गृहपृष्ठ सुनको मूल्य हालसम्मकै उच्च,कारोवार भने न्यून
सुनको मूल्य हालसम्मकै उच्च,कारोवार भने न्यून

पछिल्लो केही दिनयता सुनको मूल्य ह्वात्तै बढेको छ।प्रतितोला ९९ हजार झन्डै १ लाख रुपैयाँ बजार भाउ तोकिएको छ।यो अहिलेसम्मकै उच्च रेकर्ड भएको व्यवसायिहरु बताउछन्।
विश्वनै कोरोना महामारीले आक्रान्त बनिरहेको समयमा सुनको मूल्यले भने दिनप्रतिदिन नयाँ रेकर्ड कायम गर्दै गइरहेको छ। नेपालमा जेठ २५ गते बजार खुलेकै दिन १० हजार ४ सय रुपैयाँ मूल्य बढेर सुन प्रतितोला ८७ हजार ४ सय रुपैयाँ पुग्यो।
त्यसयता हरेक दिन सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ। बिहीबार सुन प्रतितोला ९९ हजार रुपैयाँ कायम भएको छ। बजार खुलेयता करिब डेढ महिनामा २२ हजार रुपैँया बढेको छ।
नेपाली बजारमा सिजनमा दैनिक ३० किलोसम्म र सामान्य दिनमा दैनिक १० किलोसम्म सुन बिक्री हुने गरेको थियो। अहिले मूल्य अत्याधिक बढेकाले व्यापार शून्य रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यी तीन कारण बढ्यो मूल्य
महासंघका अनुसार सुनको मूल्यले हरेक दिन नयाँ रेर्कड बनाउनुको मुख्य कारण कोरोना भाइरस संक्रमण नै हो।
अन्तर्राष्ट्रिय स्तरमै आर्थिक क्षेत्र कोभिड–१९ बाट प्रभावित बनेको र सुरक्षित लगानीका निमित्त लगानीकर्ताहरू सुनतिर आकर्षित भएकाले सुनको मूल्य आकासिएको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यको भनाइ छ।
अन्तर्राष्ट्रिय बजारमा सन् २०२० को डिसेम्बरसम्म प्रति औँस १८ सय डलर पुग्ने अनुमान थियो।
जुलाईमै १९ सय ६७ डलर पुगिसकेको छ। सुनको मुल्य अझै बढ्ने देखिन्छ।
डलरको भाउ बढ्नुमा चीन र अमेरिकाबीचको ‘व्यापार युद्ध’ पनि एउटा कारण हो। हङकङका कारण चीन र अमेरिकाबीच तनाव बढेका कारण आर्थिक क्षेत्रहरूमा असर परेको र सुनतिर मानिसको ओइरो लागेको शाक्यको भनाइ छ। आर्थिक मन्दीका कारण धेरै मुलुकका बचतकर्ताले शेयर र सुनमा लगानी गर्न थालेको समेत उनको बुझाइ छ।
त्यस्तै, यस वर्ष कोरोनाका कारण सुन उत्पादनमा पनि कमी आएको उनले बताए। कोभिड–१९ को प्रभाव विश्वव्यापी भएकाले उद्योगधन्दाहरू बन्द भएको र कामदारको अभाव लगायतका कारणले पनि उत्पादन घटेको उनले बताए।
शाक्यले भने, ‘सन् २०१८ सम्म विश्व बजारमा सुनको उत्पादन ४५ सय टन थियो। पछिल्लो तथ्याङ्कले ३५ सय टनमा झरेको देखाएको छ। सन् २०२० मा एक हजार टनले उत्पादन हटेको देखिन्छ।’
सुनसान बजार
लकडाउन खुकुलो भए पनि बजार चलायमान हुन सकेको छैन। सुनको बजार निकै सुनसान देखिन्छन्।
लकडाउनका कारण मानिसहरू चार महिनासम्म बरोजगार भएर बसेका छन्। बाध्यताले सुन किन्नै पर्नेहरूमात्र सुन बजार जाने गरेका छन्।
‘असार महिनामा तीन–चार वटा बिहेको लगन थियो, त्यो समय केही कारोवार होला भन्ने अपेक्षा थियो,’ शाक्यले भने, ‘तर पहिलेजस्तो क्रेज नै देखिएन।’
अहिले बजारमा केही सुन किन्ने होइन, बेच्नेहरू देखिएका छन्।
लकडाउनका कारण दैनिक उपभोग्य सामान किन्न समस्या भएका कारण बजारमा सुन बेच्ने केही मात्रामा दखिए पनि किन्नेको संख्या शुन्य रहेको शाक्यको भनाइ छ।
चाडपर्वमा पनि व्यापार हुने संकेत छैन
सुनको कारोबार बढी हुने एउटा समय महिलाहरूको पर्व हरितालिका तीजमा पनि हो। यस वर्ष तीज करिब आउन तीन साता बाँकी छ। अत्यधिक मूल्यका कारण यस वर्ष तीजमा सुनको कारोबार नहुने अवस्था देखिएको व्यापारीहरू बताउँछन्।
तीज, दशैँ, तिहार लगायतका चाडपर्वमा सुनको कारोबार बढी हुने गरे पनि यस वर्ष त्यस्तो संकेत छैन। विगत वर्षहरूमा जस्तो साउनमा मूल्य घट्छ भन्ने सोच हट्दै गएको शाक्य बताउँछन्। उनले भने, ‘पहिले पहिले साउनमा सुनको मूल्य घट्थ्यो, केही वर्षयता बढ्दै गएको छ।’
शाक्यका अनुसार व्यापारमा नेपालको अन्तर्राष्ट्रिय बजारसँग सम्बन्ध बढेपछि अर्थात् २०५० सालपछि नेपाली उपभोक्तामा रहेको उक्त पुरानो मान्यता अब छैन। ‘सबैलाई असार–साउनमा आर्थिक समस्या पर्ने हुँदा गहना बिक्रीमा आउँथे,’ उनले भने, ‘बजारमा आपूर्ति बढ्थ्यो, भाउ सस्तो हुन्थ्यो, यो पुरानो बजारको अवस्था हो।’यहीँ तरल अवस्था कायमै रहे सुनको मूल्य बढ्ने तर कारोबार नहुने देखिन्छ।