Covid-19
City Express

भोको पेट मिचिमिची सडकमा कैयौं रात बिताएका हरी आज करोडौंको मालिक

सडकमा फालेका पाउरोटी खादै सुन्दर सपना देखेका हरी आज सबैको प्रेणाको स्रोत बनेका छन् ।

भनिन्छ नि परिश्रम र मेहनतनै जीवनमा सफलताका शुत्रधार हुन्।

संघर्ष,कठिनाइ र अवरोधलाई चिर्दै गर्दाको क्षण अत्यन्तै भारी पनि हुन्छ।अधेरी छाललाई पार गर्दै उज्यालो किरण ल्याउन त्यति सहज भने पक्कै पनि छैन।उद्देश्यमा लगाव,अनुशासन र निरन्तरता जीवन मा चाहिने प्रमुख कवच हुन्।

आफुले लिएको लक्ष्यमा सदा दत्तचित्त रहन सकियो भने सफलता चुम्न टाढा पनि छैन।हामीले देख्छौ कि कयौं मानिस दिनरात काममा खटिरहेका हुन्छन्। उनीहरूको विधा वा क्षेत्र फरक होला तर भरिपूर्ण समर्पण देखिएको हुन्छ।

आज हामी करोडौंका मालीक हरी विस्टको जीवन कहानी यहाँनीर प्रस्तुत गर्ने जमर्को गरिरहेका छौ।

विस्टको सफलता र कामप्रतिको लगनशीलता निकै चाखलाग्दो छ।सुदुरपश्चिम् बझाङ स्थायी घर भएका विस्ट सायदै आज करोडौंको मालिकनै बन्छु भन्ने सोचेका थिएनन्।तर सोचेभन्दा पनि पृथक, रसिलो,ओजनदार सफलता चुमे उनले।

कुनै वेला हरीको नाम सुन्दा भाग्ने,लुक्ने मानिसहरू आज हरीको नाम सुन्न आतुर हुन्छन् ,उनको नजिक जान तछाडमछाड हुन्छ।कारण हो आज उनिसँग अथाह धन-सम्पत्ति छ।उनले जे चाहायो त्यहीँ छ अहिले।वेरोजगारलाई रोजगार दिएका छन्।कसैको अँध्यारो जीवनमा उज्यालो किरण छर्ने आशाका धरोहर पनि बनेका छन्।

२०३० सालमा बझाङको विकटमा गाउँ जन्मेका विस्ट गरिब परिवारमा जन्मेका थिए।जेठो सुपुत्रको रुपमा परिवारमा जन्मिएका उनले वाल्यकालामा पाउनु दु:ख पाए। उनले मिठो-मसिनो खान बर्षको एक पटक दशै कुर्नु पर्थ्यो।

साथीभाइ ,छरछिमेकीको लगाइ,खबाइ आकर्षक हुँदा उनको मन कटक्क नखाएको पनि होइन।बुवा -आमालाई कतिपटक नयाँ कपडा किनिदिनको लागि भन्दै डाको छोडेर ,चिच्याएर रोएका क्षण कति -छन -कति।कति पटक त बुवाको हातबाट पिटाइ खाए भने कैयौं पटक आमाको गाली पनि।अहिले सम्झिदै भन्छन् “बुवा-आमा विवश हुनुन्थ्यो।

थिएन केही जता हेर्यो उतै खाली।

बालापनामा बुवाआमाले संम्झाउदा नसंम्झिने यो मन।रोयो,करायो अन्तिममा पिटाइ खाएपछि डाको छोडेर रोएपछि शान्त हुने यो मन”।विस्टको घरपरिवारमा आमा बुवा,उनी सहित दुई भाइ र एक बहिनी थिए।भाइबहिनी सानै थिए।

घरको जेठोबाठो छोरो भएपछि जिम्मेवारी अल्लि बढी हुनेनै भयो।बुवा -आमा सधै मेलापात जाने।दिउँसभरी भाइबहिनी हेरेर बस्थे उनी।घरमा खानेकुरा केही हुने थिएन।यता भाइबहिनी रुने उता हरी रुने।

सम्झाउने,फकाउने र दिने भन्ने त कोही पनि नहुने।घरमा भोको पेट मिचिमिची कुइन थालेका मकै झातोमा पिसेर काचो आटो पनि कति खाए कति।साझपरेपछि बुवाआमा घर आउथे।उनिहरुले साँहुहरुकोबाट लिएर आएको ढेडो आधा पेट जसोतसो खाएर बस्थे।

उनका साथीभाइ र नातागोता स्कुल पढ्न जाँदा उनको पनि औधी रहर थियो स्कुल जानलाई।तर उनी स्कुल जान पाएनन् नत घरमै शान्तसँग बस्न पाए।घरमै बसेर पनि केही पार नलाग्ने।यो देखेपछि उनको मन कता-कता बरालिन थाल्यो।

सोचे धेरै पटक,घोरिए अनगिन्ती।

त्यसपछि उनले घर छोडेर बाहिर जानु पर्छ भन्ने सोच बनाए।बुवाआमालाई आफ्नो कुरा सुनाए।सुरुसुरुमा उनको कुरा सुन्नु पनि भएन।धेरै पटक भनेपछी राजी हुनुभयो उहाँहरु भन्छन्” हरी”।त्यसपछि उनी गाउकै एक जना दाइसँग कंचनपुरको सदरमुकाम महेन्द्रनगर जाने निधो गरे।नयाँ ठाउँ ,नयाँ परिवेश र ठुलो शहर।

एकै पटक शहरमा छिर्दा उनी अचम्मित भए।जता हेर्यो उतै ठुला-ठुला पसल,होटल,घरजत्रै देखिने बस ,ट्रक।उनी रनभुलमा परे।कता-कता मनमा हडबडाड सुरु भयो। सँगै आएका दाइले उनलाई बजारकै एक होटेलमा भाडा माझ्ने काममा लगाइदिए।

ठुला-ठुला भाडा,धेरै थाल,पेलेट पहिलोपटक देखेका उनी तरंगित भए।घरमा ३,४ वोटा थाल कचौरा,गिलास देखेका उनी छक्क परे।एकैपटक डेड -दुई सय थाल नमाझेका हुनसम्म पीडा भयो।हातमा घाँउ भए,ठेला बसे ,औंला सुन्निए तर उनको चीत्कार सुन्ने कोही थिएन।

साउ-साउनीको चर्को दबाब,गाली र दुरब्यबाहार अथाह सहनु पर्यो।२,३ पटक त उनले घर फर्केर जाने सोच पनि बनाए। फेरि सोचे तर पनि घरमा गएर के गर्नु,उहीँ खानकै समस्या,एक चिम्टी ढेडोमा भाइबहिनीसँगको तछाडमछाड।यस्तो सम्झदा पटक्कै जानै मन गरेनन्।

बरु पीडा सहेर भएपनी काम गर्ने निधो गरे।२,३ बर्ष उक्त होटलमा काम गरीसकेपछि अर्को होटलमा काम परीवर्तन गरे।त्यहाँ भने उनी किचन सहयोगीको रुपमा छिरेका थिए।काम गर्ने दौरानमा खाना पकाउने cook मा उनको बढुवा भयो।केही पैसा कमाए,धेरै -थोरै घरमा बुवाआमालाई पनि पठाइदिए।

अल्लि महत्वाकांक्षी थिए हरी।एउटा काममा लागिसकेपछि अर्को सपना बुनिहाल्ने।अब उनले काठमाडौं जाने सपना देख्न थालेका थिए।राजधानीमै गएर ठुलो मान्छे बन्छु भन्ने मिसन बनाए।सजिलो कहाँ थियो र काठमाडौं पनि!

चिनेको कोही थिएन।उनको गाउँ त्यो जिल्लाको विकट क्षेत्रमै पर्थ्यो। त्यो बेला उनको गाउँका मान्छे खासै राजधानी छिरेका थिएनन्।सपना बनाए,औधी रहर जाग्यो तर चिनेको कोही छैन।२०५० सालको कुरा हो।

उनी सपनाको शहर राजधानी छिर्ने निर्णय गरे।

महेन्द्रनगरगरबाट काठमाडौंको लागि उनको रात्री यात्रा शुरु भयो।बसभरी यात्रु त थिए तर उनले चिनेको कोही पनि थिएन।बसमा चढित हाले अब चिनेको कोही छैन यस्तै-यस्तै सोच्दै उनी काठमाडौं सम्म आइपुगे-हरी भन्छन् “।

यस्तै बिहानको ५ बजेको थियो,बसले बसपार्क आयो भनेर हुटिङ गर्यो।उनी हतार -हतार आफ्नो ब्याग हातमा सातेर तल झरे।चारैतिर भिडभाड ,मानिसहरू ओहोरदोहोर गरिरहेका छन्।होटलवालाहरु बोलाइरहेका छन् “हाम्रोमा जाउँ-हाम्रोमा जाउँ ,खान-बस्न राम्रो सुबिधा छ ,यस्तै यस्तै कुराहरू गरिरहेका छन् “।

उनी निकै अलमलमा परे होटलमा जाउ पैसा निकै कम छ।नजाउ कहाँ बस्ने ठाउँ छैन !उनी थप हतास भए।कतै मैले ठूलो भुल त गरिन भन्ने सोचे।गएको दिन उनी बसपार्कमै सुते।जाडोको महिना थियो,अति जाडो भयो ,थुर -थुर कामे,निद्रै लागेन, भाबुक हुँदै भन्छन् -हरी”।

हरी यसरी भन्छन् -“२० बर्षमा पहिलो पटक काठमाडौंमा पाइला टेकेको मान्छे म।कता जाउ,बोलाउने कोही छैन,सुन्ने कोही छैन,छिन-छिनमा रुन्थे,वुबा-आमाको नाम लिएर अलाप गर्थे तर सुन्ने कोही हुन्थेन।

कोही आउथे,सोधपुछ गर्थे,घर कहाँ हो भनेर जान्थे। एकदमै भोक लाग्यो र एक दिन जे त होला भनेर होटलमा छिरे।त्यहाँ मासु र भात खाए,२ दिन त्यहीँ सुते।भएको पैसा होटलमा दिएर सिद्धियो।अब होटल साहुले पैसा भए बस नभए जाउ भन्यो।अनि मेरो सानो फाटेको झोला लिएर निस्किए।

त्यहीँ बसपार्कको गल्लीमा ६, ७ दिन जति सुते।लामखुट्टेले सुत्ने बेलामा निकै गीत गाएर सताउथे तर पनि बाध्यताले सुत्नु पर्ने।बाटोमा फालेको पाउरोटी ,भात खाएर हप्तौं गुजारे।पैसा सबै रित्तिएको थियो।अब घर फर्किने अवस्था थिएन।

होटेलहरुमा सोध्दै गए,बसपार्ककै आँडमा रहेको होटलमा भाडा माझ्ने काम पाए।खान -बस्न हुन्छ ,पैसा हुँदैन भने।मेरो बाध्यता थियो,हुन्छ भनेर काममा लागे।होटल धेरैनै चल्ने,ग्राहकहरु आइरहन्थे।खाने-सुत्नेको त ठेगाननै हुदैन थियो।

२४ घण्टामा १८ घन्टा भाडा माझेरनै समय बिताउथे

काम धेरै,पैसा नदिने।एक दिन साहुलाई मेरो लागि पैसा आवशयक छ दिनुस भने।साहुले पैसा दिने भन्दा पनि तथानाम गाली गरे।मुन्टो निउराएर सुने,कोठामा गए,धरीधरी रोए तर सुन्ने माटोको भित्ता मात्र थियो।काम नगरे खान नपाइने,फेरी भाडा माझ्न थाले।

दिनहरु यसै गर्दै बितेका थिए।एक दिन हाम्रो होटलमा एक जना ग्राहाक आएका थिए।चिया पिउदै मलाई हेरिरहेका थिए।निकै बेर हेरे,पछि मलाई बोलाए।मेरो नाम सोधे उनले,मैले हरी भने।सबै कुरा भनिसकेपछि सायद उनलाई दया लागेछ होला।हाम्रोमा जाउ मात्र भने अरु थप केही भनेनन्।

म पनि झोला बोके ,उनीसँगै गए।गोल्ड स्टार जुताको उधोग रहेछ,त्यसैमा काम गर्न थाले। मेरो भागमा जुतामा तना बान्ने अनि प्याकिङ गर्ने काम पर्यो,त्यहीँ काम गर्न थाले।सुरुमा १२ सयबाट काम सुरु गरेको थिए।पछि बढ्दै ५००० हजार सम्म पुग्यो।

अलिकती पैसा जम्मा भयो,आट र साहास पनि आयो।

त्यहीँ काम गर्ने साथी र म मिलेर सानो रेस्टुरेन्ट खोलौ भनेर सल्लाह गरेउ।बसपार्क छेउमा ठाउँ लिएर चिया,समोसा ,चाउचाउ बेच्ने रेस्टुरेन्ट खोलेउ।रेस्टुरेन्ट चल्दै गयो।साथिले अर्को रेस्टुरेन्ट खोल्छु भनेर छुट्टीयो।मैले एकलै चलाए।आम्दानी राम्रै भयो।

सुनधारामा एउटा गेस्टहाउस खोले

सुरुमा त निकै गाह्रो भयो।तर पछि निकै राम्रो चल्यो।पैसा कमाइ राम्रै भयो।अल्लि पैसा जम्मा भएपछि बसपार्ककै छेउमा अर्को लज खोले।त्यो लज पनि राम्रै चल्यो।२०५५ सालतिर महीनाको झन्डै ६०,६५ हजार होटेलबाट चोखो आम्दानी भयो।बिस्तारै ४ वोटा लज खोल्न पुगे।

सबैको औसत आम्दानी राम्रै भयो।२०५५ सालको अन्तिमतिर काभ्रेकी सीता दाहालसँग प्रेम विवाह भयो।विवाह पश्यात पुरानो वानेश्वरमा एउटा घर किने।श्रीमान-श्रीमती त्यहीँ बस्न थालेउ।त्यहीँ बस्ने क्रममा २ वोटा छोरा भए।उनले बाबुहरु हुर्काउन थालिन् भने म ब्यवसायमा ध्यान दिए।

बाबुहरु जन्मेपछि बाघबजारमा अर्को घर लिए।त्यहाँ भाडामा दिए।बिस्तारै गाडी किने।एभरेस्ट बैंक ,नेपाल बैंक ,एनएमबी बैंक ,ओमकार फाइनान्स लगायतका ठाउँमा राम्रै मूल्य पर्ने शेयर पनि छ।५५,६० जना मानिसले हाम्रा होटल तथा संस्थाहरुमा रोजगार पाएका छन्।जीवनमा दु:ख गरेर दु:ख गरेजस्तो भाको छ।यसैमा खुशी छु म”।

यसरी उनले आफ्नो कुराको बिट मारे।यति धेरै संघर्ष,दुख,पीडाका गाथा उनले सुनाइरहँदा हामी कथा सुन्ने मान्छे पनि टोलाएछौ।उनले सर भनेर बोलाउदा हामी झस्कियौ।दु:खमा संघर्ष गर्न सक्ने मानिसले एक दिन सुख प्राप्त गर्छ नै।

बझाङको पिछडिएको गाउँमा जन्मेको एउटा ठिटोले यति धेरै संघर्षका आयामलाई पन्छाउदै सफलता प्राप्त गर्नु सामान्य बिषय पक्कै हैन।हुन त उनी जस्ता धेरै संघर्ष गर्ने मानिसहरू नभएका पनि होइनन्।हामीले एउटा प्रतिनिधि पात्रको रुपमा हरी विस्टको जीवन कथालाई प्रस्तुत गरेका हौ।

उनी यस समाजका नमूना व्यक्ति हुन् जसले अथाह पीडा,वेदना र संघर्षका तीता ज्वारभाटाहरुलाई पन्छाउदै यति ठूलो सफलता हासिल गरे।आज उनले मात्र प्रगति गरेका छैनन्।बेरोजगार नेपालीहरुलाई रोजगार प्रदान गरेर जीवन धान्ने बाटो पनि दिएका छन्।

नोट :तपाईहरुको जीवनमा घटेका रोचक घटना एवं प्रेणादायी कथाहरु छन् भने हामीलाई सम्झन सक्नुहुनेछ।हामी जस्ताको त्यस्तै प्रकाशित गर्ने छौ।हाम्रो email id-namunanepal17@gmail.com/kalashkharel10@gmail.com मा पठाउन सक्नुहुने छ।पठाउँदा तपाईंको तस्वीर सहित पठाउनु होला।हामी तपाईंको तस्वीर सहितनै प्रकाशित गर्ने छौ।

 

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु