२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ लहानमा बम विस्फोटः विस्फोटको जिम्मा गोइत नेतृत्वको जनतान्त्रिकले लियो

लहानमा बम विस्फोटः विस्फोटको जिम्मा गोइत नेतृत्वको जनतान्त्रिकले लियो

मालपोत कार्यालय लहानमा भएको बम विस्फोटको जिम्मेबारी जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ। विस्फोटको केहि समयपछि गोइतद्वारा हस्ताक्षरित विज्ञप्तीमा भ्रष्टाचार विरोधि अभियान अन्तर्गत बम कारबाही गरिएको जनाइएको छ।

जारी विज्ञप्तीमा भनिएको छ ‘१२ बजेर ४७ मिनेटमा कारबाही स्वरुप प्रेसर कुकर बम विस्फोट गराएका छौं।’ भ्रष्टाचार अपराध जारीनै रहे यस भन्दा उच्च स्तरको कारवाही हुने चेतावनी समेत विज्ञप्तीमार्फत दिइएको छ। साथै यसबाट उत्पन्न हुने परिणामको जिम्माबार नेपाल सरकार र प्रदेश सरकार हुने उल्लेख छ।

बम विस्फोट भएको कार्यालयको पहिलो तल्ला स्थित मुठ फाँट नजिक टुक्रा टुक्रा भएको मोर्चाको पर्चा समेत भेटिएको छ। विस्फोटक पदार्थ रहेको झोलामै उक्त पर्चा राखिएको थियो वा अन्य ठाउँमा यसबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

पर्चामा अध्यक्ष जयकृष्ण गोइतको हस्ताक्षर छ। पर्चामा लेखिएका हरफहरु प्रष्ट पढ्न नसकिनेगरी टुक्रा टुक्रा भएका छन्। टुक्रा- टुक्रा परेको पर्चा जाडेर प्रहरीले अनुसन्धान गर्ने जनाएको छ।

घाइते भण्डारीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

विस्फोटबाट घाइते भएका सेवाग्राही धनगढीमाई नगरपालिका–४ का ३५ वर्षीय दिनेश कुमार भण्डारीलाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लगिएको छ। उनको दायाँ तिर्घा बमको घर्राले क्षतविक्षत भएको छ।

अत्याधिक रक्तश्रावका कारण उनको अवस्था नाजुक बनेपछि कानून न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठको पहलमा हेलिकप्टर मगाएर काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय लहानका डीएसपी तपन दहालले बताए।

कार्यालयका नायब सुब्बा शिवकुमार यादवलाई थप उपचारका लागि विराटनगर स्थित नोबेल मेडिकल कजेज तथा शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

घाइते भोला बहादुर मगर , गोलबजार नगरपालिका –६ बस्ने ३५ वर्षीय लक्ष्मी राना, बेचनी मगर , सिरहा नगरपालिका –१६ बस्ने ५२ वर्षीय लाल बहादुर बिश्वकर्मा , गोलबजार कि ३८ वर्षीया फूलकुमारी ठाकुर ,भगवानपुर गाउँपालिका का ५४ वर्षीय बद्रीनारायण यादवको उपचार लहान अस्पताल र सप्तऋषी अस्पतालमा भैरहेको लहान प्रहरीले जनाएको छ।

प्रहरी कार्यालयको सामुन्ने दिउँसै विस्फोट

मालपोत कार्यालय लहानमा दिउँसो करिब १ बजे सेवाग्राहीको भींडभाड थियो। कर्मचारीहरु आफ्ना फाँटमा व्यस्त थिए । सोहिबीचमा कार्यालयको पहिलो तल्लाको मुठ फाँट नजीक जोडदार विस्फोट भयो । सबै भागाभाग भए । फाँटका कर्मचारी शिवकुमार यादव, सेवाग्राही दिनेश भण्डारीसहितका व्यक्ति भुँइमा लडे।

रगतमा लतपतिएका भण्डारीलाई सेवाग्राहीहरुले बोकेर तल ल्याए। एम्बुलेन्समा राखेर अस्पताल पुर्याए। बिस्फोटका कारण कार्यालयको फर्निचर, कागजातमा आगो सल्कियो। लहान नगरपालिकाको बारुण यन्त्रले आगो नियन्त्रण गर्यो।

भींडभाडका बेला कार्यालयको पहिलो तल्लाको मुठ फाँट नजीक प्रेसर कुकर बम कसले कतिबेला राख्यो कसैले सुइँको पाएनन्। प्रहरी कार्यालय अगाडी घटनास्थलतिर फर्काएर जडान गरिएको सिसि क्यामेरा, कार्यालयमै जडित क्यामेराले समेत घटनाको भेउ पाएनन्।

विस्फोटक पदार्थ(कुकर बम) कतिबेला कसले राखेको बारे प्रहरी अझै बुझ्दै छ। लहान क्षेत्रलाई केन्द्र बनाए प्रदेश, जिल्ला र इलाका प्रहरीबाट विशेष प्रहरीको नाममा दश जनाजति घुमुवा प्रहरी खटिएका छन्। यी सबै घुमुवा प्रहरी परिचालित केन्द्रमा दिउँसै बम विस्फोट गराएर व्यक्ति उम्कन सफल हुनु बिडम्बना हो, बुद्धिजिबी सरोज यादव भन्छन्,‘विस्फोट हुनु भन्दा पनि विस्फोट गराउने व्यक्ति उम्कनुले यहाँको सुरक्षा व्यवस्थामाथि प्रश्न खडा गरेको छ।’

इलाका प्रहरी कार्यालय लहानबाट एक सय मिटर उत्तरमा (ठिक साम्मुने) भएको बम विस्फोटका घटनाले लहानबासीलाई त्रसित बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु