नेपाली राजदूतावास, पोर्तुगलको आयोजनामा सगरमाथा (माउन्ट एभरेस्ट) को ऐतिहासिक प्रथम सफल आरोहणको ७३औँ वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रम लिस्बनस्थित Escola Secundária Marquês de Pombal मा भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा पोर्तुगलका लागि नेपालका महामहिम राजदूत प्रकाश मणि पौडेल ज्यूले तेन्जिङ नोर्गे शेर्पा र सर एड्मन्ड हिलारीको ऐतिहासिक योगदानको स्मरण गर्दै मानव साहस, दृढता, धैर्यता र सहनशीलताको प्रशंसा गर्नुभयो। उहाँले हिमालयको संरक्षण तथा भावी पुस्ताका लागि हिमाली पर्यावरण जोगाउनुपर्ने आवश्यकतामाथि पनि विशेष जोड दिनुभयो।
विशेष अतिथि तथा विश्वप्रसिद्ध पोर्तुगीज पर्वतारोही ज्वाओ गार्सीया (João Garcia) ले सगरमाथासहित हिमालयका विभिन्न हिमालहरूको आरोहण अनुभव सुनाउँदै नेपालको आतिथ्यता, संस्कृति र नेपाली जनताको आत्मीयताको खुलेर प्रशंसा गर्नुभयो। विश्वका सबै १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालहरू अतिरिक्त अक्सिजनबिना आरोहण गर्ने दुर्लभ कीर्तिमान बनाएका गार्सीयाले पहिलो पटक नेपाल भ्रमण गर्दा पाएको आत्मीय स्वागत, हिमाली संस्कृतिप्रतिको आकर्षण तथा नेपालीहरूको मित्रवत व्यवहारको विशेष स्मरण गर्नुभयो। आफु ५२ पटक नेपाल गयको पनि वताऊनु भयो ।
सो अवसरमा महामहिम राजदूत प्रकाश मणि पौडेलज्यूले ज्वाओ गार्सीयालाई नेपाली परम्पराअनुसार खादा तथा नेपाली टोपी लगाई सम्मान गर्नुभयो। साथै सगरमाथाको तस्बिर अंकित विशेष स्मृति–चिन्ह प्रदान गर्दै नेपालप्रतिको उहाँको माया, सम्मान तथा पर्वतारोहण क्षेत्रमा पुर्याउनुभएको असाधारण योगदानको उच्च कदर गर्नुभयो।
कार्यक्रमका क्रममा नेपालको पर्वतारोहण इतिहास, प्राकृतिक सम्पदा तथा सांस्कृतिक धरोहरसम्बन्धी भिडियो प्रस्तुतीकरणमार्फत नेपालको पर्यटन प्रवर्द्धन गरिएको थियो। साथै पोर्तुगलमा रहेका नेपाली कलाकारहरूले प्रस्तुत गरेका नेपाली नृत्य तथा सांगीतिक कार्यक्रमहरूले समारोहलाई थप आकर्षक, रोचक र जीवन्त बनाएका थिए।
आफ्नो सम्बोधनका क्रममा महामहिम राजदूतज्यूले नेपाल संसारकै सर्वोच्च शिखर सगरमाथाको देश मात्र नभई प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक सम्पदाले भरिपूर्ण राष्ट्र भएको उल्लेख गर्दै जीवनमा कम्तीमा एक पटक नेपाल भ्रमण गर्न सबैलाई आग्रह गर्नुभयो। उहाँले नेपाल–पोर्तुगल सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रमहरूको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा पोर्तुगलको परराष्ट्र मन्त्रालय तथा अन्य सरकारी निकायका अधिकारीहरू, लिस्बनस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिज्ञहरू, पर्यटन तथा व्यावसायिक क्षेत्रका प्रतिनिधिहरू, पत्रकारहरू तथा नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको अन्त्यमा विदेशी पाहुनाहरूलाई नेपाली झोलामा विशेष उपहार प्रदान गरिएको थियो।
साथै उपस्थित सम्पूर्ण सहभागीहरूका लागि नेपाली रेस्टुरेन्ट दियालो द्वारा तयार गरिएका स्वादिष्ट नेपाली परिकार तथा चियापानको व्यवस्था गरिएको थियो। नेपाली स्वाद र आत्मीय आतिथ्यले कार्यक्रमलाई अझ स्मरणीय बनाएको सहभागीहरूले बताएका थिए।
कार्यक्रम सफल बनाउन नेपाली राजदूतावासका सम्पूर्ण कूटनीतिक अधिकारी तथा कर्मचारीहरू स्वयं विभिन्न जिम्मेवारीमा खटिनु भयको थियो उहाँहरूको समर्पण, मेहनत र सक्रिय सहभागिताका कारण कार्यक्रम अत्यन्त व्यवस्थित, सभ्य, भव्य तथा सफल रूपमा सम्पन्न भएको थियो।
सगरमाथा दिवसको अवसरमा आयोजित यस विशेष समारोहले नेपालको गौरव, नेपाली संस्कृति, पर्वतारोहणको समृद्ध इतिहास तथा नेपाल–पोर्तुगलबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूको धारणा रहेको छ।
स्रोत:य्रुरोप चौतारी .डट .कम
