गृहपृष्ठ सामाजिक संजालमा बधाई दिन हतार गर्ने तर आफ्नै चेलीबेटीमाथी अत्याचार- शोषण हुँदा चुइक्क नबोल्ने!
सामाजिक संजालमा बधाई दिन हतार गर्ने तर आफ्नै चेलीबेटीमाथी अत्याचार- शोषण हुँदा चुइक्क नबोल्ने!
बाइडेनको जीतमा चिच्याउने हामी आफ्नै दिदीबहिनी बलात्कृत हुंदा किन मौन ?

सामाजिक संजालमा बधाई दिन आतुर
गत साता सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनमा जो बाइडेनले आवश्यक मत सुरक्षित गरेपछि सामाजिक सञ्जाल उनलाई वधाई र शुभकामना दिन भरियो ।
विदेशमा बस्ने नेपालीमुलका दाजुभाइ दिदीबहिनीहरुले पनि वधाई दिदै नेपालका भ्रष्ट नेताहरुले पनि अब केही सिक्नुपर्ने भन्दै सुझाएको पाइयो।
वास्तवमा सुझाव दिन, आलोचना र प्रशंसा गर्न सार्है सजिलो छ, जति व्यवहारिक कार्यान्वयन गर्न छैन्। ८-१० वर्ष विदेशमा बसेर विदेशकै हावापानीमा घुलमिल भएपछि आफूलाई एकदम सभ्य देशका नागरिक हौं भन्ने धेरैको बुझाइ छ। वास्तवमा यो एउटा भ्रममात्र हो। यो त्यति प्रधान कुरा पनि होइन्, बरु हामीले यहांबाट के सिक्यौं र कति व्यवहारमा उतार्न सक्षम भयौं भन्ने कुरा महत्वपूर्ण हुन्छ।
किनकि एउटा फेसबुके समाचारको भरमा वा २-४ दिनको भ्रमणमा कति राम्रा कुरा सिक्नु भएको रहेछ र सिकाउनु भयो भन्ने त विगतको एनआरएनए केन्द्रीय निर्वाचनमा हाम्रा दाजुभाइहरुले काठमाडौंको हायात होटेलमा देखाएको तान्डवबाट प्रष्ट छ।
विदेशमा बस्ने हामी देश र समाजको परिवर्तनको जिम्मा लिएका परिवर्तनकारी नारा घन्काउंदै हिंड्ने धेरैले देखेको रवैया उपयुक्त थियो त ? यो पनि सोचनीय कुरा हो।
अनि प्रजातान्त्रिक पद्दतिको शुरुवात भन्दै गर्दा नेपालमा पनि बहुदलीय प्रजातन्त्र ‘जनताको शासन जनताद्वारा नै हुनुपर्छ’ भन्दै बहुदल अनि त्यसले पनि भएन भनेर राजसंस्था फालेरै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भएको।
सम्पत्ति जोड्न र निजी स्वार्थमा मात्र केन्द्रित
राजतन्त्रीय व्यवस्थामा एउटा मात्रै राजा हुन्थ्यो। त्यसपछि त्यस गद्दीको उत्तराधिकारी उसैको छोरा अनि नाती आउंछ भन्दै रोल क्रममा हुन्थ्योर पो देशको स्वाभिमान अनि सम्पतिको संरक्षण हुन्थ्यो।
तर, विडम्बना अहिले गणतान्त्रिक व्यवस्थामा जसोतसो गरेर सत्तामा पुग्ने अनि आ-आफना नातागोता, इष्टमित्र भर्ती गर्ने अनि ७ पुस्तालाई पुग्ने सम्पति जोड्नेमात्र चिन्ता देखिन्छ।
अर्कोपटक सत्तामा आउन पाइन्छ कि पाईंदैन अहिले नै मस्ती गरौं, जोडौं भनेर आफ्नो दुनो सोझ्याउन नेताहरु व्यस्त छन्। न त तिनलाई देशको चिन्ता छ, न त जनताको चिन्ता। मात्र आफ्नै र आफ्नाहरुको चिन्ता र चासो छ। जनतालाई खाली सास्ती मात्रै मिलेको छ।
अब प्रसंग अमेरिकी उपराष्ट्रपति निर्वाचित कमलाको
हाम्रो देशमा पनि त दोश्रो राष्ट्रपति विद्यादेवी भण्डारी महिला नै छन्। प्रधान न्यायाधीश श्रीमती सुशिला कार्की, सभामुख श्रीमती अन्सारी घर्ती मगर महिला पाएकै हो, हामीले। तर, विडम्बना अहिले पनि नेपालमा दिनदहाडै कति नाबालिकाहरु सामूहिक बलात्कृत हुन्छन्, कति महिला दाइजोको नाममा आत्महत्या गर्न बाध्य हुन्छन्।
महिला अधिकारकर्मीहरुले यस बारेमा खासै कतै कुरा उठाएको सुन्न, देख्न र पढन पाईंदैन्। बरु उता वधाई र शुभकामना दिन जति समय र मन खर्चिन्छौं त्यति बरु आफूजन्मेको जन्मभूमितिर खर्चौं न।
यो त खाली ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भएन र ?
विश्व अर्थतन्त्रमा यसको असर पर्ला। तर, आम नेपालीको दैनिकीमा खासै केहि असर पर्ने देखिदैंन्। त्यसैले थोरै भएपनि आफ्नो समय छंदा मातृभूमिकै हितका लागि चिन्तन मनन गरौं। आफ्नो माटोको सुगन्ध जति मिठो छ, विदेशी भूमिमा जति नै विकास र विलासिता भएपनि छैन्।