भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ।
अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान उडान भरेको केही समयपछि अहमदाबादको मेघानीनगर क्षेत्रमा विमान दुर्घटना भएको हो।
बोइङ ७८७–८ ड्रीमलाइनर विमानमा २४२ यात्रु सवार थिए । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी रहेकोले उक्त क्षेत्रबाट प्राप्त दृश्यहरूले हावामा बाक्लो कालो धुवाँ देखिएको जनाइएको छ।
विमानमा गुजरातका पूर्वमुख्यमन्त्री पूर्वमुख्यमन्त्री विजय रुपाणी समेत सवार रहेको भारतीय समाचार संस्था दैनिक भास्करले जनाएको छ।
अहमदावादबाट लण्डनका लागि उडेको बोइङ एआई १७१ जहाज केही मिनेटमै भुइमा खसेको थियो । भारतीय समय अनुसार १ बजेर ३८ मिनेटमा जहाज टेकअफ गरेको थियो। लगत्तै जहाज विमानस्थल बाहिर दुर्घटनामा परेको हो। अहिले उद्धारको काम जारी छ।
२ जना पाइलट, १० जना क्याबिन क्रु सदस्य र २३० यात्रु थिए । जसमध्ये १६९ जना भारतीय यात्रु रहेका छन् । त्यस्तै बेलायतका ५३ जना, पोर्चुगलका ७ जना र क्यानडाका १ यात्रु रहेको एयर इन्डियाले जनाएको छ।
हिन्दुस्तान टाइम्सका अनुसार उक्त जहाज क्याप्टेन सुमीत सभरवाल र फस्र्ट अफिसर क्लाइभ कुन्दरले उडाइरहेका थिए । क्याप्टेन सभ्रवालसँग ८ हजार २ सय घण्टा र कोपाइलट कुन्दरसँग १ हजार १ सय घण्टाको अनुभव रहेको भारतको नागर विमानन महानिर्देशनालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
