गृहपृष्ठ अस्ट्रेलियामा मार्च १७ तारिख सम्म हवाई यात्रामा प्रतिबन्ध,सबैभन्दा बढी विदेशी प्रभावित
अस्ट्रेलियामा मार्च १७ तारिख सम्म हवाई यात्रामा प्रतिबन्ध,सबैभन्दा बढी विदेशी प्रभावित

कोरोना भाइरसको विश्वव्यापी संक्रमण बढिरहेको बेला केही सुरक्षित रहेको अष्ट्रेलियाले आफ्ना नागरिकलाई विदेश जान र विदेशी नागरिकहरूलाई स्वदेश फर्कन लगाउँदै आएको यात्रा प्रतिबन्ध आगामी मार्च १७ तारिखसम्म बढाएको छ।
केन्द्रीय स्थास्थ्य मन्त्री जर्ज हन्टले वायोसेक्युरीटी इमेरजेन्सी अवधिलाई थप तीन महिनासम्म बढाउने निर्णय भएको जानकारी दिए।
अस्ट्रेलिया सरकारद्धारा कोभिड रोकथाम र नियन्त्रणका लागि गठित हेल्थ प्रोटेक्सन प्रिन्सिपल कमिटीले अक्सफोर्डको कोरोना भाइरस खोप फाइजर चलनमा आए पनि अझै यसको चुनौती कायमै रहेकाले यात्रा प्रतिबन्ध बढाउन आग्रह गरेको थियो।
अस्ट्रेलियन सरकारले यसअघि घोषणा गरेको यात्रा प्रतिबन्धको समय डिसेम्बर १७ मा सकिँदै थियो।
सो प्रतिबन्ध अन्तर्गत ठूला पानी जहाजको अस्ट्रेलिया आवत-जावत पनि अरू तीन महिनाका लागि बन्द हुने भएको छ। सरकारको पछिल्लो निर्णयबाट क्रुज यात्राका लागि तयार भएर बसेका कैयन पर्यटक यसबाट प्रभावित भएका छन्।
वायो सेक्युरीटी इमरजेन्सी कानुन अन्तर्गत सरकारले यात्रा प्रतिबन्ध लम्ब्याएको हो। प्रतिबन्ध तीन महिना थपिएसँगै अब मार्च १७ अघि कुनै पनि अन्तर्राष्ट्रिय यात्री आउने या अष्ट्रेलियन नागरिकहरू कानुनले छुट दिएको बाहेक विदेश जाने कार्य रोकिने भएको छ।
संघीय सरकारको यो प्रस्तावलाई राष्ट्रिय सुरक्षा कमिटीले अनुमोदन गरिसकेको छ भने गभर्नर जनरलसमक्ष बिहीबार पेश गरिनेछ। त्यहाँबाट स्वीकृत भएपछि यो कानुनका रुपमा लागू हुनेछ।
कार्यवाहक चिफ मेडिकल अफिसर प्रोफेसर पल केलीले अस्ट्रेलियनको स्वास्थ्यका लागि कोभिड फैलिन नदिन यो महत्वपूर्ण निर्णय भएको बताएका छन्। यो निर्णय भएसँगै १७ मार्च २०२१ अगाडि कुनै विदेशी यात्री अष्ट्रेलिया आउन पाउने छैनन्।
यद्यपि, विदेशमा रोकिएका अष्ट्रेलियन नागरिकलाई विभिन्न राज्यको कोटा अन्तर्गत स्वदेश ल्याइनेछ। केही विद्यार्थीलाई पाइलट प्रोजेक्ट अन्तर्गत आगमनको स्वीकृति दिइने भएको छ। यसका लागि सरकारी निकायबाट पूर्वस्वीकृति अनिवार्य लिनुपर्ने हुन्छ।
विगत दुई दिनदेखि अस्ट्रेलियामा कोभिडको केस शून्य छ र यसलाई फैलन नदिन सरकार लागिपरेको हो। यो निर्णयले भिसा लागेर बसेका कैयौं नेपाली विद्यार्थीलगायत अन्य भिसामा विदेशमा रहेका प्रत्यक्ष प्रभावित हुने भएका छन्।