गृहपृष्ठ कोरोना खोप फाइजर भ्याक्सिन निकै प्रभावकारी भएको दाबी
कोरोना खोप फाइजर भ्याक्सिन निकै प्रभावकारी भएको दाबी

फाइजर भ्याक्सिनले मानव शरीरमा पहिलो डोज दिएको दश दिनभित्र बलियो सुरक्षा दिएको अमेरिकी फुड तथा ड्रग एड्मिनिस्ट्रेसन (एफडिए)ले जनाएको छ। मंगलबार एफडिएले विज्ञप्ति जारी गर्दै फाइजरको पहिलो डोजले नै शरीरमा कोरोना भाइरसविरुद्ध राम्रो प्रतिक्रिया जनाएको उल्लेख गरेको हो।
नोभेम्बरमा फाइजरले तीन हप्ताको अन्तरालमा दिइने दुई डोजले भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी गरेको थियो। खोपको सुरुवाती परीक्षणमा गरिएको विश्लेषणअनुसार पहिलो डोजले नै राम्रो नतिजा देखाएको छ। फाइजर खोपको अध्ययनका क्रममा एक सयभन्दा बढी पेजको डाटा विश्लेषण सार्वजनिक गरेको हो।
यसबाहेक ट्रायल परीक्षणको क्रममा स्वयंसेवकको उमेर, फरक भूगोल र स्वास्थ्य अवस्थामा राम्रो प्रभाव छाडेको छ। परीक्षणको समयमा केहीमा शरीर दुखाइ र सामान्य ज्वरो देखिए पनि खासै साइड इफेक्ट देखिएको पाइएन। बिहीबार एफडिएको भ्याक्सिन सल्लाहकारको प्यानलले फाइजर खोपको प्रमाणीकरण सिफारिस गर्ने कि नगर्ने भन्ने निर्णय गर्नेछ।
फाइजर बायोनटेकले गत जुलाईदेखि अमेरिका, अर्जेन्टिना र ब्राजिलमा करिब ४४ हजार सहभागीमा तेस्रो चरणको ट्रायल परीक्षण गरेको थियो। जसमध्ये आधामा वास्तविक खोप र आधा सहभागीमा प्लेसबोसट दिइएको थियो। खोप दिइएका व्यक्तिमा पहिलो १० दिनमा स्वास्थ्य अवस्थाबारे ब्रिफिङ रिपोर्ट गरिएको थियो।
खोपको प्रभाव यसको प्रयोग गरेका व्यक्तिमा मात्र नभई उच्च भिडभाड रहेका अस्पतालमा पनि फाइदा पुग्ने बताइएको छ। अस्पतालहरूमा स्वास्थ्यकर्मी र कर्मचारीमा भ्याक्सिन दिइने र परीक्षणका क्रममा पनि हजाराैँ व्यक्तिमा खोप दिइएकाले संक्रमणको जोखिम घट्दै जाने आशा गरिएको छ।
तर, पहिलो डोजले प्रारम्भिक चरणमा संरक्षण दिए पनि लामो समयका लागि भने प्रभावकारी हुने नहुने विषय यकिन नभएको विज्ञहरूको भनाइ छ। पहिलो डोजले कति समयसम्म भाइरसलाई अवरोध गरेर राख्न सक्छ वा शरीरमा एन्टिबडी निर्माण गर्छ भन्ने विषय तथ्य छैन। पूर्ण सुरक्षाका लागि दोस्रो अर्थात् पूर्ण खोप आवश्यक हुन सक्छ।
पछिल्ला केही अध्ययनअनुसार फाइजरको दोस्रो डोजले प्रतिरक्षा प्रणालीलाई वृद्धि गर्ने र दीर्घकालीन रूपमा सुरक्षा प्रदान गर्छ। सामान्य अन्य भ्याक्सिन हेर्दा पनि दोस्रो डोज पहिलोको तुलनामा निकै प्रभावकारी मानिएको छ। फाइजर खोप क्लिनिकल रिसर्च एन्ड डेभलपमेन्टका प्रमुख डा. विलियम सी ग्रुबरका अनुसार खोपको पहिलो डोज कोरोना भाइरसविरुद्ध ५२ प्रतिशत प्रभावकारी देखिएको छ। दोस्रो डोजको प्रयोगपछि मात्र शरीरमा ९५ प्रतिशत प्रभावकारी देखिएको हो। शरीरमा पर्याप्त एन्टिबडी उत्पादनका लागि दुइटै डोज अत्यावश्यक हुन्छन्।
केही विज्ञले भ्याक्सिन केही व्यक्तिमा मात्र प्रभावकारी देखिनेमा शंका व्यक्त गरेका छन्। तर, अहिलेसम्म गरिएका तथ्यांकको विश्लेषण गर्दा महिला, पुरुष र परीक्षण गरिएका सबै उमेर समूहमा खोप उत्तिकै प्रभावकारी देखिएको छ। योसँगै संक्रमणको उच्च जोखिममा रहेका व्यक्तिमा पनि खोपको प्रभावकारिता देखिएको फाइजरले जनाएको छ।