नेपालमा पोर्चुगलको स्थायी दूतावास स्थापना गराउने उद्देश्यले रमेशराज बास्तोलाले हस्ताक्षर अभियान सञ्चालन गरिरहेका छन्। पर्वत, नेपाल घर भएका बास्तोला पर्यटन व्यवसायीका रूपमा परिचित छन्।
उनी पोर्चुगलका लागि पूर्वपर्यटनदूतका रूपमा कार्य गरिसकेका छन् भने नेपाल पत्रकार महासंघ युरोप शाखाका पूर्वअध्यक्ष पनि हुन्। साथै, उनी पोर्चुगलको सेगा पार्टीको लिस्बन केन्द्र अध्यक्षको भूमिकामा समेत रहिसकेका छन्।
अभियानमार्फत नेपालमा पोर्चुगलको दूतावास नहुँदा भिसा, कागजी प्रक्रिया तथा अन्य कूटनीतिक सेवामा नेपालीहरूले भोग्दै आएको समस्या समाधान गर्न पहल गरिएको बताइएको छ । हस्ताक्षर अभियानमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको व्यापक समर्थन जुटाउने लक्ष्य राखिएको छ।
पोर्चुगलको संसद्को आधिकारिक वेबसाइटमार्फत शुरू गरिएको यो अभियानलाई नेपाली समुदायको सामूहिक र रणनीतिक पहलका रूपमा हेरिएको छ। ‘यो कुनै एक व्यक्ति वा समूहको स्वार्थसँग सम्बन्धित नभई समग्र नेपाली समुदायको दीर्घकालीन हितसँग जोडिएको विषय हो,’ अभियानकर्ता बास्तोलाले भने।
उनका अनुसार पछिल्ला वर्षहरूमा पोर्चुगलमा नेपालीहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ। रोजगारी, अध्ययन, व्यवसाय तथा स्थायी बसोबासका लागि पोर्चुगल जाने नेपालीहरूको संख्या बढ्दो क्रममा रहेकाले कूटनीतिक सेवाको आवश्यकता झन् तीव्र रूपमा महसुस गरिएको अभियान पक्षको भनाइ छ।
हाल पोर्चुगलसँग सम्बन्धित अधिकांश कन्सुलर सेवाहरू भारतको नयाँ दिल्लीस्थित दूतावासमार्फत सञ्चालन हुँदै आएका छन्। यसका कारण नेपाली सेवाग्राहीहरूले भिसा प्रक्रिया, कागजात प्रमाणीकरण, पारिवारिक पुनर्मिलन लगायतका कामका लागि लामो समय कुर्नुपर्ने, अतिरिक्त खर्च बेहोर्नुपर्ने तथा कहिलेकाहीँ प्रक्रिया जटिल बन्ने समस्या भोग्दै आएका छन्। काठमाडौंमा रहेको पोर्चुगलको मानार्थ वाणिज्य दूतावासको क्षमता सीमित भएकाले पनि सेवामा सहजता आउन सकेको छैन।
अभियानअन्तर्गत प्रस्तुत गरिएको मागपत्रमा उल्लेख गरिएअनुसार, करिब ५० हजार नेपाली नागरिक हाल पोर्चुगलमा बसोबास तथा रोजगारीमा रहेको अनुमान गरिएको छ। यस बढ्दो जनसंख्यालाई मध्यनजर गर्दै नेपालमै स्थायी कूटनीतिक प्रतिनिधित्व स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
यस्तो प्रतिनिधित्व स्थापना भएमा भिसा जारी गर्ने प्रक्रिया, कागजात प्रमाणीकरण, पारिवारिक पुनर्मिलन जस्ता सेवा नेपालमै उपलब्ध हुने र सेवाग्राहीलाई भारतको नयाँ दिल्लीसम्म धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास गरिएको छ।
मागपत्रमा नयाँ दिल्लीस्थित कन्सुलर सेवाहरू अत्यन्त ढिलो हुने गरेको, समयमै कागजात प्रमाणीकरण हुन नसक्दा सेवाग्राहीहरूले समयसीमा नाघ्ने, पुनः प्रक्रिया शुरू गर्नुपर्ने तथा थप आर्थिक भार वहन गर्नुपर्नेजस्ता समस्याहरू पनि उल्लेख गरिएको छ। यसले विशेष गरी विद्यार्थी, कामदार, व्यवसायी तथा परिवार पुनर्मिलनका लागि प्रयासरत नेपालीहरूलाई प्रत्यक्ष असर पारिरहेको बताइएको छ।
बास्तोलाका अनुसार प्रारम्भिक चरणमा १,००० हस्ताक्षर पुर्याउने लक्ष्य राखिएको छ। सो संख्या पुगेपछि विषयलाई औपचारिक रूपमा संसद् स्तरमा छलफलमा लैजान सकिने सम्भावना रहने बताइएको छ। अन्तिम लक्ष्य भने ७,६०० हस्ताक्षर पुर्याउने रहेको छ।
साथै १,००० हस्ताक्षर पुगेपछि यो विषय कूटनीतिक तथा राजनीतिक बहसको दायरामा प्रवेश गर्नेछ। त्यसपछि व्यापक जनसमर्थनसहित प्रक्रिया अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ।
७,६०० हस्ताक्षर पुगेपछि भने नेपाल सरकार तथा सम्बन्धित कूटनीतिक निकायमाथि औपचारिक पहल गर्न दबाब बढ्ने र नेपाल–पोर्तुगल सम्बन्धलाई संस्थागत रूपमा अघि बढाउने वातावरण बन्ने अपेक्षा राखिएको छ।
