गृहपृष्ठ महामहिम राजदूत अधिकारी पोर्चुगलमा
महामहिम राजदूत अधिकारी पोर्चुगलमा

फ्रान्सका लागि आवासीय नेपाली राजदूत दीपक अधिकारी पोर्चुगलको राजधानी लिस्बन आउनुभएको छ। अधिकारी पोर्चुगलका गैरआवासीय नेपाली राजदूत हुनुहुन्छ।
उहाँ पोर्चुगलका राष्ट्रपति मार्सेलो दिसिल्भासामु आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रम सहभागी हुन लिस्बन आउनुभएको हो। उहाँ पोर्चुगलमा एक हप्ता रही नेपाली समुदायसँग छलफलका साथै नेपाली समुदायका मञ्जुरीनामा, राहदानी र प्रमाणीकरण काममा व्यस्त रहने बताइएको छ।
उहाँले शुक्रबार र शनिबार गरी यहाँस्थित प्रवासी नेपाली एकता मञ्च, नेपाली जनसम्पर्क समिति, नेपाली समाज, नेपाली जनप्रगतिशील मोर्चा, जनजाति महासङ्घ, नेपाल पत्रकार महासङ्घलगायत सङ्घसंस्थाका प्रतिनिधिसँग भेटी पोर्चुगलमा बसोबास गर्दै आउनुभएका नेपालीका विविध विषयमा जानकारी लिनुभयो।
उहाँले आपसी सहकार्य र समन्वयबारे पनि विचारविमर्श गर्दै नेपालीको समस्या समाधान गर्न राजदूतावास सधैँ सकारात्मक रहेको बताउनुभयो।
पोर्चुगल सरकारका प्रतिनिधिसँगको भेटमा नेपाली समुदाय इमान्दार रहेको भनी प्रशंसा गरेको पाइएको बताउँदै उहाँले उक्त साख जोगाउन सबै पक्षलाई अनुरोध गर्नुभयोे ।
साथै कोभिड–१९ बाट प्रभावितको अवस्थाबारे पनि उहाँले जिज्ञासा राख्नुभएको थियो। राजदूत अधिकारीले लिस्बनका लागि अवैतनिक नेपाली वाणिज्यदूतका रूपमा कार्यरत मकरबहादुर हमाल अवैतनिक नेपाली महावाणिज्यदूतमा पदोन्नति हुनुभएकोमा बधाई तथा कार्यकालको शुभकामना पनि व्यक्त गर्नुभएको थियो।