Covid-19
City Express

कोरोनाबाट संक्रमित भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन

भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ। उहाँको ८४ वर्षको उमेरमा निधन भएको हो। उहाँ दिल्लीमा सेनाको आर एण्ड आर अस्पतालमा भर्ना हुनुभएको थियो। उहाँले भारतको अर्थ, रक्षा तथा विदेश मन्त्री जस्तो पदमा रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्नुभएको थियो।

उहाँको मस्तिष्कको शल्यक्रिया गर्नुअघि गरिएको परीक्षणमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो। गएको अगस्ट १० मा मुखर्जीले ट्वीट गर्दै आफूमा कोरोना भाइरसको सङ्क्रमण देखिएको बताउनुभएको थियो।

शल्यक्रिया पछि पूर्वराष्ट्रपति मुखर्जी कोमामा पुग्नुभएको थियो र आर एण्ड आर अस्पतालले हरेक दिन उहाँको स्वास्थ्यको बारेमा जानकारी दिइरहेको थियो। सोमबार साँझ पौने ६ बजेतिर राष्ट्रपति प्रणब मुखर्जीका छोरा तथा पूर्वसांसद् अभिजीत मुखर्जीले ट्वीट गर्दै उहाँको निधनको पुष्टि गर्नुभएको हो।

यस्तै भारतका वर्तमान राष्ट्रपति रामनाथ कोविन्दले ट्वीट गर्दै पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। त्यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मुखर्जीको निधनमा शोक व्यक्त गर्दै ट्वीट गर्नुभएको छ।

उहाँले लेख्नुभएको छ, ‘भारत रत्न श्री प्रणब मुखर्जीको निधनमा भारत शोकाकुल छ। हाम्रो राष्ट्रको विकासको यात्रामा उहाँले नमेटिने छाप छोड्नुभएको छ। एक विद्वान, उचो कदका राजनेता, जसलाई सबै समुदाय र राजनीतिक वर्गले प्रशंसा गरेका छन्।’

प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ को सन्दर्भलाई जोड्दै दिल्लीमा पहिलो दिन पूर्वराष्ट्रपति प्रणब मुखर्जीको मार्गदर्शन, समर्थन र आशीर्वाद मिलिरहेको र उहाँसँगको कुराकानी सधैँ याद गरिरहने बताउनुभएको छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु