Covid-19
City Express

नेपालमा कोरोना महामारी ,मृत्यु हुनेको संख्या १ सय १४ पुग्यो

नेपालमा कोरोना महामारीका कारण भयावह अवस्था सिर्जना भएको छ।कुनै पनि जिल्ला, क्षेत्र कोरोना संक्रमणबाट अछुतो छैनन्।

नागरिकमा त्रास र भय बढ्दै गएको छ।पछिल्लो २४ घण्टामा मात्रै थप ७ जनाले ज्यान गुमाएका छन्।यो सँगै नेपालमा कोरोनाका कारण ज्यान जानेको संख्या १ सय १४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काभ्रे, नवलपरासी, मोरङ, धनुषा, कास्की, बाँकेमा एक/एक पुरुष र तनहुँ जिल्लामा एक महिलाको मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १४ पुगेको हो।

मन्त्रालयका अुनसार पाटन अस्पतालमा उपचाररत नवलपरासीका ३७ वर्षका कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। ती पुरुषको भेन्टिलेटरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। उनी गत साउन ३० गते अस्पतालको भेन्टिलेटरमा भर्ना भएका थिए।

यस्तै, बाँकेमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ निवासी ६२ वर्षीय पुरुषको मृत्यु भएको छ। उनलाई साउन ३० गतेदेखि कोरोनाको लक्षण देखिएपछि ३२ गते शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो।यता, कास्कीको पोखरामा तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पनि पोखरास्थित कास्की सेवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साउन ३२ गते उपचारका लागि अस्पताल भर्ना गरिएको उनको गएराति मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।

त्यस्तै पोखरा महानगरपालिका–१६ का ८७ वर्षका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ।यस्तै, काभ्रेमा पनि कोरोना संक्रमणबाट गएराति ९८ वर्षीय वृद्धको मृत्यु भएको छ।

साउन २७ गते कोरोना संक्रमण पुष्टि भएका धुलिखेल ७ का उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। यसैगरी विराटनगर स्थित कोशी अस्पतालमा सोमबार साँझ एकजना कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ।

शनिबार राति अस्पताल भर्ना भएका विराटनगर ८ मधुमाराका ४७ बर्षका पुरुषको आइसोलेसनमा उपचारकै क्रममा सोमबार साँझ ५ः३० बजे मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसैगरी धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ३ कटैया निवासी ६५ बर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको थियो।

मृतक पुरुष बिरामी परेको बेला गत साउन २६ गते स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो। विरामी सिकिस्त भएपछि साउन ३१ गते अस्पताल भर्ना गरेर उपचार सुरु भएको सोही दिन रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको थियो।स्थिति नियन्त्रण बाहिर जान नदिन र थप सावधानी अपनाउन मन्त्रालयले सम्पूर्ण नागरिकलाई आव्हान गरेको छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु