Covid-19
City Express

कम उमेरका बालबालिकाका लागि मास्क प्रयोग घातक हुन सक्ने

विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण मास्क अनिवार्यजस्तै भएको छ। विज्ञहरुका अनुसार सामाजिक दूरी तथा मास्कको प्रयोगबाट कोरोनाको जोखिम कम गर्न सकिन्छ। सार्वजनिक स्थानमा जाँदा मास्कको प्रयोगले मात्र पनि कोरोनाको जोखिम ७० प्रतिशत कम हुने विज्ञहरु बताउँछन्।

वयस्कहरूका लागि निश्चित सावधानी अपनाएर मास्क लगाउन सुरक्षित मानिन्छ। तर, कम उमेरका बाल-बालिकालाई भने मास्कको प्रयोग घातक हुन सक्ने देखिएको छ।जापानको मेडिकल ग्रुप ‘जापान पीडियाट्रिक एसोसिएशन’का अनुसार दुई वर्ष भन्दा कम उमेरका बाल-बालिकाहरुलाई मास्क लगाइदिनु स्वास्थ्यको हिसाब खतरनाक साबित हुन सक्छ।

एसोसिएशनका डाक्टरहरुको भनाई मान्ने हो भने दुई वर्ष भन्दा कम उमेरका बालबालिकालाई मास्क लगाइदिनु हुँदैन।दुई वर्ष मुनिका बच्चाहरूको नाकबाट फोक्सो सम्म पुग्ने श्वासनलि सानो र छोटो हुन्छ। मास्क लगाएपछि छिटो-छिटो श्वास फेर्न पर्ने हुन्छ जसले गर्दा शरीरको तापक्रम बढ्छ। यसो हुँदा बच्चाहरुमा हीट स्ट्रोकको जोखिम रहने एसोसिएशनका डाक्टरहरुको भनाई छ।

यस्तै यूएस सेन्टर फर डिजीज कन्ट्रोल र अमेरिकन एकेडमी अफ पीडियाट्रिक्सले पनि दुई वर्ष भन्दा कमका बच्चाहरुलाई मास्क नलगाइदिन सुझाव दिएको छ। कसिलो मास्कका कारण बच्चाहरुलाई एक तर्फ श्वास फेर्न गार्हो हुन्छ भने खुला मास्कले कोरोना जोखिम बढाउँछ।

जस कारण सकेसम्म बच्चाहरुलाई मास्क नलगाइदिएकै राम्रो हुने अमेरिकन एकेडमी अफ पीडियाट्रिक्सका डाक्टरहरु बताउँछन्। विज्ञहरु बच्चाहरुलाई मास्क लगाइदिने भन्दा पनि घर बाहिर सार्वजनिक स्थानमा नलैजान जोड दिन्छन्।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु