गृहपृष्ठ स्पेनको बेनिडर्ममा नेपाली पाठशाला शुरु
स्पेनको बेनिडर्ममा नेपाली पाठशाला शुरु

बेनिर्डम, २३ डिसेम्वर स्पेनको आलिकान्ते स्थित कोष्टाबलाङकामा बस्ने नेपाली समुदायले आफ्ना बालबालिकालाई नेपाल र नेपाली भाषा तथा संस्कृतिबारे परिचित बनाउन नेपाली पाठशाला शुरु गरेका छन्। आलिाकान्तेको बेनिर्डममा बुधबारबाट शुरु भएको नेपाली पाठशालामा यस वरिपरि बस्ने नेपाली समुदायका बालबालिकालाई सातामा एक दिन भेला गरी सामान्य नेपाली भाषाको पठनपाठन तथा अन्य नेपाली सांस्कृतिक गतिबिधी गराउन लागिएको हो।
कोष्टाबलाङका निवासी नेपालीहरुको संस्था नेपाल स्पेन समाज कोष्टाबलाङकाको आयोजनामा शुरु भएको नेपाली पाठशालामा नीतु शाक्यले बालबालिकाहरुलाई सहजीकरण गर्नुहुनेछ। पाठशालाको पहिलो दिन बुधबार यस क्षेत्रका २ दर्जन भन्दा धेरै बालबालिकाको सहभागिता रहेको थियो। समाजको तर्फबाट पाठशाला सन्चालनको लागि संयोजन गरीरहनुभएकी समाजकी उपाध्यक्ष झरना कार्कीले पाठशालाको प्रचारप्रसार अझै बढाएर यस क्षेत्रमा बस्ने सबै नेपालीका छोराछोरीलाई समेट्न आफुहरु लागी रहेको बताउनुभयो।
समाजका सल्लाहाकार रितेश श्रेष्ठले आफुहरुले यसअघि पनि पाठशाला सन्चालन गर्ने प्रयास गरेको र सुरुवात पनि गरेको तर विभिन्न कारणले सुचारु गर्न नसकिएको भन्दै अहिले सुरुवात भएकोमा खुसी लागेको बताउनुभयो।
उहाँले यस क्षेत्रमा बस्ने नेपालीको संख्या बढ्दै गएको र लामो समयदेखि नेपाल बाहिर रहेका बालबालिकालाई नेपाली भाषा र संस्कृति तथा नेपाली संस्कार सिकाउन समस्या परिरहेको अबस्थामा शुरु भएको पाठशालाले धेरै राम्रो भुमिका खेल्ने बताउनुभयो। यसक्षेत्रका पुराना बासिन्दा तथा समाजका सल्लाहकार विरेन्द्र श्रेष्ठले यस क्षेत्रमा बस्ने सवै नेपालीलाई एकजुट बनाउन र आफ्ता बालबालिकालाई नेपाली संस्कृती बिर्सन नदिन पाठशालाले सहयोग गर्ने बताउनुभयो।
समाजका अर्का सल्लाहाकार सुरेन्द्र भुजेलले आफुहरु पठशालामा कसरी सवैलाई समेट्ने र यसलाई कसरी दिगो बनाउने भन्नेबारे लागिरहेको बताउनुभयो। समाजका अध्यक्ष केशबराज कंडेलले पाठशाला सन्चालनको लागि आफुहरुले सवैको सहयोग लिने बताउनुभयो । अहिले सवैले स्वयसेवकको रुपमा काम गरेको भन्दै उहाँले पाठशालामा सहजिकरण गर्ने ब्यक्तिलाई पारिश्रमिक र बालबालिकाको खाजा खर्चको लागि पनि सहयोग संकलन गरी समाजले नै ब्यवस्थापन गर्ने बताउनुभयो।
स्पेनको आलिकान्ते स्थित कोष्टाबलाङका क्षेत्रमा नेपालीहरुको संख्या बढ्दै गएको छ। यस क्षेत्रमा धेरै नेपालीहरुले आफ्नै ब्यवसाय गरेर बसेका छन्। आफ्नै ब्यवसाय गर्ने र अन्य रोजगार गर्नेहरु गरी एक हजार भन्दा धेरै नेपाली रहेको अनुमान छ । यस क्षेत्रमा नेपालीको संख्या बढ्दै गएकोले आपसमा घुलमिलको बाताबरण बनाउन समाजको तर्फबाट विभिन्न नयाँ कामहरुको योजना ल्याइएको अध्यक्ष कंडेलले बताउनुभयो।
युवाहरुको बीचमा खेलकुदको कार्यक्रम र सांस्कृतिक पर्वहरुमा विशेष कार्यक्रम गर्ने आफुहरुको योजना रहेको उहाँले बताउनुभयो। समाजले धार्मिक गतिविधिका लागि यस क्षेत्रमा मन्दिर निर्माणको योजना अघि सारेको उहाँले बताउनुभयो।