नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले टेस्ट राष्ट्रमाथि पहिलो ऐतिहासिक जित निकालेको छ । महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शनिबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा टेस्ट राष्ट्र जिम्बावेमाथि नेपालले ६ विकेटको ऐतिहासिक जित निकालेको हो ।
टस जितेर सुरुमा बलिङ गरेको नेपालले जिम्बाबेलाई १२९ रनमा रोेकेको थियो । १३० रनको लक्ष्य पछ्याएको नेपालका लागि उपकप्तान पूजा महतोले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाउनुभयो । ५० बलको सामना गर्नुभएकी पूजाले चार चौका र दुई छक्काको मद्दतमा ५२ रन जोड्नुभयो । यो जितसँगै विश्वकप ग्लोबल छनोटको सुपर सिक्समा पुग्ने नेपालको झिनो आशा बाँकी नै छ ।
घरेलु मैदानमा जारी टी–२० विश्वकप ग्लोबल छनोटमा यसअघिका दुई नेपालले गुमाइसकेको छ । पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले हारेको नेपाल दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित हुन पुगेको थियो।
