गृहपृष्ठ युरोप लगायत अन्य देशका लागि सातामा १० अन्तर्राष्ट्रिय उडान हुने
युरोप लगायत अन्य देशका लागि सातामा १० अन्तर्राष्ट्रिय उडान हुने

सातामा ५ दिन आउने र जाने गरी दिनमा दुईका दरले १० अन्तर्राष्ट्रिय उडान हुने भएका छन्। नागरिक उड्डयन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै अन्तर्राष्ट्रिय उडानतर्फ ५ वटा वायुसेवा कम्पनीलाई सातामा १० वटा नियमित उडान खुला गरिदिएको छ।
मन्त्रिपरिषद्को बिहीबारको निर्णयले वैशाख २३ देखि स्थगन गरिएको अन्तर्राष्ट्रिय उडान (भारतबाहेक तेस्रो मुलुकका लागि रोकिएको) खुलाउने निर्णय गरेको थियो। सामान्य अवस्थामा नेपालमा २७ वटा विदेशी र तीनवटा नेपाली गरी ३० वटा वायुसेवाले अन्तर्राष्ट्रिय उडान गर्थे।
प्राधिकरणको उडान अनुमति शाखाका उप–प्रबन्धक ज्ञानेन्द्र भुलका अनुसार टर्कीको स्तानबुलका लागि टर्किस एयरलायन्स, कतारको दोहाका लागि नेपाल वायुसेवा निगम र कतार एयरवेज र भारतको नयाँ दिल्लीका लागि एयर इन्डिया र नेपाल वायुसेवा निगमलाई नियमित उडान गर्न अनुमती दिइएको छ।
पर्यटन मन्त्रालयका एक अधिकारीका अनुसार यो सुविधाले अब अन्तर्राष्ट्रिय उडानतर्फ स्वदेशी–विदेशी यात्रुले केही नेपाली ट्राभल एजेन्टले वायुसेवाकै कर्मचारीसँग मिलेर असुल्ने महँगो टिकट खरिद गर्नु पर्ने बाध्यता हट्नेछ।
प्राधिकरणको नयाँ तालिका अनुसार, युरोप, अमेरिकाका यात्रुले अब हरेक बिहीबार टर्किस एयरलायन्सको उडानबाट ओहोरदोहार गर्न सक्ने छन्। त्यस्तै, दिल्ली–काठमाडौं बुधबार र शुक्रबार उडानलाई निरन्तरता दिइएको छ।
जुन यसअघि निषेधाज्ञामा पनि जारी नै थियो। त्यस्तै, दोहा हुँदै मध्यपूर्वी मुलुक लगायत अन्य मुलुकहरुमा जान सोमबार बिहान कतारले र राति नेपाल वायुसेवा निगमले काठमाडौंबाट उडान गर्नेछन्। सोमबार राति नेपालबाट दोहा जाने निगमको विमान मंगलबार मात्रै काठमाडौं फर्किने छ।