गृहपृष्ठ कोभिडको समयमा माग ह्वात्तै बढ्यो बेसारदेखि अलैंचीसम्म
कोभिडको समयमा माग ह्वात्तै बढ्यो बेसारदेखि अलैंचीसम्म

हजारौँ वर्ष अगाडिदेखि नै एसिया,उत्तरपूर्वी अफ्रिका र युरोपमा दालचिनी, अदुवा, मरिच, बेसारलगायत मसलाहरुको ठूलो व्यापार चल्दै आएको छ।
तर, विश्वव्यापी महामारीमा यो प्राचीन व्यवसायसमेत अन्त्यको नजिक पुग्न लागेको थियो। पूरै दुनियाँ लकडाउनमा रहँदा यी मरमसालाहरु उत्पादन गर्ने, जाँच गर्ने,ओसार्ने अनि प्रोसेस र प्याक गर्ने जस्ता जटिल नेटवर्कहरु सञ्चालनमा नआउँदा एउटा परम्परा नै गुम्ने जोखिम बढेको थियो।
कोरोना फैलिरहेका बेला यसको खेती कसरी गर्ने रु कसले बिरुवाहरु प्रोसेस गर्ने र बिक्रीका लागि बाहिर केबाट कसरी पठाउने रु र, ती उत्पादनको सुरक्षा कसले जाँच गर्ने भनेर किसानहरु गम्भीर चिन्तामा थिए। तर, अर्कोतर्फ यही लकडाउन र महामारीका बेलामा केही मसलाहरुको माग आकाशिएको पनि हामीले देख्यौँ। विशेषगरी स्वास्थ्यका लागि लाभदायक मानिने बेसार, अदुवा लगायत खाद्य वस्तु विगतमा भन्दा बढी सेवन गर्न थालिएको छ।
मसालाहरुको सबैभन्दा बढी उपभोग, उत्पादन र निर्यात हुने देश, भारतमा लकडाउनका बेला आफ्नै देशका लागि पर्याप्त उत्पादन गर्नमा कठिनाइ भएको थियो। यस्तोमा भारत, भियतनामलगायत केही मुख्य मसला उत्पादक देशहरुले अस्थाइ रुपमा यसको विदेशी निर्यातमा रोकसमेत लगाएका थिए।
त्यसैले स्थानीय कारोबार बढ्न पुग्दा अलैँची, मरिचलगायत केही मसालाहरुको दाम देशभित्र ५० प्रतिशतसम्मले घट्न पुगेको हो।तर, यो अवस्था धेरै समयसम्म भने रहन सकेन र केही हप्तामै अन्तर्राष्ट्रिय बजारमा पनि मसालाको कारोबारमा उच्च वृद्धि भयो। मसालाहरुलाई स्वादसँगै बास्नाका लागि पनि महत्वपूर्ण मानिन्छ।
यसरी भारतमा जुनमा मात्र देशमा उत्पादित मसालाको निर्यात बढेर ६ करोड ७० लाख डलर पुगेको हो जुन अघिल्लो वर्षको तुलनामा झन्डै दुई गुणा वृद्धि भएको ‘असोसिएटेड च्याम्बर्स अफ कमर्स इन्डिया’ले जनाएको छ। तर, यो खबर भारतका दशौँ हजार सानो स्तरका मसाला खेती गर्ने किसानहरुका लागि खुसीको कुरा हुनुपर्नेमा अर्थहिन बन्न पुगेको हो। किनकि माग उच्च भएपनि त्यसले ठूलो मूल्यवृद्धि गराउन नसकेको केरेलास्थित मसाला उत्पादक संघका संस्थापक टमी म्याथ्यु बताउँछन्।
भारतमा यस किसिमको मसाला उत्पादन एकदम सानो स्तरमा पारिवारिक खेती गर्ने किसानहरुले गर्दै आएका छन्, जसमा विभिन्न उद्योगले देशभरका दशौँ हजार किसानबाट तिनको पदार्थ किनेर मात्र घरेलु र बाहिरी माग पूरा गर्न सक्छ। प्रायः किसानहरुले आफ्नो उत्पादन नजिकैका लोकल प्रोसेसिङ उद्योगमा लैजाने गरेका छन्।
जहाँ तिनको गुणस्तर परीक्षण हुन्छ र त्यहीँबाट प्याक गरेर बिक्रीका लागि विश्वव्यापी वितरण गरिन्छ।
तर,महामारीले यो प्रक्रियामा ठूलो अवरोध ल्यायो। जहाँ लकडाउनका कारण सवारी साधनको अभावमा उत्पादनहरुको ओसारपसार गम्भीर समस्या बनेको थियो। उद्योगमा ल्याइने सबै कच्चा पदार्थहरुको गुणस्तर जाँच, तिनमा के किटनाशक प्रयोग भएको छ लगायत शत् प्रतिशत सबै पक्षमा उचित भएपछि मात्र प्याकेजलाई विक्रीका लागि ‘फाइनल’ गरिन्छ।
विशेषगरी महामारीको समयमा गुणस्तर परीक्षण अधिक महत्वपूर्ण भएको बताइएको छ। कारण बेसारलगायत केही उत्पादनको माग वृद्धि हुँदा तिनमा मिसावट हुने क्रम पनि बढेको हो।
विगतमा यस्ता परीक्षण गर्दा स्याम्पलहरु ल्याबमा टेस्ट गर्नु पर्दथ्यो जसको अर्थ उत्पादन अर्को देशमा पुगिसक्दा मात्र ल्याबको नतिजा आउँथ्यो। तर, अहिले ‘फिङ्गरप्रिन्टिङ प्रविधि’ मार्फत भर्खरै नतिजा डेलिभर गर्न सकिने भएको छ। महामारी अब अन्त्य हुन सक्ने संकेत देखिरहे पनि मसालाहरुको माग वृद्धि हुने क्रम जारी छ। तर, त्यसको लाभ किसानहरुमा देखिन चाहिँ अझै समय लाग्ने बताइएको छ।
तापनि नयाँ प्रविधिमार्फत विश्वसनीय उत्पादक र व्यवसायीहरुलाई केही न केही रुपमा अवश्य फाइदा पुग्ने अपेक्षा गरिएको छ।यसरी महामारीका बेलामा पूरै विश्व आर्थिक संकटबाट गुज्रिरहँदा यो प्राचीन व्यवसाय पनि नराम्ररी प्रभावित हुने जोखिममा थियो। तर, परम्परागत मूल्यमान्यता र संस्कृतिले यस्तो अफ्ठ्यारो समयमा पनि यसलाई जिवित राखेको छ।