गृहपृष्ठ सर्वोच्चको विज्ञप्ति:प्रधानन्यायाधीशले प्रधानमन्त्रीलाई भेट्नु भएको छैन
सर्वोच्चको विज्ञप्ति:प्रधानन्यायाधीशले प्रधानमन्त्रीलाई भेट्नु भएको छैन

सर्वोच्च अदालतले सञ्चार माध्यमहरुमा चर्चा भएजस्तो प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रधानमन्त्री केपी शर्मासँग भेट नगरेको स्पष्ट पारेको छ।
सर्वोच्चका सह-प्रवक्ता देवेन्द्र ढकालले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो जिकिर गरेका हुन्। केही अनलाइनहरुले प्रधानमन्त्री ओलीले मध्यरात प्रधानन्यायाधीशलाई गाडी पठाएर बोलाएको र भेटेको खबरमा सत्यता नरहेको सहप्रवक्ता ढकालले विज्ञप्तिमा उल्लेख गरेका छन्।
‘उल्लेखति विषयमा कुनै सत्यता नरहेको र न्यायपालिकाको स्वच्छता एवम् यसप्रतिको आस्था र विश्वासमा प्रतिकुल प्रभाव पार्ने गरी अतिरञ्जित तथा दुरासययुक्त भावनाबाट समाचार प्रकाशन हुनु अत्यन्त दुःखद र खेदजन्य विषय हो,’ विज्ञप्तिमा भनिएको छ।
‘अदालतमा दर्ता हुन आएका कुनै विवादसँग जोडेर न्यायसम्पादनको कार्यलाई प्रतिकुल प्रभाव पार्ने कुत्सित मनसाय राखी सत्य तथ्य र यथार्थ अवस्था बुझ्दै नबुझी समाचार प्रकाशन हुनु दुःखद् अवस्था हो,’ विज्ञप्तिमा भनिएको छ।
यस्ता कामहरु संविधान, कानून र स्वयम् पत्रकार आचारसंहिताको समेत प्रतिकूल हुने हुँदा कानूनी दायरामा आउन सक्ने तर्फ सचेत हुन ध्यानाकर्षण सर्वोच्चले गराएको छ।