२०८० मंसिर २५ गत सोमवार | December 11, 2023

गृहपृष्ठ कर्मचारीलाई गालीगलौज गर्ने बेलायती गृहमन्त्रीको चौतर्फी विरोध

कर्मचारीलाई गालीगलौज गर्ने बेलायती गृहमन्त्रीको चौतर्फी विरोध

बेलायत सरकारकी गृहमन्त्री प्रीति पटेलले आफू मातहतका कर्मचारीहरुलाई गरेको ‘अपमानजनक’ व्यवहारका कारण यतिबेला बेलायत सरकारमा नै ठूलो हलचल आएको छ।

मन्त्री पटेलमाथि लागेको आरोपबारे छानबिन गरी प्रधानमन्त्री बोरिस जोन्सनलाई बुझाइएको एक प्रतिवेदनले उनको गल्ती ठहर गरेपछि उनलाई मन्त्री पदबाटै हटाउनुपर्ने माग चौतर्फी रुपमा उठेको छ।

मन्त्री पटेलको गल्ती देखाउँदै प्रतिवेदन बुझाइएपछि पनि प्रधानमन्त्री बोरिस जोन्सनले उनको बचाउ गर्दै आएका छन्। प्रधानमन्त्रीले प्रतिवेदनको वेवास्ता गर्दै मन्त्री पटेलको बचाउ गरेकोमा विरोध जनाउँदै छानबिन प्रतिवेदन तयार गर्ने प्रधानमन्त्रीका सल्लाहकारले राजीनामा गरेका छन्।

गृहमन्त्रालय मातहतका होम अफिस, वर्क एण्ड पेन्सन र इन्टरनेसनल डेभलपमेन्टसहितका तीन विभागका कर्मचारीप्रति मन्त्री पटेलको व्यवहारमाथि छानबिन गरिएको थियो।

कर्मचारीलाई ‘बुली’ गरेको, अनावश्यक रुपमा डर देखाएको, गालीगलौज र अपशब्द समेत बोलेको भनी गृहमन्त्रीमाथि लगाइएको आरोप छानबिनले पुष्टि गरेको छ। मन्त्रीसंगको बैठकहरुका क्रममा उनले कयौं कर्मचारीलाई डराएर बोल्न समेत नसक्ने बनाएको जनाइएको छ।

मन्त्री पटेलको अपमानजनक व्यवहारकै कारण देखाउँदै गत मार्च महिनामा होम अफिसका प्रमुख अधिकृतले राजीनामा गरेपछि उनको व्यवहारहरुबारे थुप्रै प्रश्नहरु उठ्न थालेका थिए।

छानबिनबाट समेत आफ्नो कमजोरी पुष्टि भएपछि गृहमन्त्री पटेलले भने माफी मागेकी छन् । कर्मचारीलाई अपमान गर्ने आफ्नो कुनै नियत नरहेको दावी गर्दै उनले अन्जानमा त्यस्तो पर्न गएकोमा आफू क्षमाप्रार्थी रहेको बताएकी छन्।

शुरुदेखि नै मन्त्री पटेलको समर्थन गर्दै आएका प्रधानमन्त्री जोन्सनले अहिले विपक्षी पार्टी, कर्मचारी युनियन र आफ्नै पार्टीका नेताहरु समेतबाट दबाब झेलिरहेका छन्। कर्मचारीप्रति पटेलको व्यवहार मन्त्रीको रुपमा हुनुपर्ने मर्यादित र शोभनीय नरहेको भन्दै उनलाई हटाउनुपर्ने माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु