२०७९ असोज ८ गत शनिवार | September 24, 2022

Bharat Poudel

गृहपृष्ठ गुल्मीका युवाहरू कृषि मेसिन मर्मत तालिम लिदै

गुल्मीका युवाहरू कृषि मेसिन मर्मत तालिम लिदै

तीन वटै सरकारले कृषिमा प्रविधिलाई जोड दिइरहेका छन्। जसका कारण गाउँ–गाउँमा कृषि कर्मको निम्ती नयाँ–नयाँ प्रविधि भित्रिएका छन्। तर मेसिन बिग्रिए पुन उपयोगको उपाय नहुँदा किसानले सास्ती खेपिरहेका छन्।

सोहि अवस्थालाई मध्येनजर गरेर प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाई मकै जोनले १५ जना युवाहरुलाई साना मेसिनरी औजार उपकरण मर्मत संभार तालिम प्रदान गरेको छ। मालिका गाउँपालिका ७ मर्भुङ् सिमलटारीमा पाँच दिने तालिम संचालन भएको छ।

तालिममा सहभागी मालिका गाउँपालिका ८ का भोजेन्द्र पौडेलले गाउँमा मेसिनरी सामग्री भित्रिए पनि मेकानिक नहुँदा वुटवल फोन गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताए।उनले तालिम अत्यन्तै प्रभावकारी भएकाले आफुहरुले अब गाउँमै कृषि उपकरणहरुको मर्मत गर्न सक्ने आत्मविश्वास व्यक्त गरे।

मकै जोन अन्तरगतका इस्मा, मालिका, मदाने, धुर्कोट र रेसुगां नगरपालिकाका युवाहरुलाई तालिम प्रदान गरेको परियोजनाको कृषि प्राविधिक नारायणी गाहाले बताइन्। गाहाका अनुसार सवै तालिममा सहभागी मध्ये ९० प्रतिशत युवा ग्यारेज संचालन गरेका छन्।

उनले उपकरणको बिक्री -वितरण गर्न सजिलो र छिटो तालिम सिक्ने भएकाले अधिकांश ग्यारेजमा काम गर्ने युवाहरुलाई प्राथमिता दिएको बताइन्। प्रशिक्षक सुशिल बन्जाडेले तालिममा सहभागी युवाहरुले निकै चासो दिएकाले छिटो समयमै मर्मतको काम सिकेको बताए। उनले गाउँ–गाउँमा मेसिन मर्मतको काम थुप्रै भएकाले व्यावसायीक रुपमा काम थाल्न सवै प्रशिक्षार्थीहरुलाई आग्रह गरे।

अगुवा कृषक कृष्ण घिमिरेले प्रविधिको प्रयोग पहाडी खेतबारीहरुमा चुनौतिकै बिषय भएपनि गाउँमै मर्मत गर्ने जनशक्ति नभएको कारण थप समस्या सृजना भएको गुनासो गरे। उनले बाहिरबाट जनशक्ति मगाएर उपकरणहरु मर्मत गर्नुपर्ने भएकाले समुह सहकारीहरुले महगों रकम तिर्नुपर्ने अवस्था रहेको समेत बताए। यस्तो प्रकारको तालिम परियोजनाले गत बर्ष र अहिले संचालन गरेको छ।

परियोजना प्रमुख नारायण काफ्लेले स्थानीय तहले पनि प्रविधि हस्तान्तरणसंगै गाउँमै युवाहरुलाई साना मेसिनरी औजार उपकरण मर्मत संभार तालिम संचालन गर्न सुझाव दिए। ‘यो तालिमले जनशक्तिको उत्पादनसंगै युवाहरुलाई स्वरोगार बन्न समेत मद्धत पुग्छ,”उनले भने”अब प्रविधि हस्तान्तरणले मात्रै पग्दैन्।’

मालिका गाउँपालिका वडा नं ८ का वडाध्यक्ष टीका जिसीले किसानलाई प्रदान गर्ने उपकरणको मर्मत गर्ने प्राविधिक गाउँमै उत्पादन नगरे आफुहरुले प्रदान गरेका उपकरण बिग्रपछि उपयोग हुने अवस्था न्यून रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु