिएनन्।
इन्ज्युरी समयको अन्तिम मिनेटमा सर्ज गनाब्रीले काउन्टर अट्याकमा आफैं बढाएको आक्रमणमा पेनाल्टी क्षेत्र भित्र पुगेर गरेको प्रहारमा प्याट्रीसिओ नै बाधक बने।
दोस्रो हाफको सुरुवातमा नै जर्मनीले अग्रता बढाउन सफल रहयो। ५१ औं मिनेटमा हाभर्ट्जले प्रतियोगितामा पहिलो गोल गर्दै ३-१ को स्कोर बनाएका थिए। गोसेन्सको क्रसलाई हाभर्ट्जले ६ यार्ड बक्स भित्रबाट पहिलो टचमा फिनिस गर्न सफल भएका थिए।
६० औं मिनेटमा रोबिन गोसेन्सले जर्मनीलाई ४-१ को अग्रता दिलाए। पेनाल्टी क्षेत्रको दायाँ भागबाट किम्मिखले दिएको क्रसलाई फार पोस्टमा अनमार्क रहेका गोसेन्सले हेडरमार्फत गोल गरेका थिए।
६६ औं मिनेटमा पोर्चुगलले गोल गर्दै खेलमा फर्कने संकेत देखाएको थियो। गुरेरोको फ्रिकिकलाई रोनाल्डोले फार पोस्टबाट जोगाएपछि आएको पासमा जोटाले गोल गरेका थिए।
७८ औं मिनेटमा रेनाटो सान्चेसले लामो दुरी बाट गरेको प्रहार पोस्टमा लागेर फर्कियो। वैकल्पिक खेलाडी सान्चेसले झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहारमा गोलरक्षक समेत बिट भएको अवस्थामा पोस्टमा लाग्दा पोर्चुगलले गोलअन्तर घटाउन सकेन।