२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ भक्तजनहरुका लागि पशुपतिनाथ मन्दिर आजदेखि खुला

भक्तजनहरुका लागि पशुपतिनाथ मन्दिर आजदेखि खुला

कोरोना महामारीका कारण लगाइएको बन्दाबन्दी र जोखिमका कारण ९ महिनासम्म बन्द रहेको पशुपतिनाथ मन्दिर बुधबारदेखि खुलेको छ। मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर परिसरमा क्षमासहित विशेष पूजा गरेपछि आजबाट मन्दिर खुलेको हो।

मंगलबार पशुपति मूल मन्दिर परिसरका वासुकीनाथ, जलनारायण, लालगणेश, सूर्यनारायण, कीर्तिमुख भैरव, उन्मत्त भैरव, अष्टमातृका, नवग्रह, हनुमान, सत्यनारायणको समेत पूजाआराधना गरिएको थियो।

पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर आजबाट खुलेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। आजदेखि देखि मन्दिरको पश्‍चिम ढोकाबाट भक्तजनलाई प्रवेश गराई दर्शनपश्‍चात् पश्‍चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ।

मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्यरुपमा मास्क लगाउनुपर्ने छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको मापदण्ड पूर्णरुपमा पालना गरी भक्तजनलाई दुई मिटरको दूरीमा राखेर दर्शन गराइनेछ।

पहिलो चरणमा परीक्षणका रुपमा बिहान ६ देखि मध्याह्‍न १२ बजेसम्म मन्दिर खुला गरिने छ। लामो समयपछि मन्दिर खोलिएको र कोरोनाको त्रास कायमै रहेकाले पशुपति क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाउन लागिएको पनि कोषले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु