गृहपृष्ठ राजस्व चुहावटको कसुरमा १२ अर्बको बिगो दाबी, ५ सय १५ जनाविरुद्ध मुद्दा
राजस्व चुहावटको कसुरमा १२ अर्बको बिगो दाबी, ५ सय १५ जनाविरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभागले हालसम्म राजस्व चुहावटको कसुरमा कर्मचारी ८ जनासहित ५ सय १५ जनालाई प्रतिवादी बनाई मुद्दा दायर गरेको छ। उनले ती व्यक्तिहरूबाट १२ अर्ब ३१ करोड ४७ लाख बिगो कायम गरी बिगोको दोब्बर जरिबाना र ३ वर्षसम्म कैद माग दाबी लिई विभिन्न जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।
त्यस्तै, विदेशी विनिमय अपचलन तथा अवैध हुण्डी कारोबारको कसुरमा ३ सय २९ जनालाई प्रतिवादी बनाई ४ अर्ब ८३ करोड ८४ लाख विगो कायम गरी बिगोको तेब्बरसम्म जरिबानासहित जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ।
चालु आर्थिक वर्षमा मङ्सिर मसान्तसम्म २८ वटा मुद्दामा ७६ जनाविरुद्ध राजस्व चुहावटको कसुरमा ३ अर्ब ४३ करोड ४७ लाख बिगो र बिगोको दोब्बरसम्म जरिबाना एवं ३ वर्षसम्म कैद माग दाबी लिई विभिन्न जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ।
मङ्सिर मसान्तसम्ममा विदेशी विनिमय अपचलन तथा अवैध हुण्डी कारोबारमा विभिन्न जिल्ला अदालतमा ८७ वटा मुद्दा दर्ता गरी ६४ करोड ६४८ लाखको बिगो माग दाबी लिई १ सय ३० जनाविरुद्ध विभिन्न जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।
मङ्सिर मसान्तसम्म विस्तृत अनुसन्धान गर्दा झुटा नक्कली विजक जारी गर्ने फर्मको संख्या १ सय ३० देखिएकोमा ६ अर्ब रुपैयाँभन्दा बढी बिगो कायम गरी ५१ वटा फर्महरूमा संलग्न ५५ जनामाथि जिल्ला अदालतमा मुद्दा दायर गरिएको तथा नक्कली विजक खरिद गर्ने ५७ वटा फर्मको अनुसन्धान सुरु गरी १७ वटा फर्मको अनुसन्धान सम्पन्न गरेको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उनीहरूको बिगो ७२ करोड कायम गरी मुद्दा दायर गरिसकिएको छ। हालसम्म झुटा नक्कली विजक खरिद गर्ने फर्महरूको संख्या ९ सय ८१ रहेकोमा १ सय ३० वटा फर्मले १२ अर्ब रुपैयाँभन्दा बढीको नक्कली विजक खरिद गरेको देखिएको जनाएको छ।
नक्कली विजक सम्बन्धी मङ्सिर मसान्तसम्म विभिन्न फर्महरूलाई ६ अर्ब ७५ करोड भन्दा बढीको बिगो कायम गरी विभिन्न जिल्ला अदालतमा मुद्दा दायर गरिएको बिभागले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।