२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ सांसद गायव हुँदा गण्डकी प्रदेश सभा स्थगित

सांसद गायव हुँदा गण्डकी प्रदेश सभा स्थगित

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध परेको अविश्वासको प्रस्तावमाथि मतदान हुनुअघि प्रदेश सभा बैठकनै अनिश्चितकालका लागि स्थगित भएको छ।

बुधबार बसेको पहिलो बैठकमा प्रदेश सभा सदस्यहरूले प्रस्तावमाथि छलफल गरेका थिए। दोस्रो बैठकमा मुख्यमन्त्री गुरुङले अविश्वासको प्रस्तावमा उठेका प्रश्नमाथि जवाफ दिने र मतदान गर्ने कार्यक्रम थियो।

तर, निर्णायक मानिएको राष्ट्रिय जनमोर्चाका एक जना सांसद् खिमविक्रम शाही अनुपस्थित रहेका थिए। त्यसपछि राजमोकी सचेतक पियारी थापाले सदन रोक्न माग गर्दै सभामुखलाई निवेदन दिएकी थिइन्। सोही आधारमा सभामुखले बैठक स्थगित गरिदिएका हुन्।

थापाले मुख्यमन्त्रीको विरोधमा राखिएको अविश्वासको प्रस्तावमा राजमोले समर्थन जनाइरहेको सन्दर्भमा सदनमा मतदानको परिस्थिति बनेको दिन आफ्नो पार्टीको प्रदेश सभा सदस्य शाहीको अवस्था अज्ञात रहेको निवेदन गण्डकी प्रदेशका सभामुखसमक्ष पेश गरेकी छिन्।

‘उहाँको अवस्था सार्वजनिक गर्न, निजको जीवन रक्षा गर्न र निज सार्वजनिक नभएसम्म सदनको कारबाही नचलाइयोस् भन्ने विनम्र अनुरोध गर्दछु’, निवेदनमा भनिएको छ।

‘यस विषम परिस्थितमा निवेदनमाथि सम्बोधन नगरी सदन सञ्चालन गर्न उपयुक्त नभएकोले अर्को सूचना नभएसम्मका लागि गण्डकी प्रदेश सभाको आजको बैठक स्थगित भएको व्यहोरा सूचित गरिन्छ’, प्रदेश सभा सचिव हरिराज पोखरेलले जारी गरेको सूचनामा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु