गृहपृष्ठ एनआरएनए पोर्चुगलका अध्यक्ष गैरेद्वारा पर्यटन मन्त्री भट्टराईसँग महत्त्वपूर्ण भेटघाट
एनआरएनए पोर्चुगलका अध्यक्ष गैरेद्वारा पर्यटन मन्त्री भट्टराईसँग महत्त्वपूर्ण भेटघाट

एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेले नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री माननीय योगेश भट्टराईसंग मन्त्री निवास पुल्चोकमा भेटघाट गरेका छन्।
भेटको अवसरमा पोर्चुगलमा रहेका नेपालीहरुको अवस्था, कोभिड-१९ ले पारेको असर र कोरोना महामारी रोगथाम पछि नेपालको पर्यटन प्रबर्द्धनमा एनआरएनए पोर्चुगलले खेल्ने भुमिकाका बारेमा मन्त्री भट्टराईलाई अवगत गराएको अध्यक्ष गैरेले बताए ।
सो अवसरमा मन्त्री भट्टराईले पोर्चुगलका नेपालीहरुको समस्या समाधान गर्न र नेपालीहरुले सिकेको ज्ञान, सीप, अनुभव र पुँजीलाई नेपाल सरकार र आफुले सधैं प्राथमिकता राख्ने विश्वास दिलाएका थिए।
यसको साथै पोर्चुगलमा नेपाली दूतावास स्थापनाको आवश्यकता र सन्दर्भको बारेमा मन्त्रीलाई स्मरण गराइएको र मन्त्री भट्टराईले परराष्ट्र मन्त्रालय समेत यस बारेमा गम्भीर रहेको आफुले पाएको र आफ्नातर्फ बाट आवश्यक पहल गर्ने आश्वसन दिएका थिए।
कोरोना महामारीको रोगथामपछि नेपालको पर्यटन प्रबर्द्धनमा सक्रिय सहयोग गर्न र भुमिका खेल्न मन्त्री भट्टराईले एनआरएनए पोर्चुगल र पोर्चुगलको नेपाली समुदायमा आग्रह गरेको गैरेले बताए।
भेटको बेला नेकपाका केन्द्रीय सदस्य तथा युवा नेता ठाकुर गैरे पनि सहभागी थिए ।
अध्यक्ष गैरे केही हप्ता देखि नेपालमा रहेका छन्, उनी आजै राति पोर्चुगल फर्कन लागेको जनाइएको छ ।