गृहपृष्ठ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार महासंघ पोर्तुगलको शुभकामना आदानप्रदान सम्पन्न
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार महासंघ पोर्तुगलको शुभकामना आदानप्रदान सम्पन्न

लिस्बन, पोर्तुगल । २७ औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पोर्तुगलका पत्रकारहरुले डिजिटल शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रममा फ्रान्सकालागि नेपाली राजदूत एवं पोर्तुगलकालागि गैरआवासीय राजदूत दीपक अधिकारीले पत्रकारिता अत्यन्त जिम्मेवार र सम्वेदनशील पेशा भएको बताए । नेपाली समाजलाई बाटो देखाउन पत्रकारहरुले महत्व भूमिका निर्वाह गरेको स्मरण गर्दै पोर्तुगलका पत्रकारहरुको रिपोर्टिङले पनि आफ्ना काम तथा योजनामा सहयोग पुगेकोमा प्रशंसा गरेका छन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले गत वर्षभन्दा यो वर्ष नेपालमा प्रेस स्वतन्त्रताको अवस्था खस्केको उल्लेख गरेका छन् । आचार्यले महासंघको आवाजलाई पोर्तुगलबाट पनि साथ दिएको, स्वतन्त्र ढङ्गले पहल गरेको र ऐक्यवद्धता जनाएकोमा धन्यवाद दिए । पत्रकारहरुले ज्यान, धम्की र जेलको प्रवाह नगरी सत्यता र स्वतन्त्रताको पक्षमा नझुकेर लडेको ईतिहास रहेको छ, त्यसैले भविष्यमा जस्तासुकै चुनौति आए पनि हाम्रो एकताले प्रेसलाई नगारिकको आवाज बनाउन सफल हुने विश्वास व्यक्त गरेका छन् ।
लिस्बनका लागि अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालले समाजलाई सुसूचित गर्न र सकारात्मक बाटोमा डोहोर्याउन निरन्तर लागि पर्न अनुरोध गरेका छ न् । हमालले पोर्तुगल शाखासँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता पनि जाहेर गरेका छन् । हमालले भने : ‘पत्रकार साथीहरुलाई सधैं आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

वक्ताहरुले संचार क्षेत्रको संरक्षण, सम्वर्धन एवं विकासका निम्ति यसको पुर्नसंरचना, नीतिगत र कानुनी सुधारका काम हुनै पर्ने कुरामा जोड दिए । साथै संचार क्षेत्रले पनि आफूलाई मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गरी थप व्यवस्थित बनाउनु पर्ने सुझाव दिएका थिए ।
शुभकामना आदानप्रदान कार्यक्रममा पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजीन राई, बेल्जियम शाखाका अध्यक्ष ओम शर्मा, गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद पोर्तुगलका अध्यक्ष तिलक गैरे, प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष गोविन्द पौडेलले शुभकामना मन्तव्य राखेका थिए ।
जुम एप प्रयोग गरी सञ्चालन भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ पोर्तुगल शाखाका संयोजक योगेन्द्रमिलन छन्त्यालको अध्यक्षता, सह संयोजक राजकुमार थापाको स्वागत मतव्य रहेको थियो भने प्रवक्ता पेम्बागेलु शेर्पाले सञ्चालन गरेका थिए । कार्यक्रममा पोर्तुगल, बेल्जियम, फ्रान्स र नेदरल्यान्डस गरी चार देशका ३४ जनाको सहभागिता रहेको थियो ।