२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलको आक्रोष:शेरबहादुर नेतृत्वमा जानुनै कांग्रेसका लागि दुर्भाग्य

नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलको आक्रोष:शेरबहादुर नेतृत्वमा जानुनै कांग्रेसका लागि दुर्भाग्य

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई निर्वाचन आयोगसँग भीख माग्ने अवस्थामा पुर्याइएको बताएका छन्।

उनले त्यसका लागि सभापति शेरबहादुर देउवाको असफलता र लापरबाहीका कारण यस्तो अवस्था आएको औंल्याएका छन्।

आज बिहान सामाजिक संजाल मार्फत विचार राख्दै भनेका छन्,‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ। असाधारण परिस्थिति भनेर एक वर्ष थपियो। देशको संविधानलाई समातेर छ महिना बढाइयो।

आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोग संग भीख माग्ने निरीह अवस्थामा पुर्याइएको छ यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरबाही अरु के हुन्छ ?’

काँग्रेसले आगामी भदौ १६–१९ का लागि तय गरेको १४ औं महाधिवेशन सर्ने अवस्थामा पुगेपछि पौडेल सभापति देउवामाथि खनिएको देखिन्छ। साउन १२ बाट सुरु गर्ने भनेको तल्लो तहको अधिवेशन प्रभावित भएपछि काँग्रेस महाधिवेशन अनिश्चित बनेको छ। अहिलेसम्म नयाँ कार्यतालिका पनि ल्याउन काँग्रेसले सकेको छैन।

पौडेलले भनेका छन्, ‘सर्वत्र असफल व्यक्तिहरु वारम्वार सत्ता समाल्न पुग्छन् ।’ २८ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा नयाँ कार्यतालिका ल्याउने गरी नेताहरुले तयारी गरिरहेका छन्।

भदौ २३ उता महाधिवेशन सार्न कानुनी बाध्यता खडा भएकाले निर्वाचन आयोगसँग परामर्श गरी नयाँ कार्यतालिका ल्याउन काँग्रेस नेताहरु जुटेका छन्। तर पौडेलले भदौ २३ भित्र विशेष महाधिवेशन गरेर भएपनि पार्टीको वैधानिकता जोगाउन लाग्नुपर्ने प्रस्ताव गरेका थिए।

पौडेलले संविधानले दिएको ५ वर्ष ६ महिनाको समयभित्र पनि महाधिवेशन सम्पन्न गर्न नसक्नु देशकै विडम्बना भएको बताए । पौडेलले देउवा सर्वत्र असफल भएको भन्दै उनको सत्तारोहणप्रति पनि असन्तुष्टि पोखेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु