२०७८ वैशाख ७ गते मंगलवार | April 20, 2021

Bharat Poudel

गृहपृष्ठ अपांग व्यक्तीहरुका लागि बेलायतका गुल्मेलीहरुको सक्रियता,जुटाए ४ लाख

अपांग व्यक्तीहरुका लागि बेलायतका गुल्मेलीहरुको सक्रियता,जुटाए ४ लाख

विगत एक दशकदेखि गुल्मी जिल्ला समाज यूकेले विश्व अपांगता दिवसको अवसर पारेर वर्षेनी गर्दै आएको च्यारिटी कार्यक्रमले महामारीकैबीच पनि निरन्तरता पाएको छ।

आइतबार भर्चुअल रुपमा गरिएको दशौं अपांगता दिवस च्यारिटी कार्यक्रमबाट २७ सय पाउण्ड (४ लाख रुपिया बढी) को कोष जुटिसकेको कोषाध्यक्ष वरुण भण्डारीले बताए।

संकलित कोषबाट केही रकम विगतमा जस्तै तम्घासस्थित आशा अपांग केन्द्रलाई प्रदान गरिने र बाँकी रकम जिल्लामै अपांगता भएकाहरुको सहयोगमा खर्चिने समाजको योजना छ।

६ जनासम्मको जमघट गर्न पाउने छुटको उपयोग गर्दै अध्यक्ष टोप पल्ली, महासचिव बीर बलाल, संस्थापक अध्यक्ष ओमप्रसाद थापा र सल्लाहकार क्याप्टेन ताम ढेगा लगायत अल्डरसटमा भेला भएका थिए भने कार्यक्रमका अतिथि एवम् सहभागी अरु सबै भर्चुअल माध्यमबाट जोडिएका थिए।

कार्यक्रममा प्रमुख अतिथि लण्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले महामारीकै बेला पनि अपांगता भएकाहरुको सहयोगका लागि समाजले देखाएको अग्रसरता प्रशंसनीय रहेको धारणा व्यक्त गरिन्। समुदायको हितमा केन्द्रित कार्यक्रमहरुका लागि दूतावासको सहयोग र सहकार्य सधैं रहने उनले बताइन्।

बेलायतको नेपाली समुदायमा पहिलोपटक आफ्नै गृहजिल्लावासीको च्यारिटीमा सहभागी हुने अवसर पाउँदा गौरवान्वित बनेको उनको भनाइ थियो।

कार्यक्रममा विशेष अतिथिका रुपमा सहभागी ब्लाइन्ड रक्स नेपालकी सृष्टि केसी, आशा अपांग केन्द्रकी सञ्चालिका गंगा रायमाझी र किर्तिमानी आरोही हरि बुढाले शुभकामना मन्तव्य दिंदै परोपकारका क्षेत्रमा गुल्मी जिल्ला समाजले गर्दै आएका कार्य समाज र देशका लागि समेत अनुकरणीय रहेको बताए।

त्यसअवसरमा समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा, पूर्व अध्यक्षहरु अर्जुन गौतम र राम गलामी, सल्लाहकार केशव भण्डारी र सल्लाहकार एवम् एनआरएनएनए यूके उपाध्यक्ष प्रेमगाहा मगरले शुभकामना मन्तव्य राखेका थिए। उपाध्यक्ष तारानाथ भण्डारीले स्वागत मन्तव्य दिए।

कार्यक्रममा आशा अपांग केन्द्रकी सञ्चालिका रायमाझीले केन्द्रको हिसाबकिताब प्रस्तुत गरेकी थिइन्। समाजकी सचिव मञ्जु भण्डारी, एलिशा लामा राई लगायतले अपांगता दिवस विशेष सिर्जना वाचन गरेर सुनाएका थिए भने बेनिका पुन काउछाले गीत प्रस्तुत गरिन्।

पशुपतिनाथ मन्दिर लण्डनका मूलगुरु निलहरि घिमिरेले गायत्री मन्त्रोच्चारण गरी कार्यक्रम शुभारम्भ गरिएको थियो। समाजले अपांगता दिवसका अवसरमा च्यारिटी कार्यक्रम गर्न शुरु गरेको दश वर्ष पुगेको खुशीयालीमा अध्यक्ष टोप पल्ली, संस्थापक अध्यक्ष ओमप्रसाद थापा र सल्लाहकार क्याप्टेन ताम ढेगाले संयुक्त रुपमा पानसमा दीप बालेर केक काटेका थिए।

समाजका अध्यक्ष टोप पल्लीले महामारीको असहज अवस्थामा पनि समाजको च्यारिटी कार्यक्रममा सहभागिता जनाउने सबै अतिथि, समाजका अग्रज एवम् सहयोगीहरुमा आभार प्रकट गरे। कार्यक्रम सफल पार्न दिनरात खटिने कार्यसमितिका पदाधिकारी, सल्लाहकार एवम् सहयोगदाता सबैलाई उनले संस्थाकोतर्फबाट धन्यवाद ज्ञापन गरे।

कार्यक्रम सञ्चालन समाजका महासचिव बीर बलालले गरेका थिए। कार्यक्रममा समाजका अग्रज, सल्लाहकार, कार्यसमितिका पदाधिकारी लगायतको पनि उल्लेख्य सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु