२०७७ चैत ३१ गते मंगलवार | April 13, 2021

Bharat Poudel

गृहपृष्ठ यसकारण थारुहरुले होली भिन्न तरिकाले मनाउँछन्

यसकारण थारुहरुले होली भिन्न तरिकाले मनाउँछन्

फागु पुर्णिमा, रंगहरुको पर्व, खुसी उमंगको पर्व, फगुवा,, होली अन्य विभिन्न नामहरुले चिनिने चार्ड परापुर्व कालदेखि नेपाल एवं भारतमा हर्ष उल्लासका साथ मान्दै आएको पाईन्छ।

हिन्दु धर्ममा असत्यमाथी सत्यको जीत एवं होलिका जलेको प्रसंग आए जस्तै ठाउँ, सम्प्रदाय होली मनाउनुको सन्दर्भ तथा यसलाई मनाउने तरिका केहि भिन्नता पाईन्छ। यद्यपी रंगीबिरंगी रङ्ग एवं अबीर एक अर्कामा दलेर खेलिने प्रचलन भने सबैमा छ, जुन होलि पर्वको मुख्य बिशेषता पनि हो।

नेपालको सन्दर्भमा पनि पहाडमा पुर्णिमा कै दिन मनाईन्छ भने तराईमा पुर्णिमाको दिन चीर पोलेर अर्को दिन मात्रै मनाउने प्रचलन रही आएको छ। तराईमा बसोबास गर्ने आदिवासी थारु समुदायले फागु पर्व मनाउने चलन पनि अन्य पहाडे समुदायको भन्दा भिन्न छ।

शिक्षा एवं संस्कृतिविद् लक्ष्मण प्रसाद चौधरी एक अन्तर्वार्तामा थारुहरुको फागु वा फगुवा मान्ने प्रसंग एवं परम्परा आफ्नै किसिमको भएको भन्दै स्पष्ट पार्नु भएको छ।

वहाँका अनुसार थारुहरु पहिल्यै देखि प्रकृति पुजक थिए नकि हिन्दु तर कालान्तरमा राज्यले हिन्दुकरण गर्दै गए पछि थारुका धेरै पुस्ता हिन्दु परम्परा अपनाउँदै गएर नयाँ पुस्ताहरुलाई जन्मै देखि आफ्नो धर्म हिन्दु भएको आभास भएको मात्र हो।

चौधरीले उदाहरणको रुपमा अहिले नेपालमा ईसाई धर्म मान्ने परिवारका धेरै पुस्ता बिते पछि उनीहरुको सन्तानले आफ्नो परम्परागत धर्म ईसाईलाई नै मान्न सक्छन् भनेर तर्क दिनु भयो।

त्यसैले थारुहरु विगतमा प्रकृति मै रमाउने र प्राकृतिक वस्तुहरु जस्तै ढुंगा, माटो, रुख, विरुवा, घाँस-पात आदिलाई नै पुजा गर्दथे जुन अहिले पनि देख्न सकिन्छ भन्नु भएको थियो। वास्तवमा थारुहरुले फागुमा होलीकालाई नभई “समती”लाई पोल्छन्, जसलाई पहाडेहरु चीर भन्दछन्।

थारुहरुले समती जलाउने दिनमा नभई त्यसको अर्को दिन रङ्ग, अबीर लगाएर हर्ष उल्लासका साथ मनाउँछन् र तराईमा बसोबास गर्ने अन्य समुदायले पनि त्यही दिन बिशेष रुपले फागु मान्दै आएको देख्न सकिन्छ।

थारुहरुले मनाउने फागुका मनाउने दिनहरुको नामहरु पनि आ-आफ्नै छन्। पहिलो दिन पुर्णिमाको अघिल्लो दिन पिठकुटी अर्थात रोटीको लागि पिठो पिन्ने दिनको चिनिन्छ। यो दिन पहिले ढिकीमा चामल कुटेर सेल रोटिको लागि पिठो तयार गरिन्थ्यो तर मिलमै गएर पिठो पिसाउने गरिन्छा।

त्यस्तै अन्य परिकारका लागि आवश्यक सामग्रीहरु जस्तै मासको पिनेर बरी, पकौडा आदिको लागि सामग्री तयार पारिन्छ। दोश्रो पुर्णिमाको दिनलाई मछ्वारी अर्थात शिकार गर्ने, माछा मार्ने नामले चिनिन्छ। चार्ड पर्वको दिन काटमार गर्नु हुँदैन भन्ने मान्यता बोकी आएको थारुहरुले पर्वको दिन पशु, पन्क्षि एवं जीव जनावरहरुलाई पनि चार्ड मान दिनु पर्छ भन्ने विश्वास राख्दछन्।

त्यस दिन साँझ समतीको लागि गाउँको खेतवारीबाट खर, बाँस, कुटाई (तोरीको ढाँठ) बटुलेर समती पोल्ने ठाउँमा जम्मा गर्ने गरिन्छ। शुक्र ग्रह पुर्व दिशामा उदाए गाउँको पुर्व , पश्चिम दिशामा उदाए गाउँको पश्चिम तर्फ समती पोल्ने गरिन्छ।

समती पोल्नु भन्दा अगाडी देखि नै गाउँका ठुला साना केटा मान्छेहरु ढोलक, मादल, ठेकरा हरु बोकेर फगुवा गीत गाउँदै जम्मा हुँदै समती पोल्ने ठाउँतिर अघि बढ्दै जान्छन्।

तर महिलाहरु भने घरमा अघिल्लो दिन तयार गरिएको पिठोले रोटि, बरी, पकौडा बनाउने काममा जुट्दछ्न्। सबैको घरको भान्सामा घुमाउरो रोटि (सेल रोटि) पाकी रहेकै बेला जिम्दारको घरमा भने घिऊमा रोटी पकाईञ्छ। त्यो रोटि समती पोल्ने बेलामा सबैजनालाई प्रसादको रुपमा बाँडिने गरिन्छ।

समती जलाउने बेलामा एउटा कालो लोकल कुखुरा, एक बोतल घरपाला रक्सि, लोकल अण्डा चाहिन्छ। अण्डालाई करिब सवा हात खाल्टो खनेर पुरिन्छ। अरुबेला ब्रम्हाथानमा पुजा आजा गर्ने गाउँको गुरौले नै तन्त्र मन्त्र जप्दै पुजा गर्ने विधि पुरा गर्छ।

सबैतिर समतीले घेरी सके पछि कुखुरालाई छोडिन्छ र सानो आगो बालेर गीत गाई रहेका मान्छेहरुलाई आगो दिईन्छ , त्यहि आगोको राँकोबाट सबैले सल्काउँदै तीन पल्ट घुम्दै समती पोल्ने गरिन्छ।

अर्को दिनलाई धुरहेरी भनिन्छ। यसदिन बिहान सबेरै उठेर समती पोलेको ठाउँमा गएर खरानी निधारमा लगाउँदै पुरुषहरु आफुलाई जितको कामना गर्दै फागु खेल्न सुरु गर्छन्।

केटाहरु हुल बाँधेर साथीभाई एवं ईस्टमित्रहरुसँग खुसि बाँड्दै रङ्ग, अबीर लाउँदै दिनभरी फागु खेल्ने चलन रहेको छ। समाती पोल्न पुरुषहरु मात्रै जाने भए पनि फागु भने महिला पुरुष सबैले उत्तिकै हर्ष उल्लासका साथ मनाउँछन्।

गाउँका बुढा पाकाहरु भने हुल बाँधेर ढोलक, मादल, मजिरा, डंफु, ठेकरा बजाउँदै गीत गाउँदै घर घर गई फागु मनाउँछन्। त्यसो त पहिले पहिले फागु आउनु भन्दा पन्ध्र दिन पहिले देखि ठेकरा खेल्दै केटा केटीहरु रमाईलो गर्ने प्रचलन थियो।

वसन्त ऋतुमा पर्ने फागु मौसमले नै उल्लास पूर्ण हुने भएकोले फागुमा खेलिने रंगले झन् वातावरण मनमोहक बनाईदिन्छ। फागुमा आफ्ना छोरीचेली, ज्वाई एवं आफन्तहरुलाई बोलाएर मिष्ठान्न भोजन पनि गराईन्छ। जसले गर्दा टाढा भएका परिवारका सदस्य भेट हुनुको साथ साथै सम्बन्ध अझै प्रगाधा बन्दै गएको पनि देखिन्छ।

त्यसका साथसाथै फागुमा आफ्नो मन भित्र घुम्सिएर रहेका खुसी, दु:ख, पिर, रिस, राग, वेदना सबै गीत मार्फत पोखिने भएकोले कोहिसंग दुस्मनी भए पनि फागु मान्ने खुसियालीले पुन: सम्बन्ध गाढा बनाईदिन मद्दत गर्दछ।

यद्यपी अचेल सानो तिनो मनमुटावलाई ठुलो बानाएर झै झगडा गर्ने, अखाद्य वस्तु प्रयोग गरेर फागु खेल्ने, इच्छा बेगर मानिसहरुलाई रंग अबिर दली दिने प्रवृतीले फागुमा विकृति भित्रिराखेको छ, जसलाई निरुत्साहित गर्नु पर्ने जरुरी देखिन्छ।

सन्दर्भ सामग्री: जितेन्द्र चौधरी, हमार डगर, ग्रेट एफ एम १०६. ४ मेगाहर्ज, चितवन (२०७७)।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु