उज्यालो नेपालका परिकल्पनाकार एवं नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ विदेश भ्रमणमा निस्कने भएका छन्।उनको भ्रमण अमेरिका सहित विभिन्न युरोपका देशहरुमा केन्द्रित रहने छ। उनको यो वैदेशिक यात्रा एक महिनासम्म चल्नेछ।
घिसिङ जुलाइ २५ देखि अगष्ट २६ सम्म वैदेशिक भ्रमणमा रहनेछन्। घिसिङ जुलाइ २५ देखि अगष्ट १० सम्म उनी अमेरिकामा रहनेछन् भने अगष्ट ११ देखि २५ सम्म युरोपका विभिन्न देशमा रहनेछन्।
अमेरिकामा रहँदा घिसिङ, न्यूयोर्क, बोस्टन, टेक्सास, वासिङटनका विभिन्न कार्यक्रममा सहभागी रहनेछन्। त्यसपछि बेलायतको लण्डन, स्कटल्याण्ड, बेल्जियम, पोर्चुगल समेत आउने भएका छन्।
उनले एक महिने यो यात्रामा विभिन्न कार्यक्रम, अन्तर्क्रिया, नेपाली डायस्पोराका दाजुभाइ तथा दिदीबहिनीहरूसँग प्रत्यक्ष भेटघाट र अनुभव साटासाट गर्ने बताएका छन्।
त्यस्तै, घिसिङ अगस्ट ११ देखि १५ सम्म लन्डन (बेलायत) मा, अगस्ट १६ देखि १७ स्कटल्याण्डमा, अगस्ट १८ देखि २३ बेल्जियम र पोर्चुगल सहित युरोपेली देशहरूमा र अगस्ट २४ देखि २५ सम्म पुन: लन्डन (बेलायत) मा रहने भएका छन्। उनी अगष्ट २६ मा स्वदेश फर्कने कार्यक्रम छ।
यसअघि घिसिङ बहराइन, युएई, ओमान, कतारलगायत देश पुगेर त्यहाँ रहेका नेपालीहरूसँग अन्तर्क्रिया गरेर फर्केका थिए। घिसिङको वैदेशिक भ्रमण र त्यहाँ रहेका नेपालीहरूसँगको अन्तर्क्रियाले उनी राजनीतिमा आउन खोजिरहेको संकेत दिएको उनीनिकटहरू बताउँछन्।
