पत्रकार रजकको निधनप्रति नेपाल पत्रकार महासंघ युरोप शाखाद्वारा कडा निन्दा

पत्रकार रजकको निधनप्रति नेपाल पत्रकार महासंघ युरोप शाखाले कडा निन्दा व्यक्त गरेको छ। अध्यक्ष केजीन राइद्वारा एक प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो।

हेरौ प्रेस विज्ञप्ति यस्तो छ:

राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै आज काठमाडौंमा भएको हिंसात्मक प्रदर्शनका क्रममा आगजनीका कारण एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको दुःखद निधन भएको घटनाले नेपाल पत्रकार महासंघ युरोप शाखाको गम्भीर ध्यानाकर्षण भएको छ।

प्रदर्शनकारीद्वारा सञ्चारकर्मीमाथि गरिएको आक्रमण, कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्ट कार्यालयमा तोडफोड, हिमालय टेलिभिजनको गाडीमा क्षति पुर्‍याउने कार्य तथा सार्वजनिक तथा निजी सम्पत्तिमाथिको आगजनी र लुटपाट जस्ता हिंसात्मक क्रियाकलापप्रति शाखा कडा भर्त्सना गर्दछ।

शान्तिपूर्ण आन्दोलन लोकतान्त्रिक अधिकार हो, तर पत्रकारको ज्यान लिने, सञ्चारमाध्यममाथि आक्रमण गर्ने तथा प्रेस स्वतन्त्रता दमन गर्ने कार्य पूर्ण रूपमा अस्वीकार्य, निन्दनीय र आपराधिक छ।

शाखा सरकारले प्रेस स्वतन्त्रताको रक्षा गर्दै सञ्चारगृह तथा सञ्चारकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न, घटनामा संलग्न दोषीलाई तत्काल कानुनी कारबाही गर्न र भविष्यमा यस्ता घटनाहरू नदोहोरिउन् भन्ने सुनिश्चित गर्न कठोर कदम चाल्न जोडदार माग गर्दछ।

केजिन राई
अध्यक्ष
नेपाल पत्रकार महासंघ, युरोप शाखा

Share
Scroll to Top