२०७९ असोज ८ गत शनिवार | September 24, 2022

Bharat Poudel

गृहपृष्ठ आज जनैपूणिर्मा ,नेपालमा विशेष महत्वकासाथ मनाइँदै

आज जनैपूणिर्मा ,नेपालमा विशेष महत्वकासाथ मनाइँदै

सयौं युग र परम्परादेखि चल्दै आएको जनैपूणिर्मा तथा रक्षाबन्धन पर्वलाई आज मुलुकभर विशेष महत्वकासाथ मनाइँदै छ।यस बर्ष कोरोना महामारीका कारण यो पर्वमा समेत असर पर्ने देखिन्छ।

प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ। साथै आजै रक्षाबन्धन पनि विधिसाथ मनाइँदै छ।नेपाल सरकारले विशेष सावधानी अपनाएर चाडपर्व मनाउन सम्पूर्ण नागरिकलाई एक सूचनामार्फत विशेष अपिल समेत गरेको छ।

कोरोना संक्रमण सन्त्रासका कारण विगतका बर्षझै यस बर्ष नागरिकहरुमा उत्साह भने देखिएको छैन।यस दिन सनातन वैदिक धर्मावलम्बीले पूरानो जनैको सट्टा नयाँ जनै लगाउने गर्दछन् भने आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन समेत छ।

नेवार समुदायमा ‘क्वाँटी’ खाने प्रचलन समेत रहिआएको छ।जनैको छ शिखालाई ज्ञान, कर्म र उपासना तथा ब्रह्मा, विष्णु महेश्वरको प्रतीक मानिन्छ। सक्नेले सबै पूर्णिमामा वा नसक्नेले वर्षको एक पटक मन्त्रणा गरिएको जनै लगाउँदा राम्रो हुने विश्वास रहीआएको छ।

तागाधारी समुदायले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ।

नयाँ यज्ञोपवित (जनै) तथा रक्षाबन्धन धारण गरी यस पर्वलाई धुमधामका साथ मनाइन्छ। यो दिन पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाटलगायतका धार्मिक क्षेत्रमा ठूलो मेलासमेत लाग्ने गर्दछ।तर यस बर्ष भने कोरोना संक्रमणका कारण मेला लाग्ने संभावना खासै देखिदैन।

यसैबीच, तराई क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेकामा पछिल्ला वर्षमा पहाडी क्षेत्रमा पनि राखी बाँध्न थालिएको छ।यता, नेवार समुदाय भने यस पर्वलाई गुन्हु पुन्हीको रुपमा मनाउने गर्दछन्।

जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ। खेतीपातीका क्रममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा आएको पौष्टिक तत्वयुक्त क्वाँटी खानाले यसलाई प्रकृतिसम्मत पर्वका रुपमा पनि लिइन्छ।

कोरोना महामारीकाबीच मनाउन लागिएको यस पर्वले सबै नागरिकलाई रोगसँग लड्ने थप प्रतिरोधात्मक शक्ति आर्जन होस् शुभकामना।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु