२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ युरोकप र कोपा स्थगित

युरोकप र कोपा स्थगित

कोरोना भाइरसका कारण युरोपियन फुटबल प्रतियोगिता (युरोकप) तथा दक्षिण अमेरिकामा हुने कोपा कप एक वर्षका लागि स्थगित भएका छन् । मंगलबार युरोपियन फुटबल महासंघ (युइएफए) को आपत्कालीन बैठकले आसन्न युरोकप २०२० प्रतियोगिता २०२१ का लागि सारेको हो । मंगलबार भिडियो कन्फ्रेन्समार्फत भएको बैठकमा सहभागी ५१ सदस्यबीच युरोकप अर्को वर्षसम्मका लागि स्थगित गर्ने सर्वसम्मत निर्णय भएको हो ।

सो बैठकमा इटालीले युरोकप एक वर्ष सार्न प्रस्ताव राखेको थियो । इटालीको प्रस्ताव सहभागी सदस्यले स्वीकार गरेको अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन् । पछिल्लो समय युरोपका सबै लिग कोरोनाका कारण प्रभावित हुँदै आएका छन् । यसैबीच मे महिनामा हुने युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिता र युरोपा कपको फाइनल खेलतालिकासमेत परिवर्तन भएको छ । बैठकले च्याम्पियन्स लिग र युरोपाको फाइनल जुनमा सारेको छ ।

युइएफएले च्याम्पियन्स लिगको फाइनल २७ जुन तथा युरोपाको २४ जुनमा हुने गरी नयाँ मिति सार्वजनिक गरेको छ । अर्जेन्टिना र कोलम्बियामा यसै वर्ष १२ जुनदेखि १२ जुलाईसम्म हुने कोपा अमेरिका २०२१ मा हुने भएको छ । दक्षिण अमेरिकन फुटबल महासंघले मंगलबार नयाँ तालिकासमेत सार्वजनिक गरेको छ । जसअनुसार कोपा अमेरिका २०२१ को ११ जुनदेखि ११ जुलाईसम्म आयोजना हुने भएको छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु