विश्वकप लिग टु: त्रीकोणात्म सिरिजमा आज नेपालले स्कटल्याण्डको सामना गर्ने

विश्वकप लिग टु को चौथो राउण्ड अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले आज स्कटल्याण्डको सामना गर्दैछ।

स्कटल्याण्डको डुन्डेमा रहेको फोर्थहिल क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।

मुख्य प्रशिक्षक स्टुआर्ट लको नेतृत्वमा नेपालले आज पहिलो  अन्तर्राष्ट्रिय खेल खेल्नेछ। नेपालको प्रशिक्षक हुनु अघि ल अमेरिकाको मुख्य प्रशिक्षक थिए। उनले अमेरिकालाई टि ट्वेन्टी विश्वकपको सुपर ८ मा पुर्याएका थिए।

नेपाल र स्कटल्याण्डबीच हालसम्म ८ खेल भएको छ। त्यसमा नेपाल बलियो अवस्थामा छ। नेपालले ४ खेलमा जित हासिल गर्दा ३ मा स्कटल्याण्ड विजयी भएको छ। १ खेल भने रद्द भएको थियो।
लिग टुको अन्तिम तयारीमा नेपालले स्कटल्याण्ड ‘ए’ सँग २ अभ्यास खेल खेलेको थियो। एक खेलमा नेपाल पराजित हुँदा दोस्रो खेल भने वर्षाका कारण नतिजा बिहिन रुपमा सकिएको थियो।

नेपालले  तयारीका क्रममा बेलायतमा स्थानिय टोलीसँग खेल खेल्दा शतप्रतिशत जित निकालेको थियो। ८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट सिरिज समेत हो । लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छ। पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ।

नेपाल १२ खेलमा ६ अंकका साथ लिग तालिकाको पुछारमा छ। स्कटल्याण्ड १६ खेलमा २० अंकका साथ चौथो र नेदरल्याण्ड्स २० खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ।

Share
Scroll to Top