२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ हिंसाको सवालमा अपराधलाई पार्टीलेनै संरक्षण गरेको महिला अधिकारकर्मीहरुको आरोप

हिंसाको सवालमा अपराधलाई पार्टीलेनै संरक्षण गरेको महिला अधिकारकर्मीहरुको आरोप

महिला सुरक्षा र चुनौतीको बारेमा विदेशबाट नेताहरूलाई नारीहरुको प्रश्न ?

महिलाको विषयलाई लिएर सरकार संवेदनशिल नभएको अधिकारकर्मी महिलाहरुले आरोप लगाएका छन्। महिला हिसांका सवालमा अपराधलाई पार्टीले कहिलेसम्म संरक्षण गर्ने भन्दै अधिकारकर्मी महिलाहरुले परदेशबाट महिलाका सुरक्षा र चुनौतीको बारेमा शिर्ष नेताहरुलाई प्रश्न गरेका छन्।

नेपाली नारी समाज पोर्तुगलले आयोजना गरेको १११ औं अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा आईतबार पोर्तुगलको राजधानी लिस्वनमा आयोजना गरेको “महिला सुरक्षा र चुनौती” विषयक जुम भर्चुअल विचार गोष्ठीमा बोल्दै अधिकारकर्मी महिलाहरुले सदनमा महिलाको विषय सहि तरिकाले उठान गर्न नसकेको आरोप लगाएका हुन्।

पछिल्लो समय दिनानुदिन बढ्दै गएको बलात्कार पछिका हत्याले आम नेपाली महिलाहरु त्रासपूर्ण जिवनयापन गर्न बाध्य भएका छन्। अपराध र अपराधीलाई कुनै पनि पार्टीले संरक्षण गर्न नहुने पूर्व परराष्ट्र मन्त्री तथा नेपाली कांग्रेसकी केद्रिन्य सदस्य सांसद सुजता कोईरालाले बताउनुभयो।

कार्यक्रमकी प्रमुख अतिथि समेत रहनु भएकी सांसद कोईरालाले नेपालमा महिलाहरुको अवस्था अत्यन्त नाजुक रहेको बताउदैं कोरोनाका कारण महिलाहरुमाथि घरेलु हिसां झन बढेको बताउनुभयो । साथै उहांले नाबालक बालिका देखि वृद्धाहरु सम्म हुने बलात्कारका घट्ना बढ्दै गइरहेको जानकारी दिदैं यसको लागि सरकारले कुनै पनि पहल कदमी नचालेको र अहिलेसम्म कसैलाई पनि कार्वाही नभएको बताउनुभयो।

त्यस्तै उहांले संसद र अन्य निकायबाट महिलाहरुले धेरै आवाज उठाएता पनि यसलाई रोक्न नसकिएको जानकारी दिनुभयो। ३३ प्रतिशत महिलाहरुले संसदमा प्रतिनिधित्व गरेता पनि विकट ठाउंका गाउंका महिलाहरु मांझ भने पहुंच पुग्न नसकेको उहांको भनाई छ। पार्टीगत महिलाहरुको विभिन्न संगठनहरु मार्फत् आवाज उठाएर त्यसलाई शसक्त बनाएर लैजानुपर्नेमा उहाँले जोड दिनुभयो।

महिलाले महिलालाई नै सहयोग गर्नुपर्ने बताउंदैं उहांले जवसम्म महिलाले महिलालाई सहयोग गदैनन् तवसम्म पनि महिला अगाडी बढ्न नसक्ने बताउनुभयो। महिलाको नेतृत्व नभए महिलाको आवाज दबाईने बताउदैं उहांले एकजुट हुन आग्रह गर्नुभयो।

त्यसैगरी बलात्कार जस्तो जघन्य अपराध गर्नेलाई सरकारले मृत्युदण्डको कानुन ल्याउनुपर्ने नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष सांसद उमा रेग्मीले बताउनुभयो। सरकारको प्राथमिकतामा महिलाको ज्यान नपर्ने भन्दै सांसद रेग्मीले पछिल्लो समय सुराकी बनेर आफन्तबाट नै छोरीहरु सुरक्षित नरहेको बताउनुभयो।

यौन शिक्षा दिन हिचकिचाउन नहुने भन्दै सांसद रेग्मीले दिर्घकालीन कानुनको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो। नारी दिवस मनाईरहंदा नारी माथि हुने हिंसाका कारण भारी मनले दिवस मनाउनुपर्ने बाध्यता रहेको उहांको भनाई थियो। त्यस्तै बलात्कृत महिलालाई संरक्षण गर्न छाडेर राजनितिक कार्यकर्तालाई ढाकछोप गर्ने प्रबृतिको अन्त्य नभएसम्म महिलाहरु सुरक्षित नहुने नेपाल ल क्याम्पस उपप्राध्यापक अधिवक्ता विष्णु बस्यालले बताउनुभयो।

महिलाका पक्षमा वकालत भएता पनि विषयलाई सहि तरिकाले उठान गर्न नसकेको अधिवक्ता बस्यालको भनाई छ । सहभागी महिलाहरुले परदेशबाटै भएता पनि एकजुट भएर महिला हिंसाका विरुद्धमा लाग्ने अठोट गरेका छन्। गोष्ठीमा सहभागीहरुले हरेक दिन हुने बलात्कार र हत्याका घटनाले बिदेशमा बस्ने नेपालीहरुको मन बिछिप्त भएको बताएका छन्।

हाम्रो आवाज सदन सम्म पुर्याइदिनु हुन आग्रह गर्दै उनीहरुले बलत्कारीको कुनै नाता नहने भन्दै अपराधीलाई फासी दिनुपर्ने माग समेत गरेका छन्। नेपाल, स्पेन, अमेरिका, लण्डन, अष्ट्रिया, नर्वे, जर्मन, स्विजरल्याण्ड, कतार, साउदी अरब, इजरायल, साइप्रस लगायत १५ देशका महिलाहरुको सहभागीतामा रहेको जुम भर्चुअल गोष्ठीमा करिव १५० जना भन्दा बढिको सहभागीता रहेको थियो।

गोष्ठीमा नेपाली कांग्रेस महिला विभागकी केन्द्रिय सचिव लक्ष्मी खतिवडा, समाजकी बैधानिक सल्हाकार तथा लैंगिक विशेषज्ञ डाक्टर ज्योति तुलाधर, नेपाल सरकार पोर्तुगलका लागि पर्यटनदुत रमेश गुरुङ, व्यस्थताका कारण गैर आवासीय नेपाली संघकी उपाध्यक्ष रबिना थापाले एस ए मेस मार्फत शुभकामना सन्देश पठाउनु भएको थियो।

त्यस्तैगरी गैरआवासिय नेपाली संघ (एनआरएनए) पोर्तुगलका अध्यक्ष तिलक गैरे, नेपाल पत्रकार महासंघ तथा प्रेस यूनियनकी केन्द्रिय सदस्य सिर्जना अर्याल, चेली माईती समूहकी संयोजक ईन्दिरा निरौला, जि.पी फाउण्डेसन पोर्तुगलका सभापति शुशिल शर्मा गैरे, जनसम्पर्क समिति पोर्तुगलका कार्यकारी सभापति वकिल के.सी, जनसम्पर्क समिति बेल्जिएमकी सभापति तथा क्याट बेल्जिएमकी पूर्व अध्यक्ष सिता सापकोटा लगायत पोर्तुगलका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो।

कार्यक्रमको उद्देश्यबारे नेपाली नारी समाज पोर्तुगलकी संस्थापक अध्यक्ष तथा सम्मानित सदस्य सिता बरालले प्रकाश पार्नु भएको गोष्ठीको समाजकी उपाध्यक्ष विद्या आर्चाय (बिमला) ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

महासचिव सिता श्रेष्ठ (शिवानी) ले सञ्चालन गर्नुभएको कार्यक्रम समाजकी कार्यवहाक अध्यक्ष मिनामाया खरेलको अध्यक्षतामा गरिएको हो। ८ मार्चका दिन मनाईने नारी दिवस यसवर्ष भने परिस्थितिलाई मध्यनजर गर्दै पोर्तुगलमा लकडाउनको अवस्था भएता पनि भर्चुअल जुम मार्फत् समयानुकुलता मिलाए अघिल्लो दिन आईतबार मनाईएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु