२०७९ असोज १७ गत सोमवार | October 03, 2022

Bharat Poudel

गृहपृष्ठ नेपालगन्जका कसगर समुदाय माटोको भाडाबाटै जीवन धान्ने आधार बनाउँदै

नेपालगन्जका कसगर समुदाय माटोको भाडाबाटै जीवन धान्ने आधार बनाउँदै

माटोमै जीवन बिताएका कसगर परिवार ,माटोबाटै सुनौलो भबिस्य निर्माण गर्दै

नेपालगञ्ज उपमहानगरपालिका वडानं. ८ एमपी स्कुलरोडकी १२ बर्षिय सनम कसगर विहानै सदरलाइनमा माटाका भाँडाहरु बेच्न आउछिन्।

उनी जान्ने भएदेखि अहिलेसम्म उनको दैनिकी यसरी नै वितिरहेको छ। घर नजिकै रहको मदरसा आइसा तुल वनातमा कक्षा ५ मा पढ्दै गरेकी उनले माटाका भाँडा बेचेरै आफ्नो विद्यालयको खर्च चलाउने गरेकी छन्।

आमा रजिया र बुबा पप्पु कसगरले बनाएका माटाका भाँडा बेचेर नै उनि लगायत उनका ६ जना दाजुभाई र आमाबुवाको गुजारा चलेको छ। ‘दिनको २ सय जति भाँडा त आमा बुवा मिलेर बनाउनु हुन्छ।

अनि त्यसलाई भट्टीमा पकाइसकेपछि दिदि र म मिलेर बेच्छौ। दिनमा ५/६ सय रुपैंया जति त कमाईहालिन्छ। पढाइ–लेखाइको खर्च पनि यसैबाट आउछ। हामिले तरकारी समेत भाँडा बेचेर नै किन्ने गरेका छौ’–उनले भनिन्।

माटोका भाँडाकुँडा, खुत्रुके, दियो, साना ठुला कलशहरु, लाख बत्तिमा प्रयोग हुने आरी, गाग्री र गमला आदि बनाउनु कसगर समुदायको पुख्र्यौली पेशा हो।

सोही समुदायका कमालुद्धिन कसगरले ७–८ वर्षदेखि नै माटोसँग खेल्न सिकेका थिए। ३९ बर्षिय कमालुद्धिनले माटोमा आफ्नो सीप प्रयोग गरेर यसैलाई जीवनयापनको माध्यम बनाए। यो उनको दैनिकी हो।

उनि आफ्नो बाल्यकाल सम्झन्छन्–‘स्कुलबाट सिधै भाँडा बेच्ने ठाँउमा आउँथे। त्यतिखेर यहाँ माटाका भाँडाको बजार नै थियो। तर, २/३ बर्ष अघि नगरपालिकाले बजार व्यवस्थित गर्ने भन्दै ३०/३५ बर्ष पुरानो माटाका भाँडाको बजार नै हटायो। अहिले फुटपाथमा बेचिरहेका छौं।’

उनले थपे–‘माटोको मूल्य उनीहरूलाई मात्र थाहा छ, जसले यसैबाट जीवन धानेका छन्। तर, कहिले प्रकृतिले वर्षाको रुप लिएर हामीहरुलाई दुख दिन्छ त कहिले सरकारले विभिन्न नीति नियम बनाएर थकाउछ।’

माटाका भाँडाको व्यापार रहर हो की बाध्यता हो भन्ने यसै समुदायकी १३ बर्षिया सेरम कसगरले बुझकी छैनन्। उनलाई यत्ति थाहा छ की यो उनीहरूकी आमाले सिकाएको काम हो जसले उनिहरुको दैनिकी धानेको छ।

सेरमका बाबु रातदिन रक्सी बाहेक अरु केहि थाहा नपाउने भएपछि उनकी आमा सफियाले बनाएका भाँडा बेचेर उनको ७ जनाको पालिएको छ।

माटोमा भुलेकी सफियाले सानै छँदा आमाबुबाबाट सीप सिक्ने मौका पाइन्। ‘यो काममा धेरै मेहनत छ । माटो बिना हाम्रो घर चल्दैन’–उनले भनिन्। ‘कच्चा पदार्थ (माटो) सहज उपलब्ध हुन नसक्दा हामीलाई धेरै गाह्रो भएको छ। पहिले सित्तैमा पाइने माटोको अहिले एक ट्याक्टर बराबरको कम्तीमा ५÷६ हजार पर्छ।

भाँडा बनाउन आवश्यक माटो पाउन गाह्रो छ। जस्तो पायो त्यस्तो माटोले भाँडा बन्दैन। भाँडा बनाउनका लागि चिल्लो र चिम्ट्याइलो माटो आवश्यक पर्छ। अहिले हामिले डुडुवाबाट माटो ल्याइरहेका छौं’–उनले आफ्नो दुखेसो पोखिन्।

‘एउटा दियोमा हामि २ रुपैंया नाफा खान्छौं भने ठुलो गाग्रीमा २० रुपैंया नाफा खान्छौ’–उनले आफ्नो व्यापार बारे बुझाउदै भनिन्। कसगर समुदायका सफिया, सनम र समादुद्धिन जस्ता धेरैले आफ्नो जीवन माटोमै सुरु गरे यसैलाई आफ्नो जीवनयापनको आधार बनाएका छन्। उनीहरुको पेशालाई संरक्षण गर्दै उत्पादन बेच्ने ठाँउको समेत स्थानीय सरकारले व्यवस्थापन गर्न आवश्यक छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु