स्विट्जरल्यान्डको क्राँस मोन्टाना स्थित स्विस अल्प्सको मुटुमा रहेको प्रसिद्ध स्की रिसोर्टमा विष्फोट हुँदा कम्जतिमा १० जना मारिएका छन्। अझै धेरै जना मारिएको हुन सक्ने आशंका गरिएको छ। बिहीबार बिहानीपख विष्फोट भएको थियो। विष्फोटमा परी कति संख्यामा मानिसहरु मारिए भन्ने बारे प्रहरीले आधिकारिक जानकारी दिएको छैन्।
नयाँ वर्षको उल्लास छाइरहेका बेला भएको यस दुखद घटनामा परी धेरै जनाको ज्यान गुमाएको हुन सक्ने बीबीसीले जनाएको छ। स्थानीय समय अनुसार बिहानको करिब १:३० बजे रिसोर्टको ‘कन्स्टेलेसन बार’ मा विष्फोट भएको प्रहरीले जनाएको छ।
नयाँ वर्षको पूर्वसन्ध्यामा खुसीयाली मनाइरहेका मानिसहरू भेला भएको स्थानमा अचानक विष्फोट भएपछि त्यहाँ भागदौड मच्चिएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएका केही भिडियोहरूमा उत्सव भइरहेको उक्त बारमा भीषण आगलागी भएको देखिएको छ। विष्फोट लगत्तै प्रहरी, दमकल र एम्बुलेन्सका टोलीहरू उद्धारका लागि घटनास्थल पुगेका थिए। घाइतेहरूलाई तत्काल नजिकका अस्पतालहरूमा पुर्याइएको छ, जसमध्ये केहीको अवस्था अत्यन्तै गम्भीर रहेको बताइएको छ।
विष्फोटको वास्तविक कारण अझै स्पष्ट नभएको बताएका छन्। हाल घटनास्थललाई सुरक्षा घेराभित्र राखेर फोरेन्सिक टोलीले प्रमाण संकलन गरिरहेको छ। प्रहरीले यो घटना केवल एक दुर्घटना हो वा यसको पछाडि अन्य कुनै आपराधिक कारण छ भन्नेबारे गम्भीर छानबिन गरिरहेको छ। प्रभावित परिवारहरूका लागि प्रहरीले विशेष हेल्पलाइन सेवा समेत सुरु गरेको छ।
राजधानी बर्नबाट करिब दुई घण्टाको दूरीमा रहेको क्राँस मोन्टाना विशेषगरी बेलायती पर्यटकहरूका बीचमा निकै लोकप्रिय मानिन्छ। ८७ माइल लामो स्की मार्ग भएको यो सहर अत्यन्तै महँगो र विलासी पर्यटकीय गन्तव्य हो। जनवरीको अन्त्यतिर यहाँ प्रतिष्ठित ‘एफआईएस वर्ल्ड कप’ जस्तो ठूलो गति स्कीइङ प्रतियोगिता आयोजना हुने तयारी थियो। नयाँ वर्ष र खेलकुद प्रतियोगिताको पूर्वसन्ध्यामा भएको यस घटनाले स्थानीय र पर्यटक दुवैलाई स्तब्ध बनाएको छ।
