गृहपृष्ठ विवादास्पद एमसीसीका उपाध्यक्ष र नायव उपाध्यक्ष विहिवार नेपाल आउदै
विवादास्पद एमसीसीका उपाध्यक्ष र नायव उपाध्यक्ष विहिवार नेपाल आउदै

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार र नायव उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चारदिने भ्रमणका लागि आज बिहीबार काठमाडौं आईपुग्दै छन्।
नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि नेपाल सरकार र अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच मिलेनियम च्यालन्ज सम्झौता (कम्प्याक्ट) मा सम्झौता भएको थियो। एमसीसीबाट पहिलोपटक उच्च तहमा हुन लागेको भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ।
सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका लागि अमेरिकाले एमसीसीमार्फत ५५ अर्ब सहयोग गर्ने घोषणा गरेको थियो। नेपालमा कार्यान्वयन हुन लागेको एमसीसीलाई लिएर नेपालमा तीव्र विरोध भइरहेको छ।
अघिल्लो सरकारले एमसीसी सहयोगमा सञ्चालन हुने आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा मान्यता दिएको थियो। उक्त परियोजनाअन्तर्गत वातावरणीय प्रभाव मूल्यांकनको स्वीकृति दिनुका साथै जग्गा अधिग्रहण र सीमापार प्रसारण लाइन निर्माणलाई प्राथमिकता दिएर काम अघि बढाएको थियो।
नेपालको आर्थिक विकास र गरिबी निवारण प्रवद्र्धनको साझा लक्ष्यका साथ सम्झौता भएको परियोजनामा ४ सय किलोभोल्ट क्षमताको ३ सय १८ किलोमिटर लामो प्रसारण लाइन एवं तीन उच्च क्षमतायुक्त सबस्टेसन निर्माणमा केन्द्रित विद्युत् प्रसारण आयोजना र बढीमा ३ सय किलोमिटर रणनीतिक सडकको मर्मतसम्भारको काम हुने बताइएको छ।