लेबनान र इजरायलबीच प्रत्यक्ष वार्ता आगामी हप्ता मंगलबार हुने

लेबनान र इजरायलबीच प्रत्यक्ष वार्ता आगामी मंगलबार अमेरिकाको राजधानी वाशिङ्टन, डी.सी. मा हुने भएको छ। लेबनानको राष्ट्रपतिको कार्यालयले यसको पुष्टि गर्दै बैठकमा युद्धविराम र शान्ति प्रक्रियाबारे छलफल हुने जनाएको छ।

मध्यपूर्वमा जारी तनावका बीच यो वार्तालाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने प्रयास गरिरहेका बेला लेबनान पनि उक्त द्वन्द्वको केन्द्रमा परेको छ। यसै सन्दर्भमा अमेरिका-इजरायल, इरान र पाकिस्तानबीच केही विषयमा मतभेद देखिएको छ।

इजरायल–अमेरिका संयुक्त रूपमा इरानमाथि आक्रमण गरेपछि, इरान समर्थित समूह हिजबुल्लाहले इजरायलमाथि रकेट प्रहार गरेको थियो। त्यसपछि इजरायलले हिजबुल्लाहविरुद्ध सैन्य कारबाही तीव्र बनाउँदै दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा प्रवेश गरेको थियो।

लेबनानका राष्ट्रपति जोसेफ औनले यसअघि नै इजरायलसँग प्रत्यक्ष वार्ता गर्न आफू तयार रहेको संकेत दिएका थिए। अब हुने यो बैठकले द्वन्द्व कम गर्ने र दीर्घकालीन शान्तिको मार्ग खोल्ने अपेक्षा गरिएको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोको कार्यालयले तीनपक्षीय वार्ताको तयारी गरिरहेको बताइएको छ। यस वार्तामा अमेरिका, लेबनान र इजरायलका उच्चस्तरीय प्रतिनिधिहरू सहभागी हुनेछन्।

Share
Scroll to Top