२०७८ साउन १३ गते बुधवार | July 28, 2021

Bharat Poudel

गृहपृष्ठ देशको आर्थिक बिकासमा निजि क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छौ:अर्थमन्त्री पौडेल

देशको आर्थिक बिकासमा निजि क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छौ:अर्थमन्त्री पौडेल

काठमाडौं-अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार र निजी क्षेत्र मिलेर कोभिड -१९ बाट सिर्जित आर्थिक चुनौती सामना गर्नुपर्ने बताएका छन्। लगानी वृद्धि, रोजगारी सिर्जना र गरिबी न्यूनीकरणका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्नेमा उनले जोड दिए।

‘उत्पादन र रोजगारीमा केन्द्रित भएर सबल अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्नेछ,’ उनले भने, ‘निजी क्षेत्रका सबैसँग म सहकार्य गरेर अघि बढ्नेछु।’

नेपाल आर्थिक पत्रकार समाजको वार्षिकोत्सव र वार्षिक साधारणसभामा मन्त्री पौडेलले बजेट र मौद्रिक नीतिमार्फत् सरकारले दिएका सुविधा कार्यान्वयनका लागि निजी क्षेत्रको सुझाव ग्रहण गरेर अघि बढ्ने बताए। ‘सरकारको सामर्थ्य हामीले हेर्नुपर्छ, त्यसभित्र रहेर हामी अधिकतम सुविधा दिएर निजी क्षेत्रको मनोबल बढाउने काममा म लागिपर्नेछु,’ उनले भने।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रले अहिलेसम्मकै ठूलो संकट परेको भन्दै पर्यटन, सेवा क्षेत्र र साना व्यवसाय सबैभन्दा प्रभावित परेको बताए। उनले आर्थिक वृद्धि शून्यजस्तै हुन लागेको भन्दै सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्नेमा जोड दिए।

‘हामी दोहोरो अंकको आर्थिक वृद्धि, वार्षिक ४ लाख रोजगारी सिर्जना गर्दै गरिबी निवारण गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान गर्न चाहन्छौँ,’ उनले भने, ‘बजेट र मौद्रिक नीतिले दिएका सुविधा पनि पूर्णरूपमा कार्यान्वयन हुन सकेका छैनन्, हामीले त्यसतर्फ ध्यान दिनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु