गृहपृष्ठ १० बुँदे घोषणापत्रसहित महिला सशक्तीकरण सम्बन्धि भर्चुअल सेमिनार सम्पन्न
१० बुँदे घोषणापत्रसहित महिला सशक्तीकरण सम्बन्धि भर्चुअल सेमिनार सम्पन्न

१७ देखि १९ जनवरी २०२१ मा आयोजित महिला सशक्तिकरणसम्बन्धी वेब-आधारित बिश्व सम्मेलनमा महिला सशक्तिकरणको लागि १० बुँदे घोषणापत्र जारी गरिएको छ।
उक्त कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली सेवा समाज (आईएनएसएस)को अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्र र महिला समितिले संयुक्त रुपमा आयोजना गरेका थिए। जोडदार अन्तर्क्रिया, छलफल र परामर्श मार्फत सम्मेलन अन्ततः निम्न घोषणाहरू बिकास गर्न सफल भयो।
१. महिला विरुद्ध हुने कुनै पनि भेदभाव मौलिक रुपमा अन्यायपूर्ण र संवैधानिक रुपमा गैरकानूनी व्यवहार भएको सबै देशलाई स्पष्ट पर्ने।
२. लैङ्गिक समानता सुनिश्चित गर्न महिला बिरूद्ध भेदभाव गर्ने कानून र अभ्यासमा संशोधन गर्न राज्यहरुलाई आह्वान गर्ने।
३. महिला अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघले घोषणा गरेका सिद्धान्तहरुलाई कडाईका साथ लागू गर्न जोड दिने।
४. लैङ्गिक भेदभाव नगरी शिक्षा, सबै तहमा मतदान, सार्वजनिक पद हासिल र प्रयोगलगायतमा समान सामूहिक अधिकारहरूको उपभोग गर्न आव्हान गर्ने।
५. सबै किसिमका तस्करी, खतरनाक काम र महिलाको शोषण विरूद्ध लड्न प्रत्येक व्यक्ति र सरकारको अठोट सुनिश्चित गर्ने।
६. रोजगारीका अवसर र पुरुष सरह कामका लागि समान तलब तथा भत्ता कायम गराउने।
७. सार्वजनिक सेवा र प्रतिनिधि केन्द्रहरुमा महिलाहरुको लागी ५०% आरक्षणको ब्यबस्था र यसको सफल ब्यबहारिक कार्यान्वयन गर्ने।
८. नागरिकता प्राप्त गर्ने र परिवर्तन गर्ने सवालमा महिलालाई पुरुष समान अधिकार ब्यबस्था गराउने।
९. विवाह र सम्बन्ध विच्छेदको बिषयमा महिलाहरुलाई पूर्ण समानताको उपभोग गर्न सबै देशको सरकारबाट प्रत्याभूति खोज्ने र बाल विवाह अन्त्य गर्ने।
१०. पैतृक सम्पत्तीमा पुरुष समान अधिकारको संरक्षण र आपराधिक सजायमा लैङ्गिक विभेदको उन्मूलन गर्ने ।
उक्त भर्चुअल सम्मेलनको उद्घाटन गर्दै इजरायलका लागि नेपाली राजदुत डा. अन्जन शाक्यले भनिन्, “महिलाहरू समाजका ज्योति हुन्। यदि देशलाई सर्बाङिण विकास आवश्यकता छ भने देशका सबै क्षेत्रमा महिला सहभागिता आवश्यक छ।’
त्यसैगरि प्राडा. मीरा मिश्राले “नेपाली महिलाको अवस्था, महिला सशक्तिकरणका लागि गरिएका प्रयास र अग्रगामी मार्गहरू’ बारे धारणा राखेकी थिइन्। ‘लैङगिक सन्तुलन र लैङगिक समानताका लागि महिलाले भान्छाको जिम्मेवारी र कानूनभन्दा पर जानैपर्छ, राम्रोसँग बुझ्नु र कार्यान्वयन गर्नुपर्दछ’, उनले भनिन्।
प्राडा. बिन्दु पोखरेलले ‘महिला, समाज र राजनीतिः नेपालमा महिला सशक्तिकरणको सन्दर्भमा विश्वमा महिलाको स्थिति’ बिषयमा कार्यपत्र प्रस्तुत गर्दै भनिन्, ‘हाम्रो समाजमा उच्चस्तरमा लैंगिक विभेद छ। यदि नेपाली महिलाले मानसिकता परिवर्तन गरेनन् र आफ्नो वृत्तिबिकास गर्नु भनेको राम्रो श्रीमान प्राप्त गर्नु हो भन्ने सोच मात्र राखे भने कहिल्यै सशक्त हुन सक्दैनन्।’
अर्की महिला अधिकारकर्मी पत्रकार नम्रता शर्माले ‘कानून, ऐन, संविधान, र महिला सशक्तिकरण’ लाई प्रकाश पार्दै भनिन्, ‘संयुक्त राष्ट्र सङघले मानवअधिकारको सुनिश्चितता गरिसकेकोछ र विश्वका धेरै देशहरूले पहिले नै एउटा समूह बनाइसकेका भए पनि महिला अझै विश्वव्यापी विभेदमा परेका छन्।’
उनले थपिन्, ‘हामी सबैले प्रश्न सोध्नुपर्दछ कि मानव अधिकारको घोषणा गरेको झण्डै एक शताब्दी पछि पनि महिलालाई भेदभाव किन गरिएको छ?’ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकि चिन्तक शान्तालक्ष्मी श्रेष्ठले, ‘महिलावादी आन्दोलनको ऐतिहासिकता र यसको प्रभाव’ विषयमा आफ्ना विचार राखकी थिइन्।
‘महिलाले अझै पनि चाहेको उपलब्धि हासिल गर्न अझ धेरै लामो यात्रा गर्न बाँकी छ। त्यसैले निरन्तर क्रान्ति हुनुपर्दछ’, उनले भनिन्।
शिक्षा अभियन्ता डा. जानुका पौडेलले, ‘साहित्य, महिला र महिला सशक्तिकरण’ विषय उठान गरिन्। उनले आफ्नो कार्यपत्रमा नेपाली साहित्यका सबै प्रख्यात र सम्मानित योगदानकर्ताहरूलाई सम्बोधन गरिन्।
मानवशाश्त्री तथा पत्रकार डा. बार्बरा निम्री अजीज (युएसए) ले ‘नेपालमा महिलासँग काम गर्दाका प्रतिबिम्ब ‘बौद्ध भिक्षुणिदेखि लिएर कट्टरपन्थी राजनीतिक असन्तुष्टहरू १९६९देखिअहिलेसम्म’ शीर्षकमा अनुभव सुनाइन्।
त्यस्तै शरीर कलाकारिताविज्ञ र महिला इतिहासकार डा. लरिसा डोमिन (जर्मनी) ले ‘विश्वमा महिला सशक्तिकरणको इतिहास, संस्कृति, चुनौति, विरोधाभास र मार्गचित्र’ शीर्षकमा अभिव्यक्ति दिइन्। ‘विश्वभर नै महिला सशक्तिकरणमा धेरै काम खड्किरहेको छ।प्रथमतः सार्वजनिक सेवा र प्रतिनिधि केन्द्रहरुमा महिलाका लागि पचास प्रतिशत आरक्षण र यसको सफल ब्यबहारिक कार्यान्वयन अत्यन्त जरुरी छ।”, उनले भनिन्।
महिलाविद्वतविज्ञ सुसाना क्रिमर (अस्ट्रिया)ले ‘ज्ञान् , दृष्टिकोण, पध्धति र संसारमा महिला ज्ञानको संकट’ शीर्षकमा ज्ञान बाँडिन्। “रोजगारीका अवसरहरूमा महिलाहरूलाई पुरुष समकक्षीसँग समान कामको लागि समान तलब तथा भत्ता हुनु पर्छ” भन्ने उनको माग थियो।
कार्यक्रमलाई सुचारु गर्न उपाध्यक्ष डा. स्वामीकृश्न, महासचिव अर्जुनश्री राउत र प्रबक्ता चन्द्रकुमार फुयाललगायत वरिष्ठ उपाध्यक्ष श्याम सुबेदी तथा उपाध्यक्ष ईश्वर राईले भूमिका निवार्ह गरेका थिए।
कार्यक्रममा चर्चित कविहरू दिक्षा भण्डारी तथा दिप्स शाह (नेपाल), इन्दिरा चामलिङ (बेल्जियम), उर्मिला निर्दोषी (अमेरिका) लगायतले कविता बाचन गरेका थिए।
आइएनएसका अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्रका सस्थापक अध्यक्ष अर्जुन घिमिरेको अध्यक्षतामा संचालित सम्मेलनमा मुख्य अतिथि काठमाडौं विश्वविद्यालयका पूर्व डिन प्राडा टंकनाथ शर्मा थिए भने अन्य अतिथिहरूमा प्राडा श्रीरामप्रसाद उपाध्याय, प्राडा बासुदेव काफ्ले, प्राडा सुशन आचार्य, सहप्राडा भगवती उपाध्याय, प्राडा लक्ष्मण ज्ञवाली, सह प्राडा प्रकाशचन्द्र भट्टराई, सहप्राडा सुरेशचन्द्र गौतम, प्राडा मोतीलाल घिमिरे, समालोचक तथा विश्लेषक प्राडा रेणु थापा, प्राडा विष्णु कार्की, प्राडा पुष्पलाल दमाई, सहप्राडा नारायण गैरे,डा तारामणि राई,डा भुपाल पाण्डे ,सहप्रा .डाक्टर पुष्पा घिमिरे र महेश पौड्याल लगायत थिए।
सम्मेलनमा समाजका महासचिव अर्जुन श्रीले भने”संसारभरीका नेपालीहरुलाई एकठाउँमा जोड्दै रास्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालीले हासिल गरेका ज्ञान ,सिप, अनुभवलाई नेपाल र नेपालीको हित एवं विकासमा उपयोग गर्ने उद्देश्यका साथ हामी निरन्तर लागिरहेका छौं”। यसैक्रममा अध्यक्ष अर्जुन घिमिरे र प्रवक्ता चन्द्रकुमार फुयालले थपे”हामीले यसपटक महिला सशक्तीकरण सम्बन्धि वेबमा आधारित विश्व सम्मेलन आयोजना गरेका हौं।
आगामी दिनमा पनि यस्ता सम्मेल गर्ने संस्थाको नीति रहेको छ।यो संस्था भाषा,साहित्य ,संस्कृति,कृषि ,पर्यटन लगायत अन्य विविध बिषयमा निरन्तर गतिविधि गर्ने ध्येयका साथ अघि बढिरहेको छ।निकट भबिस्यमै नेपाली साहित्यको इतिहास ,वर्तमान र भबिस्य बिषयक विश्व सम्मेलन गरिनेछ”।