२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ हुम्लाको त्यो दुर्गम गाउँ ,जहाँ पहिलोपटक पुग्यो स्वास्थ्य सुविधा

हुम्लाको त्यो दुर्गम गाउँ ,जहाँ पहिलोपटक पुग्यो स्वास्थ्य सुविधा

हुम्लाको दक्षिण भेगमा रहेको ताँजाकोट गाउँपालिका–३ को दुर्गम मासपुर गाउँका बासिन्दाले पहिलो पटक स्वास्थ्य तथा अन्य सेवासुविधा पाएका छन्।

सरकारी निकायको उपस्थिति हुँदै नहुने उक्त बस्तीमा गाउँपालिकाको टोली पुगेपछि स्थानीयवासीले सेवासुविधा पाएका हुन्।

यसअघि कहिल्यै सरकारी सेवा तथा सुविधा नपाएको भए पनि यस पटक गाउँपालिकाबाट खटिएको टोलीले घरमै पुगेर विभिन्न सेवा प्रदान गरेको हो।

यस वर्ष पहिलो पटक घरदैलो स्वास्थ्य सेवा र तरकारी किट स्थानीयवासीले पाएका छन्। गाउँपालिकाले यस वर्ष घरदैलो स्वास्थ्य जाँच अभियान सञ्चालन गरेको गाउँपालिकाका स्वास्थ्य शाखाप्रमुख धनराज ढकालले बताए।

गाउँपालिका केन्द्रबाट एक दिन पैदल हिँडेर स्वास्थ्यकर्मीको टोलीले मासुपुर पुगेर स्वास्थ्य सेवा प्रदान गरेको प्रमुख ढकालले बताए।

गाउँमा एक सय ५६ जनाको स्वास्थ्य परीक्षण र औषधि वितरण निःशुल्क रूपमा गरिएको हो। गाउँगाउँमा पुगेर सेवा प्रदान गर्ने नीति गाउँपालिकाले लिएको छ।

त्यसैगरी, बिरामीको स्वास्थ्य परीक्षण गर्दा औलो रोगसँग लक्षण मिल्ने बिरामी देखिएपछि १२ जनाको औलो रोगको नमूना सङ्कलन गरिएको ढकालले बताए।

सम्भावित औलो हुनसक्ने देखिएपछि नमुना सङ्कलन गर्ने कार्य भएको र त्यसलाई ल्याब परीक्षण गरिने उनले बताए।

गाउँपालिकामा बर्सेनि औलोका बिरामी देखिँदै आएका छन्। मासपुरवासीको घरदैलो स्वास्थ्य परीक्षण अभियानका क्रममा औलो रोगको नमुना सङ्कलन गरिएको हो। स्वास्थ्य शाखाले औषधि छर्कने र झूल वितरण गर्ने काम गर्दै आएको छ।

त्यसैगरी, मासपुरका २० घरधुरीलाई तरकारी किट पनि वितरण गरिएको छ। दुई दिनसम्म सञ्चालन भएको अभियानमा स्वास्थ्यकर्मीले छाउपडी, छुवाछूत, बालविवाह, बहुविवाह, बोक्सी प्रथाविरुद्ध पनि जनचेतना फैलाइएको थियो।

मासपुरमा सरकारी तवरबाट एउटा स्वास्थ्य संस्था र विद्यालयमात्र स्थापना भएका छन्। हालसम्म मालपोत कार्यालयमा लालपुर्जा भए पनि स्थानीयवासीको हातमा परेको छैन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु