२०७८ वैशाख ८ गते बुधवार | April 21, 2021

Bharat Poudel

गृहपृष्ठ केजिन राई पत्रकार महासंघ युरोपमा जुझारु व्यक्तित्व, अपरिहार्य नेतृत्व

केजिन राई पत्रकार महासंघ युरोपमा जुझारु व्यक्तित्व, अपरिहार्य नेतृत्व

 

 झन्डै दुई दसक भन्दा बढी समयदेखि युरोपलाई कर्मथलो बनाएका केजीन राई बहुआयामिक व्यक्तित्व हुन्। पत्रकार, साहित्य सर्जक, सामाजिक अभियान्ता, सक्रिय र जुझारु नेतृत्वकर्ताको रूपमा पनि उनी परिचित र स्थापित छन्।

युरोपमा राईको अगुवाइमा गोलबन्द पत्रकार 

युरोपकै राजधानी मानिएको बेल्जियमको ब्रसेल्समा सपरिवार बस्दै आएका राई अहिले नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष छन्। राई नेतृत्वको एफएनजे युरोपले अहिले खेलेको भूमिका,देखाएको सक्रियता, काम र गतिविधि युरोप लगायत समग्र सामाजिक र पत्रकारिता जगतमा चर्चाको शिखरमा छ।

महासंघ सँगै अध्यक्ष राईको निरन्तर सक्रिय नेतृत्व र उदारणीय कार्यको पनि चर्चा भएको छ। उनको नेतृत्वमा युरोपभरिका सम्पुर्ण सक्रिय पत्रकारहरुलाइ गोलबन्द गर्दै पत्रकारहरुको हकहित संरक्षणका साथै अनेकौं सामाजिक कार्यहरु भएका छन् र भइरहेका छन्।

राईलाई निस्तेज बनाउन खोज्ने आफैं पाखा लागे 

राईको यही कुशल र सफल नेतृत्व देख्न नसकेर युरोपमै जल्नेहरु पनि छन्। आफू कहिल्यै केही नगर्ने, गनगन र किचकिच मात्र गर्ने झिंगाको जत्रो छाति भएका युरोप शाखाकै केही पूर्व पदाधिकारी भनिने केही धमिराहरुले राइलाइ निस्तेज पार्न रोइलो र निलम्बनको नौटंकी सम्म गर्न भ्याए।

तर समिति भित्र र बाहिर पनि दुईतिहाई साथीहरूको साथ र समर्थन पाएका राई झन् ससक्त भएर निस्किए र अन्तत: राईसँग पौंठेजोरी खेल्ने आफैं किनारा लागे र युरोप शाखाबाट सधैंलाई विदा भए।

राईको कार्यकाल र नेतृत्व यसकारण सबल तारिफयोग्य 

उनको वर्तमान कार्यकाल ऐतिहासिक, सबल र तारीफयोग्य छ। एकबर्ष भन्दा बढी समयदेखि कोरोना कहरले विश्व आक्रान्त छ। त्यसमा पनि युरोप एकदमै बढी प्रभावित क्षेत्र हो। इटाली, स्पेन,बेल्जियम , पोर्चुगल लगायत देशहरूमा कोभिड -१९ का कारण थुप्रै मानिसहरूको ज्यान गयो।

अझै पनि युरोप कोरोनाको दोश्रो लहर चलेको छ र केही देशहरूमा पुनः लकडाउन लगाइएको छ।यस्तो विषम परिस्थितिमा पनि युरोपका विभिन्न देशमा रहेका आम नेपाली समुदायहरुको यथार्थ वस्तुस्थिति, समस्या उजागर र समाधान लगायत बिषयमा निरन्तर युरोप शाखाले अन्तरक्रिया मार्फत जानकारी दिइरहेको छ।

४३ औं अंकसम्मको शृङ्खलाबद्ध कार्यक्रममा ,विभिन्न देश, समाज, संस्थाका प्रमुख,प्रतिनिधि एवं उत्साहजनक नेपाली समुदायको सहभागीताले शाखाको गरिमालाई गर्व गर्न लायक ठाउँमा पुर्याएको छ।

युरोप शाखाको तर्फबाट पहिलोपटक युरोपमा नेपाली पत्रकारीता सम्बन्धि स्मारीका प्रकाशन भयो।स्मारीका प्रकाशनको बिषय सामान्य थिएन।प्रकाशनका निम्ति लाग्ने आर्थिक भार,युरोपमा रहेका पत्रकारहरूको व्यबसायिकता ,समग्र नेपाली समुदायको गतिविधि र पत्रकारीताको इतिहासलाई समेट्नु ख्यालठट्टा थिएन।

तर त्यो सम्भव भयो। राईको लगनशीलता,अथक मेहनत र निरन्तर लगावका कारण स्मारिका प्रकाशन भयो। अरु धेरै अनगिन्ती प्रशंसनिय कार्य भएका छन्, जुन एकैपटक सबै समेट्न नसकिएला।

नेतृत्वलाई असफल पार्न खोज्नेको रोइलो,भए विदाइ 

तर यहाँ विडम्बना के छ भने नेतृत्वले सफल र उदारहणिय गर्दा पनि बारम्बार बिरोध र अबरोध मात्र भैरहेको छ।विरोधका लागि विरोध, हरेक समय खुट्टा तानेर असफल बनाउने प्रयास किन भैरहेको छ? यहाँनीर गम्भीर प्रश्न खडा भएको छ।

राई सफल हुनु भनेको सिंगो युरोप शाखा सफल हुनु होइन! युरोपमा रहेका तमाम पत्रकारहरूको शिर ठाडो हुनु होइन! नेतृत्वसँग हरबखत पौठेजोरी खेलेर आखिर फाइदा कसलाई त?

दृढतापूर्वक अघि बढेको नेतृत्वलाई खसाल्ने सपना बुन्नु केवल भ्रम मात्र 

सामाजिक संजालमा राईको फोटो हालेर ,गालीबेइजेती गरेर,मिडियामा भएभरको आरोप लगाएर व्यक्तीको चरीत्र हत्या गर्दैमा सफलताको शिखरमा लम्किएको योद्धालाई खसाल्न सकिन्छ कि भन्नु केवल भ्रम मात्र हो।

नेतृत्वलाई खबरदारी गर्न आन्तरिक फोरम ,बैठक र अन्तरसंवाद हुन्छन्।चित्त नबुझेका कुरा बैठकमा छाती फुलाएर,टेबुल ठोकेर राख्न पाइन्छ। धित नमरुन्जेल असन्तुष्टि पोख्न पाइन्छ।तर अपसोच सामाजिक संजालमा तथानाम गाली गरेर,रोइलो मच्याएर नेतृत्वलाई खुइलाउने र दुलाभित्र पस्ने जुन अवान्छित कार्य भैरहेको छ।यो नै सबैभन्दा लज्जास्पद र निन्दनीय छ।

यति भन्दै गर्दा म माथी राईको अन्धभक्त भएको आरोप लाग्न सक्छ।कतिपय अवस्थामा आरोप लगाइएको पनि छ।नेतृत्वले गरेका असल र उदारणिय कार्यको तारिफ गर्दा चार बित्ता उफ्रिएर विरोध गर्नुको कुनै तुक र अर्थ छैन।

हाम्रो नेपाली समाजको संस्कारनै यस्तै परिपाटीबाट आएको छ।व्यक्तीका अगाडि कहिल्यै प्रशंसा गर्न नजान्ने ,सकभर खुइलाउने,असफल बनाउने,मजाकको पात्र बनाउने,अध्यारोमा बसेर जाल बुन्ने बाहेक अरु बिषयमा चिन्ता र चासो रहदैन।

राईमाथिको प्रहार आखिर किन ? तर पहाडसंग कुइनो ठोक्काउनु जस्तो मात्र हो 

विरोध गरेर नेतृत्व लिन वा उछितो काटेर मरमसला भर्न मात्र ! गालीबेइज्जती गरेर नेतृत्व असफल बनाउने भन्दा सकारात्मक खबरदारी गरौं।कमिकमजोरी सबैका हुन्छन्।राईका पनि केही कमजोरी अवश्य होलान्।

उनका कमजोरीलाई पनि आन्तरिक बैठकको खबरदारीबाट सच्चाउन सकिन्छ।मानिस हुन कुनै अलग पृथ्वीबाट आएका नेतृत्व होइनन्। युरोप प्रवासको नेपाली समाजमा एक साहासी र आट भएका व्यक्ती हुन्।

संस्था स्वतन्त्र हुनुपर्छ भनेर लान्छना लगाउनेहरु नै राजनैतिक दलको पछुवा 

पत्रकार महासंघ स्वतन्त्र व्यक्ती हुनु पर्दछ भनेर माग र रोइलो गर्नेहरु सबैभन्दा बढी आफै राजनितीक पार्टीको वकालत गरिरहेका हुन्छन्।भित्रभित्रै राजनितिक पार्टीको बार्गेनिङ गर्ने, पदका खातिर पावर सेन्टरमा धाउने तिनै व्यक्ती आक्षेप र आरोप लगाएर पानीमाथीको ओभाने बन्न खोज्नु आफैमा दुर्भाग्यपूर्ण छ।

हो राजनीतिक विचारधारा जे सुकै भएपनि सस्थाको नेतृत्वमा पुगेपछी निस्वार्थ र पुर्बाग्रह रहित काम गर्नु पर्दछ।यो बिषयमा कुनै दुई मत नै छैन।हालसालै विरोधको मसला बनाइएको छ: एउटा व्यक्ती दुईवटा सस्थाको नेतृत्वमा किन? व्यक्तीको आवश्यकता र समयको मागको कारणले भएको हो।

राईको नेतृत्व अझै अपरिहार्य छ र निरन्तरता दिनु पर्छ 

योग्यता र कार्यकुशलताका कारण उनी नेतृत्वमा दर्ज भएका हुन्।कुनै अमुख व्यक्तीको निगाह र बक्सिसमा उनी त्यहाँ पुगेका होइनन्।समय र परिस्थितिको आवश्यकताले उहीँ व्यक्ती ३,४ पटक सम्म दोहोरीन सक्छ।यो अनौठो र अचम्म मान्नु पर्ने बिषयनै छैन।

संसारमा यस्ता धेरै परिक्षण भैसकेका छन्।विकास र समृद्धिको लागि कुनै एक व्यक्तीको भूमिका निर्णायक र अर्थपूर्ण हुन्छ।

पत्रकार महासंघ युरोप शाखाको लागि अहिले योग्यता, साहसी ,कार्यकुशलता र दम भएका व्यक्ती हुन् राई। युरोपमा उनको नेतृत्वदायी भूमिका अझै केही बर्षसम्म अपरिहार्य छ र निरन्तरता दिनु आवश्यकता छ।

तथ्यहीन आरोपको भरमा नेतृत्व डगमगाउने होइन 

तथानाम आरोप लगाएको भरमा,बिना प्रमाण र तथ्यहिन आधारमा लगाइएका असन्तुष्टिको भरमा नेतृत्व डगमगाउने होईन।तथ्यहिन आरोपलाई चिरफार गर्दै सशक्त ,बलियो र मजभुत भएर अगाडि बढ्ने हो।हजारौं सुन्दर फुलका बीचमा कहिलेकाहीँ एक आध फुल ओइलिएर आफै झर्छन।यहाँ तुक बिना विरोध गर्नेहरु पनि एक दिन आफै ओइलिएर हराउने छन्।

एकवद्ध हौं, नेतृत्वलाई सफल बनाऔं 

अन्त्यमा, सकारात्मक सोच साथ एकवद्ध भएर नेतृत्वलाइ सफल बनाउनु हामी सबैको कर्तव्य हो, नेतृत्वलाई सफल र उदारहणीय बनाउनेतर्फ लागौं। कुनै दिन आफु पनि नेतृत्वमा जाने बेला आउँछ। त्यतिबेला अर्कोले बिनाआधार आरोप लगाउदा मनन् होला।

अहिलेत विरोध गर्दा,मजाक बनाउँदा रंगमन्च भएको छ।घुम्दैफिर्दै आफैले थापेको जालोमा आफै नफसिएला भन्न सकिन्न ।विरोधका लागि मात्र विरोध नगरौ,वातावरण सहज र अनुकुल वनाउनेतर्फ लागौ।यसैमा सबैको भलो हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु