२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ १४ गजलकारका १४ उत्कृष्ट गजल

१४ गजलकारका १४ उत्कृष्ट गजल

गजल
बहर- हजज अखरब अबतर मुसद्दत  डा.घनश्याम  परिश्रमी 

सुख दिन्न कतै मनको रिसले
डसि राख्छ सधैं यसको विषले

जहिल्यै तलकाे तल नै छन् उनी
म त माथि चढेँ अति काेसिसले

शुभभाव फुलाेस् मनभित्र सधैं
नगरूँ कहिल्यै छल साजिसले

कति छन् कति पीडित आत्मा यहाँ
तिनको दुख बुझ्नु छ मानिसले

किन काम भनेपछि दिक्क हुँदै
म त सक्दिनँ भन्दछ खप्पिसले

गजल
बहर- हजज अखरब अबतर मुसद्दत
कलानिधि दाहाल

तन ह्वैन ममा मन हुन्छ सदा
मन मानिस हो मन हुन्छ सदा!

जग यो छ भनी मन ठान्छ मीठो
नमिठो र मीठो मन चुन्छ सखा!

असरल्ल हिडूँ म कता कसरी
मन शीघ्र उठी सब चुम्छ सदा!

भवसागर यो गहिरो अति नै
गतिगम्य बनी मन छुन्छ सदा!

बलदुर्बल को?सब छान्न सकी
मनज्यान दिई सब सुन्छ सदा!

तनराग छ के?र उछाल छ के
सब यी जगका मन गुन्छ सदा!

म गरूँ छ र के?नगरूँ छ र के
सब छान्न सिपालु र घुम्छ सदा!

गजल
बहर- हजज अखरब अबतर मुसद्दत                                        स्पन्दन बिनोद

घर बन्छ कहाँ घर साजिसले
सपना सब हुन्छ धुलो रिसले

कमजोर हुँदैन नशा जितको
दिल बन्दछ मादक कोसिसले

नबुझेर खुशी किन दूर गयौ
हुनसक्छ सहज हल के बिषले

हर जन्म छ व्यर्थ नकाब भए
पहिचान बचाउँछ आशिषले

गर प्यार तिमी भर प्यास सधैँ
तब मानिस जोड्दछ मानिसले

 गजल बहर- हजज अखरब अबतर मुसद्दत                       तोयानाथ सुबेदी

कसरी मनकाे सब ताप हरुँ।
मन भित्र सुवास लगेर भरुँ।

धरती भरका सब मानवकाे।
दिल भित्र सुवास समेत छरुँ।

मिहिनेत गरी तन जाँगरले।
उपकारहरू दिन रात गरुँ।

जति दुःख र कष्ट हवस् तनमा।
सहदै जहिले पनि लागि परुँ।

रणमा अब बन्दुक क्यैं नचलाेस्।
यदि चल्छ भने म गएर मरुँ।

 गजल
 बहर- हजज अखरब अबतर मुसद्दत                              विदुर अधिकारी

मन मन्दिरकी,सब इज्जत हौ
रसिली गुनिली,मृदु सङ्गत हौ

घरमा खटिने,प्रिय हे! सँगिनी
गृहकी अति नै,बलियो छत हौ

यस जीवनकी,शुभ सौम्य परी
अति हर्ष दिने,गमिलो खत हौ

सबमाझ अझै,बनिँदा सजिली
शुभ लाभ दिने,गति सम्मत हौ

जब खुल्दछ आगत मन्द भई
तब लाग्दछ,केवल यो सत हौ

गजल
बहर- हजज अखरब अबतर मुसद्दत                             कुमार शर्मा( अविरल)

जब भावहरू मनमा सकियाे
सुख शान्ति सबै तनमा सकियाे

कसरत नगरी दगुर्‍याे मनुवा
हरियोपरियो वनमा सकियाे

किन दुःख दिने पल खाेज्दछ ऊ
सुख सङ्गत सब धनमा सकियाे

प्रिय पात्र चिनौँ छल छाम बुझौ
किन मित्र पना जनमा सकियाे

मत खिन्न छु दुःख बढ्यो जहिले
बल जाँगर यी रनमा सकियो

गजल बहर- हजज अखरब अबतर मुसद्दत                       कमला महत

सय पीर ब्यथा भरिएर बसें
जब चोट मिल्यो र खिएर बसें

अब दर्दहरु भरिए मनमा
सब दु:ख भुलें र पिएर बसें

सहयोग गरें अति दुःख हुँदा
उनको मनमा पुजिएर बसें

जब घात भयो दिलमा अतिनै
दिनहूँ मत झन् थलिएर बसें

कहिले डरमा कहिले भरमा
र सधैँ म त दर्द लिएर बसें

गजल
बहर- हजज अखरब अबतर मुसद्दत                                  गिरिराज डल्लाकाेटी

न दुखीहरुकाे उपचार भयाे।
न त मक्ख हुने सरकार भयाे।

जति छन् गतिला ढिकुटीहरु ती
चतुरा जनकाे घरबार भयाे।

करकाे पिरलाे थपिएपछि झन्
अझ कष्ट यता भरमार भयाे।

गणतन्त्र भनी चुनिएर पनि
किन राजनकाे अवतार भयाे।

सुखछैन कतै कसरी सहने
म त भन्छु अहाे अतिसार भयाे।

  गजल
 बहर- हजज अखरब अबतर मुसद्दत                                मिलन कुमार ढुङ्गाना

तन हाे नरकाे मनमा सकियाे
अनुशासन पालनमा सकियाे ।

कविता त मिठाे गरियाे रचना
नहुँदा स्वर वाचनमा सकियाे।

अब निर्णय गर्छु भनी म बसेँ
पल त्याे पनि गन्थनमा सकियाे।

विजयी बनिने सपना उसकाे
दगु-याे तर धावनमा सकियाे।

मतिभ्रष्ट छ ऊ धन मात्र रह्याे
वरका परका जनमा सकियाे।

 गजल
 बहर- हजज अखरब अबतर मुसद्दत                                सिर्जना खनाल

भोकमा म हुँदा न छ भोज कुनै
शोकमा कहिल्यै छ र मोज कुनै

छ विचार मभित्र सफा मनमा
नमिठो नबनोस् अब खोज कुनै

मलले जलले नपुगेर यहाँ
अझ फुल्न सकेन सरोज कुनै

कति कुर्नु सधैँ यसरी पथमा
छ कहाँ दिलकाे भन ओज कुनै

देखिए हकदार भनी चिनिने
अनि रोदन बन्दछ पोज कुनै

गजल
बहर-हजज अखरव अवतर मुसद्दस                                 वासुदेव ठकुरी

न हिसाब रह्यो कति पाप भयो!
जति पाप गर्‍यो फलिफाप भयो!!

अपराध बढ्यो सब दुष्ट भए!
किन धर्म सबै अभिशाप भयो!!

मतिभ्रष्ट हुँदा गतिनाश हुने!
मनमा अति नै परिताप भयो।।

सहने कति हो अतिचार सधैँ ।
अपसोच भनौं करकाप भयो।।

गजल
बहर:- हजज अखरव अवतर मुसद्दस                              विन्दा पराजुली बराल

सुखमा गतिलो उपहार दियौ
दुखका अतिरिक्त प्रकार दियौ

मन दुख्छ यहाॅ हरचोट सहेँ
भरि प्रेम ममा उपचार दियौ

विरही म भएँ सगँमा नहुँदा
शुभ सोच गरी प्रिय प्यार दियौं

छ ममा अधुरो सपना धनको
अति मर्म बुझेर जुहार दियौ

म दुखी जहिल्यै अनभिज्ञ थिएँ
सब मार्ग प्रदर्शन धार दियौ।

गजल 
बहर- हजज अखरब अबतर मुसद्दत                                   मीरा ज्ञवाली

दिनमा यसरी रखवार गरी
म उठेँ उसको उपकार गरी

सब दु:ख भुली जिउने भइयाे
मनमा तनमा सुविचार गरी

सपना रटना उसमा रहँदा
नभनी उसले पनि प्यार गरी

छ सफा दिलमा रजनी समय
छु खुसी भन दुःख म पार गरी

सबकाे दिल प्यार जितेँ मनले
धन रूप घमण्ड बिचार गरी

गजल
बहर- हजज अखरब अबतर मुसद्दत                                 दुर्गा क्षेत्री

नहुने लतमा फसियो पहिले
असती मदिरा पिइयो पहिले

झगडा गरेको हुँ सबै दिनमा
घरकाे गतिलो बनियो पहिले

उसको धन हो कपटी म भएँ
बिचरा बटुवा लुटियाे पहिले

म त दानव झैँ बदनाम थिएँ
कति मित्रहरू लुछियाे पहिले

झुटकाे बिउ  छरछार गरी
सुनको करुवा जडियो पहिले

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु