टोकियोमा नेपाली छात्रा पक्राउ, नवजात शिशुको शव लुकाएको आरोप

जापानको राजधानी टोकियोमा एक २३ वर्षीया नेपाली छात्रालाई नवजात शिशुको शव लुकाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार उनी टोकियोको आराकावा क्षेत्रमा रहेको एक जापानी भाषा विद्यालयको होस्टेलमा बस्दै आएकी थिइन्।
आरोपितले आफूले जन्म दिएको शिशुको मृत्यु भएपछि के गर्ने भन्ने थाहा नपाएर शव कोठामा लुकाएको स्वीकार गरेको बताइएको छ। मृत शिशु बालिका रहेको र शरीरमा कुनै बाहिरी चोटपटक नदेखिएको प्रहरीले जनाएको छ।

Kyodo Newsका अनुसार यो घटना अप्रिल ६ देखि ७ तारिखको बीचमा भएको अनुमान गरिएको छ। शिशुको शव तौलियामा बेरेर प्लास्टिकको झोलामा राखिएको अवस्थामा फेला परेको थियो।
कोठामा सँगै बस्ने अर्की महिलाले रक्ताम्मे अवस्थामा युवतीलाई देखेपछि घटनाबारे जानकारी लिएकी थिइन्। त्यसपछि उद्धारकर्मी र प्रहरीलाई खबर गरिएको थियो।

प्रहरीले अप्रिल १० तारिखमा उनलाई नियन्त्रणमा लिएको हो। शिशुको मृत्युको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान तथा स्वास्थ्य परीक्षण भइरहेको छ।

Share
Scroll to Top